कोरोनाबाट मोक्ष हुँदा नेपाल र विश्व कस्तो होला ?

लोकपथ आर्थिक ब्युरो
वास्तबमा विश्वव्यापी मन्दी सुरू हुन कोरोना त एउटा निहुँजस्तो मात्र हो । अर्थविद्हरू भन्छन्, कोरोना नलागे पनि मन्दीको सुरुङमा विश्व पस्नै लागेको थियो । आम्दानीका लागि पनि विदेशतिरै (विप्रेषणमा) आश्रित नेपालका लागि कोरोनापछिको कालखण्ड निकै कठोर हुने लक्षण देखा परिसकेका छन् । वैदेशिक रोजगारीमा गएका कामदारहरू ह्वारह्वार्ति स्वदेश फर्किरहेका छन् । विदेशमा कार्यरत ४५ लाख नेपाली कामदार सबैजसो एकैचोटी स्वदेश फर्किने अवस्था आयो भने कोरोना महामारीभरि बसीबसी खाए पनि, त्यसपछिको कालखण्डमा के अवस्था आउला ? स्थितिमा सुधार देखापर्न कम्तिमा ३ वर्ष लाग्नेछ ।

सानो स्केलका र घिसिपिटी चलेका साना व्यवसायी फर्म वा संस्थाहरू त सदाका लागि बन्द नै हुन पुग्ने जोखिम निकै छ । मन्दी, बेरोजगारी, असुरक्षा, मानसिक पीडाको दुष्परिणाम समाजमा अपराध र असुरक्षाका अनेक रुप देखिने अवश्यम्भावी छ ।

नेपाल राष्ट्र बैंकले बुधबार (५ चैतमा) सार्वजनिक गरेको प्रतिवेदन, ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ले कोरोना महामारीको प्रभाव सुरु नहुँदै अर्थतन्त्रका थुप्रै सूचक नकारात्मक देखिएको, व्यापार तथा कर्जा प्रवाहमा संकुचन आएको, रेमिट्यान्स ०.५५ ले घटेको तथा मूल्यवृद्धि ९.७९ प्रतिशत रहेको देखाएको छ । माघसम्मको सूचकमा कोरोनाको प्रभाव खासै देखिँदैन । भारतमा मूल्य वृद्धि बढी हुनु र नेपालतर्फको माग पनि उच्च हुनुको कारण मूल्यवृद्धि बढी भएको हो । अर्थतन्त्रमा कोरोनाको प्रभाव फागुन र चैत महिनादेखिका सूचकले देखाउने छन् । रेमिट्यान्स आयमा गम्भीर ह«ास, मूल्यवृद्धि र आर्थिक वृद्धिमा कोरोना प्रभावको चाप बढी पर्ने बताउँछ राष्ट्र बैंकको उक्त प्रतिवेदन ।

माओवादीको दशवर्षे ‘जनयुद्ध’ को अवधिमा पनि सुनसान नभएको राजधानीको पर्यटककेन्द्र, ठमेल यतिबेला सुनसान छ । गाउँबाट राजधानी र सहरी ईलाकामा आएर बसोबास गरिरहेका धेरै मानिस गाउँतिरै फर्किरहेका छन्, र सहरहरू सुनसान हुँदैछन् । यतिबेला (मार्च महिनादेखि) नेपालमा विदेशी पर्यटकहरूको चलहपहल सुरु हुनुपर्ने हो । त्यसमा पनि हवाईमार्गबाट काठमाडौँ भित्रिने अधिकांश पर्यटकको पहिलो गन्तब्य केन्द्र ठमेल नै हुनेगथ्र्यो । शनिबार (८ चैत) देखि राजधानीको सबभन्दा ठूलो होटल हायात नै बन्द भयो । एयरलाईन्स् र स्थल यातायात सेवा पनि धमाधम बन्द हुँदैछ । कुनै त कोरोनाकै कारण सदाका लागि विसर्जन गरी हराउलान् ।

कोरोनाको विश्वब्यापी मारसँगै पृथ्वीको तापक्रम बढाउने र जलवायु उथलपुथल गराउने कार्बन उत्सर्जनमा ५० प्रतिशतले कम भई उल्लेखनीय सुधार देखिन्छ भनी बीबीसीले बतायो । तर यो सुधार अस्थायी हो । समस्याको समाधानका रुपमा भएको होइन, विश्वका अधिकांश मानिस सायद पहिलोपटक यसरी एकैचोटी बाहिर ननिस्केर घरै बस्नुपर्दा भएको संयोगको क्षणिक सुखद परिणाम हो ।

कोरोना भाइरस केही महिनापछि हटेर जाला तर यतिचाहिँ अहिले नै भन्न सकिन्छ, विश्वव्यापी महामन्दीको कठोर कालखण्ड अवश्यम्भावी छ । यो मन्दी सन् २००१ र २००८ को मन्दीभन्दा निकै भिन्न कठोर र विश्वब्यापी नै हुनेछ  । जर्मनीका चान्सलर एङ्गेला मर्केलले भनिसकिन्, “हामी दोस्रो विश्वयुद्धपछिको सबभन्दा जटिल संकटमा पुगेका छौँ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भने, “म युद्धको राष्ट्रपति हुँ ।”

उत्पादन र उत्पादकत्व नबढ्ने तर माग र राज्यको दायित्व बढ्ने भएपछि यसै पनि मन्दीमा हुने मुद्रास्फीति र महँगीलाई रोक्ने कुनै उपाय देखिँदैन । कोरोना भाइरसको पहिचान र समस्या समाधानका लागि सघाउन हालैमात्र विश्व बैंक र अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ले १४ अर्ब अमेरिकी डलर थप सहायता घोषणा गरेका छन् । एसियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसका कारण प्रभावित विकासोन्मुख सदस्य राष्ट्रहरूलाई साढे ६ अर्ब अमेरिकी डलर सहायता प्याकेज घोषणा गरेको छ । अमेरिकाका कतिपय राज्यहरूले आफ्ना करदाता नागरिकहरूलाई जनही एक हजार डलर अनुदान दिन थालिसके । बेल्जियममा यस्तो आकर्षक कल्याणकारी अनुदान यसअघि नै सुरू भईसकेको छ । यस्ता आपतकालीन घोषणाहरू राहतकारी र कल्याणकारी भए पनि उत्पादनशील होइनन् ।

कोरोनाले सिर्जना गर्नथालेको आसन्न मन्दीमा आपूर्तिका साथै मागसमेत घट्दै गएर झड्का (सक) दिँदै छ । संक्रमणको त्रासले एयरलाइन्स र विश्वभरकै पर्यटन उद्योगको मागमा प्रहार गर्दै छ । खेलकूद अर्थतन्त्र, सिनेमा, थिएटर लगायतका धेरै मानिस जम्मा भएर गरिने आर्थिक गतिविधिहरू पूरै ठप्प भएका छन् । करोडौँ मानिस काम गर्न जान नसक्ने अवस्थामा पुग्लान्, त्यसपछि विश्वव्यापी मूल्य शृंखला तहसनहस हुन पुग्नेछ । सीमाहरू धमाधम बन्द हुँदैछन्, विश्व व्यापार संकुचित हुँदैछ । कतिपय मुलुकले सन् १९७० को दशकयता नभोगेको स्फीति भोग्ने भविष्यवाणी सहजै गर्न सकिन्छ ।

नेपालतिरै आऔँ । कोरोना महामारीले उद्योग व्यवसायलाई असर गर्न थालेपछि कर्जा प्रवाहमा संकुचन आएको छ । गत वर्षको तुलनामा कुल आन्तरिक कर्जा प्रवाहको वृद्धिदर ७.४ प्रतिशत ह«ासोन्मुख छ । गतवर्ष यस्तो कर्जा १०.३ प्रतिशतले बढेको थियो । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जाको वृद्धिदरसमेत ५.१ प्रतिशतले घटेको छ । माघ महिनासम्ममा निजी क्षेत्रतर्फको कर्जा ८.९ प्रतिशतले बढेको छ । गत वर्षको यही अवधिमा यस्तो कर्जा प्रवाह १४ प्रतिशतले बढेको थियो भन्छ राष्ट्रबैंकको उक्त प्रतिवेदन । कर्जा मात्रै मोइन निक्षेप संकलनको वृद्धिदर पनि खुम्चिएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.७ प्रतिशतले बढेको थियो ।

कोरोना भाइरससँग लड्न पर्याप्त स्रोतसाधन तथा प्रविधि भएका मुलुकलाई समेत निकै ठूलो आर्थिक क्षति गर्न सक्छ भने उनीहरूको अर्थतन्त्र र सहयोगमा आश्रित नेपालजस्ता गरिब अर्थतन्त्रको अवस्था के होला भन्ने प्रश्न स्वतः उत्पन्न हुन्छ  । विश्वव्यापी मन्दीको खतरा नाटकीय रूपले बढेको छ । लगानीकर्ता एवं अन्तरराष्ट्रिय संस्थाहरूले गरेको पूर्वानुमानको तुलनामा परिणाम र प्रभाव निकै बढी देखिएको छ । ब्याजदर कटौती र वित्तीय प्रोत्साहनका अतिरिक्त विश्वव्यापी आपूर्ति शृंखलाहरूमा परेको निकै ठूलो आघातलाई पनि सम्बोधन गर्नु जरुरी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?