काठमाडौँ। मागभन्दा बढी एलपी ग्यास ढुवानी गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ ।
ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
सङ्घका अनुसार एलपी ग्यास मागभन्दा बढी आयात भएको छ तर पसलमा ग्यास नपाउने समस्या समाधान नभएपछि दैनिक तथ्याङ्क माग गरिएको हो । उपभोक्ताले अनावश्यक रूपमा अत्यधिक ग्यास मौज्दात राखेको र एउटैले ५०औँ सिलिन्डर रिजर्भ गरेकाले सर्वसाधारणले ग्यास नपाएको सङ्घको बुझाइ छ । अनावश्यक भण्डारण रोक्न उपभोक्ताको विवरण राख्न लागिएको अध्यक्ष भण्डारीको भनाइ छ ।
भारतबाट जति ग्यास आयात गरिए पनि बजारमा अभावै देखिएकाले अब कसले कति ग्यास लगेको छ त्यसको तथ्याङ्क राखिने भएको हो । अध्यक्ष भण्डारीले भने, विवरण सङ्कलनले ग्राहकको पहिचान हुने छ, जसले गर्दा दैनिक रूपमा दोहो¥याएर ग्यास लैजान पाउने छैन, अनावश्यक भण्डारण हुन पाउने छैन, बजारमा अभाव हुने छैन, सबैले ग्यास पाउने छन् ।
सङ्घका अनुसार बिक्रेताले बिक्री गरेको ग्यासको सङ्ख्या, मौज्दात सङ्ख्या, उपभोक्ताको नाम ठेगाना, सम्पर्क नम्बर र उनीहरूले कतिपटक ग्यास खरिद गरे भन्नेसम्मको विवरण सम्बन्धित उद्योगलाई दैनिक रूपमा लिखित जानकारी गराउनुपर्ने छ । जसले गर्दा आपूर्तिलाई सहज बनाउने भण्डारीको दाबी छ ।
सङ्घका अनुसार गएको २० दिनमा ३२ हजार मेट्रिक टन ग्यास बजारमा पठाइएको छ । जब कि नेपालमा मासिक ४० हजार मेट्रिक टन ग्यास खपत हुन्छ । सामान्य अवस्थामा दैनिक १३ सय मेट्रिक टन खपत हुन्छ भने अहिले दैनिक १६ सय मेट्रिक टन खपत भइरहेको छ । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया