शारीरिक अशक्ततालाई चिर्दै सफल भएका ‘हिरो’हरुको कथा

काठमाडौं । ह्यासट्याग स्माइल मार्फत् हामीले प्रेरणादायी व्यक्तित्वहरुका जीवनकथा भिडियो मार्फत् प्रस्तुत गर्दै आएका छौं । यस दौरान हामीले कहिले साहसको कथा समेट्यौं त कहिले संघर्षको, कहिले आशाको कथा पस्कियौं त कहिले आत्मविश्वासको । जे होस् सबै कथाका पात्रहरुले हामीलाई यो पाठ चाहिँ जरुर सिकाए कि मानिस जस्तोसुकै अवस्थामा पनि हार नमानी बाँच्न सक्दो रहेछ, चुनौतीलाई पार गर्दै ऊ हाँस्न सक्दो रहेछ ।

शरीरिक रुपमा अशक्त व्यक्ति यसका सबैभन्दा उत्तम उदाहरण हुन् । हामीले धेरैजना शारीरिक रुपमा अशक्त व्यक्तिहरुको जीवनकथालाई भिडियोस्टोरीमा उतारेका छौं । जसमध्ये यस अंकमा हामीले केही कथालाई एउटै भिडियोमा समेटेका छौं । पढ्न र हेर्न नछुटाउनुहोला ।

क्षेत्रबहादुर भण्डारी

हरेक दिन वीर अस्पताल, रत्नपार्क क्षेत्रमा क्षेत्रबहादुर भण्डारी आफ्नै धुनमा गीत गुनगुनाउँदै ह्वील चेयरमा पत्रिका, पानी बेच्दै हिँडिरहेका हुन्छन् ।

राजधानीका सडक र चोकहरुमा शारीरिक अशक्तताको आडमा माग्न बस्ने व्यक्तिहरु भन्दा अलग क्षेत्रबहादुर कसैको अगाडि हात थापेर माग्दैनन् । उनलाई पाल्छु भन्ने केही आफन्त पनि छन् तर, उनी आफ्नै कमाइमा बाँच्न चाहन्छन् । कसैका निमित्त बोझ बन्ने उनको ध्येय छैन । र, अशक्ततालाई कमाइ खाने भाँडो बनाउन उनलाई रहर छैन । बरु आफ्नो क्षमताले भ्याएसम्म इलम गर्छन् अनि आफ्नै मिहिनेतको कमाइ खान्छन् । भन्छन्, कमाएर होइन तर, रमाएरै बाँचेको छु ।

उनको दिन बिहान ४ बजेदेखि शुरु हुन्छ । टेकुबाट पत्रिका बेच्दै उनी वीर अस्पतालको एरियासम्म पुग्छन् । ट्रमा सेन्टरमा पानी राखिदिएर रत्नपार्क हुँदै शहीद गेट अगाडि रोकिन्छन् अनि दिनभरि त्यहीँ पत्रपत्रिका , पानी, सामान्य खुद्रा सामाग्री बेच्दै बस्छन् ।

मधुमेहका कारण आफ्नो दुवै खुट्टा गुमाएका क्षेत्रबहादुरसँग बस्नलाई भरपर्दो कोठासम्म छैन । टेकुस्थित अम्बे कम्प्लेक्सको कम्पाउन्डमा उनले आफ्नो ओढ्ने, ओछ्याउने राखेका छन् । काम गरेर फर्किएपछि त्यहीँ सुत्छन् ।

क्षेत्रबहादुर हुनेखाने परिवारकै हुन् । अहिले पनि काभ्रेमा उनको ९० रोपनी भन्दा बढी पुख्र्यौली जग्गाजमिन छ । उनी आफै पनि प्रहरीका पूर्व हवल्दार हुन् । तर, भाग्यले उनीबाट यी सबै कुरा खोसिदियो जसरी उनीबाट कलिलै उमेरमा उनकी श्रीमती खोस्यो । त्यो जग्गाजमिन कुन अवस्थामा छ, कसले भोगचलान गरिरहेको छ उनलाई थाहा छैन, दुर्भाग्वश प्रहरीको जागिर पनि खोसियो ।

श्रीमतीको मृत्युपछि उनले आफ्ना छोराहरुलाई एक्लैले हुर्काए, बढाए, पढाए । स्वस्थ्य हुन्जेल उनी छोराबुहारीसँगै बसेका पनि हुन् । यद्यपी, मधुमेहका कारण दुवै खुट्टा काटेपछि बुहारीले भनिन्, ‘अब तपाइ आफ्नो लागि आफै व्यवस्था मिलाउनु, हाम्रो घर खाली गर्दिनु ।’ बुहारीको यस्तो कठोर आदेशमा छोरालेपनि मौन स्वीकृति जनाए । त्यस दिनदेखि क्षेत्रबहादुर छुट्टै बस्छन् ।

उनले यस्ता धेरै आरोह अवरोहहरु देखिसके, भोगिसके । त्यसैले भन्छन्, ‘जति दुख पाउनु थियो पाएँ । न खानको टुङ्गो छ न त बस्नको । तर, म खुसी छु कसैको सहारामा बाँच्नु परेको छैन ।’

यस्ता स्वाभिमानी र परिश्रमी क्षेत्रबहादुरको खुसी ‘ह्यासट्याग स्माइल’को तेस्रो भागमा प्रस्तुत गरिएको छ ।

सृष्टि केसी

डाक्टरको लापरवाहीले गर्दा किशोरावस्थामै आँखाको ज्योति गुमाइन् सृष्टि केसीले । तर, उनले आफूलाई त्यस अँध्यारोबाट निकालेर शिक्षा र चेतनाको उज्यालोतर्फ डो-याइन् ।

स्नातक तहको पढाइ अब्बल अङ्क ल्याएर उत्तीर्ण गर्नु, दृष्टिविहीनका निमित्त आफ्नै संस्था स्थापना गर्नु, मोटिभेस्नल स्पीकरका रुपमा देशविदेश घुम्नु, छात्रवृत्तिमा स्नातकोत्तर पूरा गर्नु जे होस् त्यसपछिका दिनहरुमा उनका उपलब्धि बोल्न थाले ।

परिणामस्वरुप युट्युबमा उनका भिडियोहरु लाखौँपटक हेरिएको छ । हजारौँ पटक सेयर भएको छ । उनका अन्तर्वार्ताहरु निकै चाख मानेर हेरिन्छन् । ब्लाइन्ड रक्स नामक संस्थामार्फत् उनले दृष्टिविहीनलाई नयाँ जीवन दिने प्रयास गरिरहेकी छिन् । उनै सृष्टिको कथा समेटिएको छ यस अंकमा ।

सृष्टिको जीवनले कसरी ‘यू टर्न’ लियो ? जान्नलाई हेर्नुहोस् ह्यासट्याग स्माइल ।

हरिबुढा मगर

मर्ने र मार्ने संकल्प लिएर युद्धभूमिमा उत्रिने कतिपय वीर सेनाहरु कहिल्यै फर्किदैनन् भने केही फर्किनेहरु पनि आधा शरीर बोकेर फर्किन्छन् र जीवनभर युद्धको छाप लिएर बाँच्छन् । त्यस्तै एउटा अमिट छाप लिएर बाँचिरहेका छन् हरिबुढा मगर ।

युद्धले उनको दुवै खुट्टा लगिदियो । घटनापछि हरिसँग सास त रह्यो तर, त्यसलाई डो¥याउने खुट्टा रहेनन् । त्यस दिनदेखि उनले आफ्नो आत्मबल र इच्छाशक्तिले नै आफूलाई डो-याइरहेका छन्, संसारका कुनाकुनामा र त्यहाँ भेटिने मानिसहरुको मनमनमा ।

हरि बुढा मगरको साहसको कथा समेटेका छौं ह्यासट्याग स्माइलको यस अंकमा ।

ङवाङ छिरिङ शेर्पा

सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकास्थित सगरमाथाको काखमा जन्मे हुर्केका ङवाङ छिरिङ शेर्पा कुनै वेला ट्रेकिङ गाइडको काम गर्थे ।
पर्यटकलाई नेपालको पाखापखेरामा डो-याउने ङवाङलाई अहिले ह्वीलचेयरले डो-याइरहेको छ । तर, आत्मविश्वासको डोरी समाइ उनले जीवनलाई पछ्याइरहेका छन् ।

थाङ्का चित्रकला सिकेर अहिले उनले आफूजस्तै ह्वीलचेयरमा बस्नेहरुलाई चित्रकला प्रशिक्षण दिइरहेका छन् । ह्वीलचेयरमा बस्नेहरुलाई चित्रकला सिकाउने उनै गुरुको कथा आजको ह्यासट्याग स्माइलमा पस्केका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?