अप्ठेरो बेला आपूर्ति चेन बिग्रन नदिने संघको यस्तो प्रतिबद्धता

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले अप्ठेरो बेला सरकारलाई सहयोग गर्ने तथा आपूर्ति चेन बिग्रन नदिने प्रतिबद्धता जनाएको छ । संघको एक प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई भेटेर कोभिड–१९ ले सिर्जना गरेको अहिलेको अप्ठेरो अवस्थामा आपूर्ति चेन खल्बलिन नदिन तथा कालोबजारी र कृत्रिम अभाव रोक्न सरकारलाई सघाउने प्रतिबद्धता जनाएको हो ।

नोवेल कोरोना भाइरस रोगको विश्वव्यापी संक्रमणको कारण आपूर्ति चेन बिग्रन सक्ने सम्भावनालाई मध्यनजर गरी संघले आफ्ना सम्पूर्ण सदस्यलाई सजग रहन तथा मर्यादित कारोबार गर्न निर्देशन दिएको महानिर्देशक सुवेदीलाई जानकारी गराएको छ । कालोबजारी र कृत्रिम अभाव रोक्ने सन्दर्भमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि संघले जनाएको छ ।

संघका अध्यक्ष सुनिलकुमार वंशलले नेतृत्व गरेको प्रतिनिधिमण्डलले बजार अनुगमनलाई चाडपर्व र अप्ठेरो परेको बेलामात्र सीमित नराखी नियमित बनाउन विभागलाई आग्रह समेत गरेको छ ।

वाणिज्य विभाग व्यापारीको अभिभावक बन्नुपर्नेमा जोड दिँदै प्रतिनिधिमण्डलका सहभागीले पुनः निकासी, भारतबाट प्राप्त पाम आयल निकासीको कोटा सीमित व्यवसायीको हातमा पुगेको, कालोबजारी र एजेन्सी ऐन धेरै पुरानो भएका कारण सिर्जित समस्यामा चासो व्यक्त गरेका थिए । त्यसैगरी हार्मोनाइज्ड सिस्टम कोडका कारण साफ्टा सुविधा लिनमा भएको कठिनाइका विषयमा पनि व्यवसायीले विभागको ध्यानाकर्षण गराए ।

विभागका महानिर्देशक सुवेदीले संघले उठाएको वास्तविक चासोका विषयलाई सम्बोधन गर्ने प्रयत्न विभागले गर्ने आश्वासन दिए । नीतिगत सुधार गर्नुपर्ने विषयमा गहन अध्ययन गरी समयसापेक्ष र वैज्ञानिक सुझाव पेस गर्न पनि उनले व्यवसायीलाई सुझाए । महानिर्देशक सुवेदीले आयात–निर्यात क्षेत्रमा गर्नुपर्ने सुधारबारे सबै व्यवसायी तथा विभाग लगायत सरोकारवाला निकायका अधिकारीलाई सहभागी गराएर बहृत् अन्तक्र्रिया कार्यक्रम राख्नुपर्ने आवश्यकता पनि औंल्याए ।

प्रतिनिधिमण्डलका संघका उपाध्यक्ष विनोद सेठिया, महासचिव मदन मित्तल, सचिव अनिलकुमार अग्रवाल, कोषाध्यक्ष कुमार कार्की र सदस्यहरु गौरव शारडा, आकाश गोल्छा, रामचन्द्र खेतान, विष्णुकुमार जोशी, प्रभात सर्राफ र रमेशकुमार थापा सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?