काठमाडौं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण खाद्य संकट नहुने भन्दै अत्यावश्यकीय वस्तुहरुको लागि नआत्तिन अनुरोध गरेका छन् ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने – ‘कोरोनाका कारण अत्यावश्यकीय वस्तुहरुको अभाव हुन्छ भनेर नआत्तिनुस, ४ देखि ६ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात छ ।’ साल्ट ट्रेडिङसँग अहिले ३ महिनालाई पुग्ने चिनी र १० महिनालाई पुग्ने नुन मौज्दात छ । व्यवसायीहरूसँग समेत चिनी र नुन मौज्दात छ । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक–दुई दिनमै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सहुलियत पसल खोल्छ ।’
खाना पकाउने ग्यास अभाव हुँदैन । विकल्पमा बिजुलीको प्रयोग गर्नुहोस् ।
पेट्रोलियम पदार्थको विक्रीवितरण नियमित छ । आत्तिनुभएन ।
मन्त्री भट्टले बजारमा ८ महिना पुग्ने औषधि छ । ‘माक्स र स्यानिटाइजर’को आपूर्ति कम र माग बढी हुँदा केहि अभाव सिर्जना भएको हो ।
छिमेकी मुलुक चीनको वुहान सहरबाट अंग्रेजी वर्षको डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण विश्व त्रसित बनेको छ ।
विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । आक्रमक रुपमा फैलिएको यो भाइरसको विरुद्धको औषधी खोजी गरिरहेको भएतापनि सफलता हासील गर्न सकेको छैन । हालसम्म नेपालमा यो संक्रमण आइसकेको छैन । तर हिजोबाट सरकारले करिब सबै सार्वजनिक स्थल ‘लकडाउन’ गर्न निर्देशन दिएको छ ।
यसैबीच सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री यूवराज खतिवडाले आपूर्ति व्यवस्थापन, तथा व्यवसायीलाई परेको अप्ठेरो हेरेर अर्थमन्त्रालयले काम गर्ने बताएका छन् । सञ्चार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले यो भाइरसका कारण परेको अप्ठेरो समाधानका लागिहोटल व्यवसायीलाई ऋण तथा अन्य वित्तिय समस्या समाधान गर्न सरकारले गृहकार्य गरिरहेको बताए ।
सरकारले कोरोना भाइरस रोकथामका लागि १ महिनादेखि पूर्वतयारी गरेकोले हवाई तथा स्थल मार्गमा सावधानी अपनाइएको बताए । उनले भने, ‘१ सय ४१ सिमा स्थलमार्गमा सवाधानी अपनाइएको छ। यसका साथै आइसियु बेड, स्वास्थ्यकर्मीलाई चाहिने उपकरण, औषधी, क्वारेन्टाइन, आइसोलेशन वार्डको व्यवस्था गरिएको छ । कोरोना रोकथामका लागि निजी स्वास्थ्य संस्था, सुरक्षाकर्मीलाई आग्रह गरिएको छ ।’
हिजोमात्रै सरकारले आजबाट हुने भनिएको एसईई परिक्षा सारेको सन्र्दभमा उनले भने विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाली क्षेत्रमा संक्रमण फैलिने चेतावनी दिएको र अभिभावकहरुले पनि परीक्षा सार्न गरेको आग्रह पछि पठनपाठन र परीक्षा सारिएको हो ।
नागरिक सुरक्षाका लागि वैदेशिक रोजगारी तत्काल रोकिएको बताउँदै उनले भने विदेशबाट नेपाल फर्किनेलाई पनि रोकिएको छ ।
छिमेकी देशले उपकरण तथा प्राविधिक सहयोग गर्ने बताएको उल्लेख गर्दै उनले कालोबजारी गर्नेलाई समातिरहेको बताए । अहिले बजारमा मास्क सेनीटाईजर ग्यास अभाव सिर्जना गरिएको छ ।
कोरोनाबाट सबैभन्दा छिटो पर्यटन व्यवसाय , हवाई क्षेत्र, होटल, ह्यान्डीक्राफ्ट व्यवसाय प्रभावित भएको र छिट्टै आफ्नै लयमा फर्कने उनको भनाई छ । नेपालको कुल गाहस्र्थ उत्पादनमा पर्यटनको ३ प्रतिशत योगदान रहेकोले फ्रेबूअरी र मार्चमा भएको पर्यटनको क्षतिलाई अफसिजनमा छिमेकी देशबाट पर्यटक ल्याएर पूर्ति गर्न सकिने उनको भनाई छ ।
विदेश जान रोकिएकालाइै प्रधानमन्त्री रोजगारी कार्यक्रममा सुचिकृत हुन उनले आग्रह गरे । उनले थपे, सानो ठूलो वा टेबुल वर्क गर्छु भनेर मात्रै भएन ।
रेमिट्यान्स कम भएपनि अहिलेको स्थितिमा समस्या नपर्ने उनी बताउँछन् । आर्थिक क्षेत्रमा प्रतिकूल अवस्था परिसकेको छैन ।
रसुवागढी नाकामा १४ दिनभन्दा बढी समय होल्डमा बसेका कन्टेनर छुटाउनेबारे छलफल भइरहेको छ ।
केही विकासका आयोजनामा चिनियाँ कामदार स्वदेशमा रोकिएका कारण केही समयपछि फर्कने र आयोजनाको काम अघि बढ्ने उनको विश्वास छ ।
यसैबीच देशभरका मन्दिरहरुमा मानिसको चहलपहल नघटेको भन्दै समाचारहरु बाहिरीएपछि धेरै मठ मन्दिर शिवालय बन्द भएको छ । उता मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
गोरखाको मनकामना मन्दिर शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । तर काठमाडौंको पशुपतिनाथ मन्दिरमा अझै पनि भक्रजनको भिड देख्न सकिन्छ । यहाँ भारतिय भक्तजनलाई समेत कुनै रोकतोक छैन ।
उता चितवनमा पनि हाटबजारहरु, सिनेमा हललगायत अन्य जमघटस्थलहरु पनि अर्को सूचना जारी नभएसम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ९ हजार २ सय ८३ जनाको मृत्यु भइसकेको छ । प्राप्त जानकारी अनुसार २ लाख २६ हजार ३ सय १७ जनामा संक्रमण देखिएको हो । ८५ हजार ७ सय ६९ जनामा संक्रमण भएर उपचारपछि निको भएर घर फर्किएका छन् । यो भाइरस १ सय ७६ देशमा फैलिएको छ । बुधबार मात्रै थप १० देशमा यो संक्रमण फैलिएको हो ।
उद्गमस्थल चीनमा नियन्त्रणउन्मुख भइरहेको भाइरस ‘कोभिड १९’ अहिले विश्वमै महामारी बनेको छ ।
महामारी घोषणा भएपछि विश्व दुनियाँ झनै डराएको छ । तर डराउनु भन्दापनि यस रोगसँग लड्न सचेतना र साबधानी अपनाउनुपर्छ ।
हालसम्म यो भाइरसका कारण सबैभन्दा बढी चीनका नागरिकले ज्यान गुमाएका छन् । चीनपछि इटली, इरान र स्पेनमा धेरैको मृत्यु भएको छ । यसैबीच विश्वका सबैजसो देशहरुले हवाई सेवा उद्द, सिमामा सिल गर्ने, आवतजावत बन्द गर्ने जस्ता उपायहरु अपनाइरहेको छ । विदेशमा अध्ययन वा कामको शिलशिलामा पुगेका केहि नेपालीमा पनि यसको संक्रमण भएको समाचार आएको थियो । कोरोना भाइरसको जोखिम विश्वव्यापी रुपमा बढेको छ । चीनले एक साताअघि नै यो नियन्त्रणउन्मुख भएको बताएतापनि ईटलीको मृत्युदर हेर्ने हो भने यो महामारीले कहिलेसम्म सताउने हो भन्ने अनुमान गर्न मुस्किल छ ।
यसैबीच विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै देशहरुले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै हालसम्म सुरक्षित रहेको र अब कोरोना भित्रन नदिन भन्दै नेपालसरकारले कोरानाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’
उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पारेखलले आवश्यक पर्दा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताए ।
हिजोको बैठकले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । अत्यावश्यक काम बाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्र, स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।
बैठकले आजबाट हुने तालिका रहेको एसईई पनि स्थगित गरेको छ भने चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।
निकै ढिलो गरी साबधानी अपनाएको आलोचना खेपेको नेपाल सरकारले अहिले निकै होसियारी अपनाउदै रणनीतिक ढंगले देश र नागरिकलाई कोरोनामुक्त बनाउन लागेको देखिन्छ ।
यस भाइरसको प्रकृति निकै संक्रामक भएका कारण हाच्छ्यु गर्दा, खोक्दा पनि सजिलै सर्छ । निकै सावधानी अपनाएर नागरिकको स्वास्थ्यउपचारमा खटिएका चिकित्सकलाई पनि संक्रमण भएको हुँदा निकै सावधानी अपनाउन जरुरी छ ।
सरकारले नागरिकलाई कामका बेला बाहेक भिडभाडमा नजान, घुमफिरको लागि यात्रा तय नगर्न तथा उपभोग्य वस्तुको खपत सन्तुलित गर्न भनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया