यी पौरखी युवा जसले विदेशको मोह त्यागेर आफ्नै देशमा अवसर फूलाए

यो धर्तीमा जब युवकले जीत केही ल्याउँदैनन्
यो बाटोमा जब युवतीले गीत केही गाउँदैनन्
डाकी कोइली अनि वनवनै बोल्न छाड्ला बसन्त
निभ्लान् तारा, ग्रहहरु त्यहीँ सृष्टिको हुन्छ अन्त ।

कवि शिरोमणी लेखनाथ पौड्यालले युवाको चर्चा गर्दै कोरेको कविताको यो श्लोकले युवासँग एउटा राष्ट्रको अस्तित्व कसरी जोडिएको हुन्छ भनेर प्रष्ट्याउँछ ।

हुन पनि युवा राष्ट्रका आत्मा हुन् । देशका शक्ति हुन् । युवाले चाहेमा ठूल्ठूला काम पनि सहजै पूरा हुन्छन् । युवाले चाहेमा देशमा क्रान्ति र शान्ति दुवै सम्भव छ ।
समृद्ध मुलुकको समृद्धिका मूल तत्व हुन् युवा । तर, तिनै युवाले देशमा फक्रिने उर्वर जमिन पाएनन् भने के अस्तित्व रहला यो माटोको ? नेपालका युवाहरुको नियति त्यस्तै छ । अवसरको खोजीमा हरेक दिन युवा विदेश पलायन भइरहेका छन् ।

यद्यपि, तिनै युवामध्ये यस्ता केही युवा छन् जसले आफ्नै मातृभूमिमा अवसर फूलाएका छन् । जो विदेशको डलर त्यागेर आफ्नै देशमा आम्दानीको बाटो बनाइरहेका छन् ।

त्यस्तै केही युवाहरुको कथा समेट्दै हामीले ह्यासट्याग स्माइलका केही अंकहरु तयार पारेका छौं । नछुटाइ पढ्नुहोला र हेर्नुहोला ।

कृष्णराज तिमल्सिना

रामेछापको एउटा सानो गाउँको सामान्य परिवारमा जन्मिएका कृष्णराजका सपनाहरु पनि सामान्य थिए । सानो छँदा उनका गोडा राम्रा चप्पल लगाउन चाहन्थे ।

उमेर सँगै सपना पनि हुर्कियो । कृष्णराजलाई शहरमै घर होस् भन्ने लाग्नथाल्यो । त्यही सपना साकार गर्न शहर पसेका उनी केही वर्ष विदेश पनि बसे । देशमा आफ्नै व्यवसाय शुरु गर्नलाई पैसा जो कमाउनु थियो । हातमा केही रकम र मनभरि व्यवसायी बन्ने हौसला बोकेर स्वदेश फर्किए कृष्णराज ।

सानो कपडा पसलबाट शुरु भएको उनको उद्यमशीलताको यात्रा अहिले एउटा गार्मेन्ट कम्पनीमा परिणत भएको छ ।

नेपालीकै हातबाट नेपालीले लाउने कपडा नेपालमै उत्पादन गर्ने उद्देश्यले ३२ वर्षीया कृष्णराज तिमिल्सिनाले ‘थ्रेड गार्मेन्ट’ स्थापना गरेका छन् । बजारमा प्रचलित लिमिटेड एडिसन, थ्रेड, केटि जिन्स, सिएम, अर्बन आउटफिटर, लेजेन्ड जेन्टलम्यान जस्ता ब्राण्डका कपडा यही कम्पनीमा उत्पादन हुन्छन् ।

साढे ५ रोपनी जमिनमा फैलिएको यस गार्मेन्ट कम्पनीमा पस्नासाथ छुट्टै वातावरणमा पुगेको अनुभव हुन्छ । लस्करै कपडा सिउने मेसिन राखिएको छ । ३ सय भन्दा बढी कामदार धमाधम काम गरिरहेका हुन्छन् ।

तर, कृष्णराज अझै थाकेका छैनन् । उनलाई यतिले अझै पुगेकै छैन । हो, अहिले कृष्णसँग लगाउनलाई राम्रा चप्पल, जुत्ता छन्, काठमाडौंमै घर पनि बनाइसकेका छन् उनले । यसो हेर्दा उनले देखेका सपनाहरु लगभग पूरा भएजस्तो लाग्छ ।

यद्यपि, उनलाई अबका दिनमा कपडा उत्पादन मात्र होइन ती कपडा बनाउने कच्चा पदार्थ पनि देशमै उपलब्ध होस् भन्ने चाहना छ । नेपाललाई कपडामा ‘आत्मनिर्भर’ बनाउने अभियानमा लागिपरेका छन् कृष्णराज ।

अफरिङ ह्यापिनेस

४ जना युवाहरुको एक समूहले आफ्नै देशमा उद्यम गर्ने योजनाले स्थापना गरेका हुन् ‘अफरिङ ह्यापिनेस’ । यसको अर्थ हो ‘खुसी बाँड्दै’ । कुनै विशेष अवसरमा वा आफ्नो परिवार, साथीभाइ, प्रेमीप्रेमिका, श्रीमानश्रीमती लगायत विशेष मान्छेलाई माया दर्साउन सरप्राइज उपहार दिनुप¥यो वा त्यस्तो ‘मुमेन्ट’ सिर्जना गरिदिनुप-यो भने ‘अफरिङ ह्यापिनेस’को सहायता लिँदा हुन्छ ।

उपहार मात्र नभएर आजकल उनीहरु अनुभुति पनि बाँड्छन् । कुनै ‘थिम’मा रहेर होस् या आफ्ना उपभोक्ताको चाहनालाई बुझेर होस् ‘अफरिङ ह्यापिनेस’ले कैयौंलाई सरप्राइज दिइसकेको छ । दुई मनलाई जोड्ने तार बनिदिएको छ ।

बर्थ डे होस् या एनिभर्सरी, आमालाई माया व्यक्त गर्न होस् या रिसाएकी मायालुलाई फकाउन अफरिङ ह्यापिनेससँग टन्नै तरिकाहरु छन् । यहाँ बट्टामा माया बाँडिन्छ । मुस्कानका साना साना टुक्रालाई सँगालेर फ्रेमिङ गरिन्छ । सात समुद्र पार भएका मनहरुलाई एउटै धागोले बाँधिन्छ । यहाँ खुसी फूलाइन्छ ।

केही थान ‘क्रिएटिभ माइन्ड’ ले आफ्नै देशमा नौलो प्रयोग गरेर प्रमाणित गरेका छन् कि सफल व्यक्तिले भिन्न काम गर्दैनन् बरु एउटै कामलाई भिन्न तरिकाले गर्छन् ।

अमर क्षेत्री

अमर क्षेत्री तिनै युवाका एक प्रतिनिधि हुन् जो आफ्नै देशमा परिश्रमको पसिना बगाउने उद्देश्यले लागिपरेका छन् । ४ वर्ष चीनको होटल व्यवसायमा काम गरेपछि अमरलाई आफ्नो परिश्रम अर्काको राष्ट्रलाई विकास गर्नमा खेर गइरहेको अनुभव भयो । त्यस लगत्तै आफ्नै देशमा उद्यमशीलता पोखाउने सपना बोकेर नेपाल फर्किए उनी । र, आउनासाथ यहाँको बजार र मागको अध्ययनमा लागिहाले ।

अहिलेका युवाहरु आफ्नो फिटनेस र हेल्थमा निकै सचेत भएको पाएपछि आफ्नो मिहिनेत र पुँजीलाई फिटनेस बिज्नेसमा लगाउने निर्णय गरे अमरले ।

२८ वर्षीय अमरले आफ्नै भिनाजु र चिनजानमै रहेका दाजुसँगको सहकार्यमा ‘डि जिम’ स्थापना गरे । जिम स्थापना भएको धेरै भएको छैन । तर, छोटो समयमै सो व्यवसायले निकै राम्रो सफलता हात पारेको छ । स्थापना भएको १ महिनामै २ सय ५० भन्दा बढी ग्राहकले यहाँबाट सेवा लिइरहेका छन् । बिहान ५ बजेदेखि राति ९ बजेसम्म अमर र उनका ‘बिज्नेस पार्टनर’लाई भ्याइनभ्याइ हुन्छ ।

‘नेपाल अविकसित मुलुक हो । यहाँ कमाइ हुँदैन । लगानी गर्ने वातावरण नै छैन । बजार छैन ।’ जस्ता भनाइहरुले हाम्रा नजरलाई धुमिल बनाएको र अफवाहहरुको भरमा हामीले नेपालमा रहेका सम्भावनाहरुलाई नजरअन्दाज गरिरहेको बताउँछन् अमर । उनका अनुसार यो समय नेपालको लागि एकदमै ‘उत्पादनशील’ छ र यहाँ बिज्नेसका नयाँ अवधारणाहरुले राम्रो नतिजा हात पार्न सक्छन् ।

ऋण लागेपनि दिन नलागोस् भन्ने अमर आफूले ऋण लिएरै व्यवसाय शुरु गरेतापनि सबैजनाबाट राम्रो प्रतिक्रिया पाइरहेकाले व्यवसाय आगामी दिनमा फस्टाउँदै जाने कुरामा ढुक्क छन् ।

श्याम पाण्डे

श्याम पाण्डे २८ वर्षका भए । उनी इमाडोलमा ठेलामा सब्जी व्यापार गर्छन् । केही हजार पैसाका लागि विदेश पलायन भइरहेका युवाहरुका निमित्त उनी उदाहरणीय पात्र हुन् जसले विदेशको लाखौं कमाइ छोडेर आफ्नै देशको माटो रोजे ।

विदेशको ‘लाख’भन्दा आफ्नै देशको ‘सय’ मा रमाउँछु भन्दै नेपाल फर्किएका उनले अहिले दिनमा नभएको पनि ३(४ हजारसम्म बचाउँछन् । भन्छन्, ‘कुनै इलम सानोठूलो हुँदैन, मिहिनेत गरे सबैतिर फाइदैफाइदा छ’। पौरखले कमाएको उनको खुसी ह्यासट्याग स्माइलको यस अंकमा पस्किएका छौं ।

यी पौरखी युवाहरुको उद्यमशीलताको कथा हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?