आलेख : नेपालका ‘दलित’ लाई अहिले हेर्दा

हिन्दू वर्णाश्रम प्रथाअनुसार “शूद्र” का नाममा गरिँदैआएको अक्षम्य तथा अपराधजन्य भेदभाव नै मानव विकासको प्रमुख वाधक हो । दलितको शीप चल्ने तर पानी नचल्ने विसङ्गति आफैँमा मानव सभ्यतामाथिको क्रुरतापूर्ण अन्याय हो । दलितले कथित उच्च जातलाई ‘हजुर’ भन्नुपर्ने तर दलित जातिलाई कथित उच्च जातिले ‘तँ’ भन्ने कुप्रथा यातना र अत्याचारको टड्कारो रुप हो । दलितको समस्या लोकले चिनेको र समाजले औँल्याएको छ । राणाकालमा दलित समुदायको मामिला हेर्नका लागि सोही जातिको सरदार वा अगुवाको रुपमा “मिजार” नियुक्त गरिन्थ्यो । कतिपयले यसलाई थरका रूपमा पनि प्रचलनमा ल्याए । पश्चिम नेपालमा सुनारलाई पनि मिजार भन्ने गरिन्छ । हामीलाई ‘मिजार’ (मिझार) भन्ने परिपाटी जीवित रहुन्जेल यो छुवाछुत कायमै रहन्छ । अनि यसलाई संस्थागत रुप दिएर, समावेशिताका नाममा कोटामा रमाएर, विदेशीले खटाएको मानो खाएर दलितका नाममा एकथरी नेताहरू ऐस–आरामपूर्ण गुजारा गरिरहेका छन् ।
सबभन्दा ठूलो दोष मानिसलाई अछुत र दलित बनाउने पुरातन मान्यता, परिपाटी, धर्मको अपब्याख्या, उच्चजातीय दम्भ र संकीर्ण सोचको जकडबन्दीबाट बनेको साम्प्रदायिक चरित्र हो । दलितलाई संस्थागत र स्थायित्व बनाएर त्यसको आम्दानी खाने ‘दलित आन्दोलन’ का ठेकेदार पनि दोषी हुन् । दोष अरुको मात्र छैन, फोहोरी भएर दलित नै हुन खोज्ने परम्परागत कमि कमजोरी पनि कम दोषी होइनन् । कागजमा छुवाछुत प्रथा हटेको छ, तर जनजीवनमा कहाँ हट्नु ? गाउँमा धारो–कुवा पनि चलाउन नपाइने, शहरमा डेरा नपाइने समस्याले कहाँ छोडेको छ ? छुवाछुत प्रथा हटायौँ भन्ने माओवादीको मुखिया (प्रचण्ड) कै घरमा छुवाछुत र दलित भनेर ठूलो भेद गरिन्छ भन्ने कुरा त्यहाँ सुरक्षाका लागि खटाइएका जनमुक्ति सेनाका लडाकुहरूले बाहिर ल्याएका हुन् ।
‘दलित’ शब्द सर्वप्रथम उन्नाइसौँ शताब्दीमा तत्कालीन समाजमा “अछुत” भनिएको जातिमाथि गरिएको अत्याचार र यातनाको उल्लेख गर्ने क्रममा भारतको महाराष्ट्रका ज्योतिराव फुलेले गरेका थिए । ‘शूद्र’, “उत्पीडित जाति” “हरिजन”का साथै ‘परिगणित जाति’ पनि भन्ने गरिन्छ । भारतमा एउटा श्लोक नै सुनिन्छ– “ढोल, गवार, पशु, शूद्र, नारी ÷ यह सब है ताडन के अधिकारी” । नेपाललगायत भारत, बाङ्लादेश, श्रीलङ्का आदि दक्षिण एशियाली मुलुकमा जातीय भेदभाव र छुवाछुत प्रथाको चर्को समस्या रहिआएको छ । त्यसो त, पुरानो युगमा जापानको बुराकुमिन जाति, कोरियाको बाएक्जओङ् जाति र सोमालियाको मिदगन जातिलाई पनि दलितसरह ब्यवहार गर्ने गरिएको पाइन्छ ।
दलितभित्रै दलित र छुवाछुत
पहाडी दलित जाति मुख्यतः सात किसिमका, कामी, दमाई, सार्की, बादी, गाईने, सुनार र चुनारा छन् भने तराईमा यो संख्या ३५ छ— अघोरी, बाँतर, भिल्ल, भुनिया, चमार÷मोची÷हरिजन, चिडीमार, धोबी, धुनियाँ (मुस्लिम), डुम÷डोम÷ढाँगर, दुसाध, गान्धर्व (मुस्लिम), गुडीहारा, हलखोर, झाँगड (उँरावँ÷उरम), झाँगर, करोकी (यादव जातिमा पर्ने दलित), खत्वे, किच्चक, किसान, कोचे, मिर्शिकार, मुण्डा, मुसहर (सदा), नट, पामरिया, पासी, पासवान, रचवार, सन्ताल (सतार), शाई (मुस्लिम), सर्भाङ्गा, टाँटी, तत्मा र टुरी ।
नेवार जाति भित्र पर्ने दलितको आफ्नै स्वरूप र पहिचान छ । तिनीहरूमा च्यामे, कुचे, कुसुले र पोडे मूख्य छन् । नेवार यस्तो जातीय समुदाय हो, त्यहाँभित्र जनै लगाउनेदेखि सनही बजाउनेसम्मका जाति छन् ।
दलितसम्बन्धी संघ–संस्थाले नेपालमा दलितको कुल संख्या ४० लाख पुगेको भने पनि ३५ लाखभन्दा माथि । दलित भनिएकामध्ये कामीका अन्य थरधारीहरू हुन्– आफलधोती, आचार्य, आग्री, बाँस्कोटा, बराइली÷बराल, भट्ट, भट्टराई, भूल, भूसाल, बिपाली, बुन्छेभाले, चाम्लिङ् (राई), चन्दारा÷चन्दारो, छिस्ताल, चिलिमे, चुनारा, दहाल, दलामी, दर्नाल, दयाल÷दियाली, देउपाते, देवल, धमला, धानिक, दुधराज, दुराल, गदाली, गदाल, घताने (गहतराज), गजमेर, गजुरेल, घमाल, घामघोट्ले, घतानी, घिमिरे (सोभ), घोताने, गिरि, गोतामे, गोवा, हिमच्युरी, जन्डकामी, कन्डरा, कैनी, कालीकोटे, कालिराज (साहु), कल्लोहर, कसरा, खाडकाठोकी, खपाङ्गी, खाती, कोइराला, कोली, कुमकी, लबद, लकान्द्री, लामगादे, लामाकर्मी, लामिछाने, लाटोपी, लोहार, ल्वागुन, महिलपार, महर, मिझार, नगरकोटी, नेपाल, निरौला, पाध्यावति, पाग्री, पहरी, पल्लाय, पन्थी, पराजुली, पार्की, पोखरेल, पोर्तेल, पुलामी, रहपाल, राजकाल, राजिलोहार, रामदामु, रसाइली, रिजाल, रिसाल, रूचाल, सदासंकर÷सत्तसंकर, सापकोटा, सेतीमहरा, सेतीपार, सेतीसुराल, साहसंकर, शेरला, सिजापति, सिँगौरे, सिर्पाली (शिर्पाली), सुनाम, सुन्चिउरी, सुन्धुवा, सुनी, टमाटा, ठगुन्ना, ठटेरा, तिरुवा, तिवारी, वोड, वोखेडा ।
परियार, दर्जी, नेपाली आदि थरवोधक शब्द ‘दमाई’ जातीमा प्रचलित छ । तर पूर्वी नेपालमा दमाई शब्द र पश्चिम नेपालमा ढोली शब्दलाई अपमानजनक मानिन्छ । यो समुदाय पनि देशभरि नै यी थरमा बसोबास गरेको छ ः आउजी, आससाई, बागचन, बागदास, बाहक, बर्देव, भण्डारी, भित्रीकोटी,भुसाल, बूढाप्रिथी, बुढापोथी, चाहार, छिनाल, चुहान, दमाईपरेल, दमापरियार, दर्नाल, दास, डाउँडे, देउदास, देवल, ध्याकी, गौतम (गोतामे), घले, घतानी, गुँइडे, हिङ्माङ्, हुड्के, जैरू, कालाखाती, कार्कीढोली, कटुवाल, खतिवडा, कोइराला, लामघाटे, लुईटेल, मगर, मैनाली, महरा, महटे, माले, नगर्ची, नागवाग, नागवान, नौबाग, नेगी, नेपाल, पञ्चकोटी, परियार (अछामे, चुडाल), पोखरेल, राईँगाईँ, रैका, राना, रानपँहेली, रानपाल, रत्न÷रत्ने, रत्नपरियार, ¥याईझ्याइँ, समुद्रसाई, सासमुन्द्रा, शहस्सामुद्रा, शिहाल, शिनाल, शिवा, सूजी, सुदास, सुनाल, सुनाम, सुन्च्युरी, ठगुन्ना, थापा, ठटाल र तिखत्री÷तिवारी ।
पश्चिम नेपालमा सार्कीका दुई तह पाइन्छ— जातसहित र जातरहित । सार्की जाति पनि देशभरि नै यी थरका साथ पैmलिएर बसेको छ— अछामी, बमरेल, बाहुन, बस्ताकोटी, बसेल, बयलकोटी, भङ्ग्याल, भेँयाल÷भुल, भुर्तेल, चमार, छमार्की, छत्कुली, चुडाल, चुहान, दाबे, डाले, गैरेपिपन, घिमिरे, गिरि, गोठे, हिताङ्, कमर, खतिवडा, कोइराला, लम्जेल, लम्साल, मज्बोटी, माल्बोक, माल्बुले,मगराती, मुडेल, नघाली, पहेँली, पुर्कोटी, रम्तेल, रोक्का, रोइला, रूचाल, सारमौटे, सेजुवाल, शाही, सिरिमाल, सिरौटे, सुर्खेनी, सुयेनी, ठगुन्ना, थाक, थाकुस्र्या, ठाडाराई, टोगी, उपरकोटी र उप्रेती ।
त्यसैगरी पहाडी दलितमा अर्को महत्वपूर्ण जात हो गान्धर्भ वा गाईने । पश्चिम र मध्यपश्चिमका जिल्लाहरू, कास्की, गोर्खा, तनहुँ, स्याङ्जा, पाल्पा, रूपन्देही, गुल्मी, सुर्खेत, दैलेख, जाजरकोट, रूकुम, प्युठान, दाङ्, सल्यान, जुम्ला र पूर्वमा भोजपुरमा गान्धर्भ जातिको मुख्य बसोवासो रहेको छ । गान्धर्भहरूको थर पनि क्षेत्री–ब्राम्हण जातिका थरसँग मिल्दोजुल्दो छ ः बाहुन, बइस्ट÷बिष्ट, बैकार÷वाज्ञकार, भुसाल, भुसालपर्वते, विष्णुपाद, विश्वकर्मा, बोगटे, बुढाथोकी, गोसाई, हुक्चिङ्ग्रण, जोगी, कालापौडेल, कालाकौशिक, कालीचान, कामी, महेश्वर, मेघनाथ, साई, समुद्री, सेतापर्वते, सेतीचन, सुरसमन, ठकुरी र तुर्की ।
चौतर्फी कलङ्क
हाम्रो आदि–धर्मशास्त्र वेदले कतै पनि आजकोजस्तो जातीय विभेद गरेको छैन, तर धर्मशास्त्रको गलत ब्याख्या र दुरूपयोग अनियन्त्रित हुँदैगएपछि जन्मजात माथिल्लो जात वा तल्लो जात हुने अभ्यास प्राचीन कालदेखि हुनथाल्यो ।
किँरातकालबाहेक लिच्छबी, मल्ल, राणा र शाह कालहरूमा जातिका आधारमा सजाय दिइन्थ्यो । ब्राम्हणलाई जघन्य अपराध गरेपनि मृत्यु दण्ड दिइन्नथ्यो, तर “अछुत”ले सामान्य गल्ती गरेपनि पाशविक यातना र कडाभन्दा कडा सजाय दिइन्थ्यो । उदाहरणका लागि मल्लकालमा यदि कथित “शूद्र”ले तागाधारी जातीको महिलासँग शारीरिक सम्बन्ध राखेको पाइयो भने “चाण्डाल” (जल्लाद) लगाएर लिङ्ग काटी उसैलाई खुवाउने गरिन्थ्यो । राजा राजेन्द्र्र शाहको शासनकालमा बि.सं. १८९३ असारमा जारी गरिएको कानुनअनुसार दमाई, कामी, सार्की, बलामी, माझी, दनुवार, मुर्मी, भोटे, चेपाङ र कुमाल जस्ता जातिहरूका लागि गल्तीवापत मृत्युदण्डकै सँजाय तोकिएको थियो । अन्य जातिबाट गरिएका त्यस्तै गल्तीवापत कम सजाय दिने गरिन्थ्यो ।
मध्ययुगमा आइपुग्दा छुवाछुत प्रथाका आधारमा चार किसिमका जातीमा नेपाली समाजलाई विभाजित गरियो— पहिलो, तागाधारी जाति, जो जनै लगाउँछन् । दोस्रो मतवाली ः जसमा (क) नामस्याने मतवाली, जो मद्यपान गर्दछन् तर दासत्वमा पर्दैनन् र (ख) मस्याने मतवाली, जो दासत्वमा परेका थिए÷छन् र मद्यपान गर्ने गर्दछन् । तेस्रो खालको जातीमा, पानी नचल्ने तर छोइछिटो हाल्नु नपर्ने जाति र चौथोमा पानी नचल्ने र छोइछिटो पनि हाल्नुपर्ने “अछुत” जाती । राणा प्रधानमन्त्री जङ्गबहादुरले बेलायत यात्रापछि आफ्ना लागि समेत तत्कालीन ऐनमा केही संशोधन गरेर “प्रायश्चित”को ब्यवस्था गरेका थिए, तैपनि जातीय भेद र दलितमाथिको अत्याचारमा कमी थिएन ।
पछौटेपन ः
दलित जातिमा साक्षरताको स्तर खासै बृद्धि भएको छैन । साक्षरता दर ५० प्रतिशत पुग्न सकेको छैन । महिलाहरूबीच मात्र यो संख्या ४० प्रतिशतको हाराहारीमा देखिन्छ । तराईका छःवर्ष वा त्योभन्दा माथिको उमेरका ७६ प्रतिशत बालबालिकाहरू विद्यालय जानबाट वञ्चित रहँदै आएका छन् । एक कक्षामा भर्ना भएकामध्ये ४१ प्रतिशतले पाँचकक्षासम्मको पढाई पूरा नगरी वीचैमा छाड्दछन् । निम्नमाध्यमिक र माध्यमिक विद्यालयमा भर्ना भएका कुल बालिबालिकामध्ये दलितका छोराछोरी क्रमशः सात र पाँच प्रतिशतमात्र रहेका छन् ।
करिब ५४ प्रतिशत दलित जनता भूमिहिन छन् । गैरसरकारी क्षेत्रको विकासका निकायहरूमा दलित जनशक्ति पुग–नपुग ४ प्रतिशत मात्र छ । सरकारी निकायमा त यो संख्या झनै कम देखिन्छ । कुल महिला सरदर आयु करिब ६० वर्ष पुगेको छ, तर दलित महिलाको सरदर आयु ४९ वर्षभन्दा माथि जान सकेको छैन । २०५३ सालमा दलित जातिको पक्षमा काम गर्ने संघ–संस्थाहरूको यो एक छाता सङ्गठन दलित गैरसरकारी संस्था महासंघ स्थापना भयो, जसमा करिब तीनशय सघ–संस्थाहरू सदस्य रहेका छन् । तर कतिपय यस्ता संस्थाहरू दलित प्रथाको उन्मूलन गरी समतामूलक समाजको स्थापनाका लागि होइन गरिब दलित देखाएर आफ्नो दुनो सोझ्याउने निहित स्वार्थबाट खोलिएका हत्कण्डा हुन् । यसरी दलितले नै अर्को दलितलाई थप दलित बनाइरहेको छ ।
राष्ट्रलाई योगदान ः
नेपाल राष्ट्रको एकीकरणको समयदेखि नै दलित जातिले राष्ट्रनिर्माणमा अद्वितीय भूमिका निर्वाह गरेका छन् । सेनाका बन्दुक, खुँडा, खुकुरी, तरबार जस्ता हतियार बनाइदिने, सेनाको पोशाक, जुत्ता र बन्दोवस्तीका सामान बनाइदिने काम दलितहरूबाटै भयो । गान्धर्भहरूले गाउँगाउँ पुगेर एकीकरणका पक्षमा गीत सवाई र श्लोक गाएर जनमानसमा उत्साहको वातावरण बनाइदिएका थिए भने सेनाको मनोबल बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पृथ्वीनारायण शाहका पालामा गोर्खाका दलित प्रौढ बिसे नगर्ची आजपर्यन्त उदाहरणीय र आदर्शका रूपमा प्रतिष्ठित हुनुहुन्छ । उहाँले पृथ्वीनारायण शाहलाई दिएको सल्लाहको प्रभाव कालजयी रूपमा जीवित छ ।
२०६२–६३ को जनआन्दोलनमा शहिद हुनुभएका सेतु बि.क. वा चन्द्र बयलकोटी, मोहम्मद जहाँगिर वा ताहिर अन्सारी, राष्ट्रको आवश्यकताका समयमा दलित समुदायले जीवनकै बली चढाउने त्याग र हिम्मत सावित गरेका छन् । तागाधारीको युक्तिमात्र होइन, जनजातिको शक्ति र दलितको सृजनशील भक्तिले नै यो राष्ट्र खडा भएको हो । त्यसैले दलित जातिको अपमान र भेदभाव सिङ्गो नेपालकै अपमान हो ।
मुक्ति र प्रगतिको बाटो खोज्दै जाँदा माओवादीले दलितलाई नै मराएर आफ्नो दुनो सोझ्यायो । सोझो दलित सहिद भयो, बाठो बाहुन प्रधानमन्त्री, मन्त्री, नेता, गण्यमान्य भयो । दलितले कहाँ आफ्नो राज्य पाए ? बरू काँग्रेसले बि.सं. २००९ सालमा धनमानसिंह परियारलाई पार्टीको महामन्त्री बनाएर आफ्नो प्रतिष्ठामा चार चाँद लगायो । उहाँलगायत देबब्रत (डीबी) परियार, आरबी गहतराज, लख्खिदेवी सुन्दास, फत्तेबहादुर नेपाली, ठाकुरकुमार पार्थिव, मास्टर रामस्वरूप आदि पार्टीका संस्थापक भए । कांग्रेस स्थापनाको पहिलो बैठक दलितकै घरको छतमा भयो । तर आज आएर दलितलाई फगत भोट बैंक बनाउने र दलितको रगत–पसिनाले बनेको बलिदानलाई भजाउँदै सत्तामा पुग्ने बेइमानीपूर्ण राजनीति चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?