कोरोनाभाइरस महामारी : सरकारले घोषणा गर्यो नयाँ ‘प्लान’

काठमाडौं । देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक बन्द गर्ने र पकेट एरिया ‘लक डाउन’ गर्ने योजना सरकारले बनाएको बताए ।

उनले भने ‘अत्यावश्यक बाहेक अन्य बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डाउन गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ । आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्ने गरी सहकार्य भइरहेको छ ।’ कोरोना संक्रमण विकसित भएअनुसारको व्यवस्थापन गर्ने गरी सरकारले तयारी गरेको पनि उनले बताए ।

देशका विभिन्न ४३ वटा सीमा नाकामा स्वास्थ्यकर्मीहरुसहितको टोली परिचालन गरिएको छ । स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेको छ । प्रवक्ता देवकोटाका अनुसार नेपालमा अहिलेसम्म साढे ४ सयको परीक्षण गरिएकोमा एकजनामा बाहेक कुनैमा संक्रमण नदेखिएको बताए ।

संक्रमित देशबाट आउनेहरुले कोरोना फ्रि सर्टिफिकेट अनिवार्य ल्याउनुपर्ने, नेपालीहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । उनले टेकु अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?