कम अंक ल्याउँदा ३४ विद्यार्थीको हात ब्लेडले चिरियो

काठमाडौं। राजधानीमा नै एक विद्यालयकी शिक्षिकाले आफ्ना ३४ जना विद्यार्थीलाई कक्षा परीक्षामा कम अंक ल्याएको भन्दै ब्लेडले हात चिरिदिएकी छन् ।
जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा ६ मा अध्ययनरत २५ जना र कक्षा ७ मा अध्ययनरत ९ जना गरी ३४ विद्यार्थीको हात बेन्चमा उभ्याएर ब्लेडले चिर्न लगाएकी हुन् ।
शिक्षिका कर्माचार्यले करिब एक साताअघि विद्यार्थीलाई परीक्षा लिएकी थिइन् । सोही बखत नै उनले कम अंक ल्याउने विद्यार्थीले आफ्नो हात आफैंले ब्लेडले चिर्नुपर्ने नभए आफैंले चिरिदिने धम्की दिएकी थिइन् ।

विगत १२ वर्षदेखि उनले सोही स्कुलमा सामाजिक विज्ञान विषय पढाउँदै आइरहेकी थिइन् । प्रहरीले विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई पक्राउ गरिसकेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले शिक्षिका कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरी नियन्त्रणमा परेपछि शिक्षिका कर्माचार्यले आफूले विद्यार्थीहरूलाई परीक्षा लिँदा नै कम अंक ल्याए हात चिर्ने धम्की दिएको स्वीकार गरेकी छन् । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?