कोरोनाको संक्रमण जटिल भएपछि इटलीले देशभरका विद्यालय बन्द गर्यो

काठमाडौं । भयावहरुपमा फैलदै गरेको कोरोना भाइरसका कारण युरोपियन देश इटालीले देशभरका विद्यालय बन्द गरेको छ ।

कोरोना भाइरससँग जुध्न बिहीबारदेखि १० दिनसम्म विद्यालयहरु बन्द गरिएको त्यहाँको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै, देशभित्र हुने खेल प्रतियोगितामा पनि इटलीले प्रतिबन्ध लगाएको छ । यस्तो निर्णयसँगै सिरी–ए फुटबल स्थगन हुने भएको छ ।

हालसम्म १ सय ७ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार, ३ हजारभन्दा बढीमा संक्रमण फेला परेको छ ।

त्यस्तै कोरोना भाइरसको कारण एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ ।

क्यालिफोर्नियामा ७१ वर्षीय वृद्धको अस्पतालमा मृत्यु भएको छ, जो जहाज चढेर सानफ्रान्सिस्कोबाट मेक्सिको गएका थिए ।

अमेरिकी अधिकारीहरुका अनुसार देशभर स्वास्थ्य परीक्षण गर्दा १६ वटा राज्यमा कम्तिमा १५० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वाशिङ्गटन डिसी राज्यका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?