प्रधानमन्त्रीमा युवाको जस्तो मनोबल

प्रधानमन्त्री केपी ओलीकाे मिर्गौला प्रत्यारोपण गर्ने प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्रीमा युवाको जस्तो मनोबल रहेकाे बताएका छन् ।
नयाँ पत्रिकामा उनले भनेका छन्- प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको छ । नेपालमा हुन लागेको प्रत्यारोपणले समग्र चिकित्सकमा ऊर्जा थपिएको छ । प्रधानमन्त्री प्रत्यारोपणका लागि पूर्ण तयार हुनुहुन्छ । उहाँको मनोबल युवाहरूमा जस्तो छ । प्रत्यारोपण गर्न उहाँको स्वास्थ्य ठीक छ । प्रत्यारोपणको अन्तिम तयारीस्वरूप मंगलबार प्रि–डायलाइसिस, रगत, पिसाब जाँच गरिएको छ । सबै परीक्षणको रिपोर्ट राम्रो आएको छ ।

साउन ०६५ मा पहिलोपटक त्रिवि शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपण थालिएको हो । त्यस्तै, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माघ ०६९ देखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको हो । नेपालभर हालसम्म १५ सयजनाको मिर्गौला प्रत्यारोपण भएको छ । जसमा शिक्षण अस्पतालमा मात्रै करिब सात सयको संख्यामा प्रत्यारोपण भएको छ । त्यसको सफल दर ९८ प्रतिशत छ । नेपालमै १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । शिक्षण अस्पतालमा मात्रै आठजनाको दोस्रोपटक प्रत्यारोपण भएको छ भने दुईजनाको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरिएको छ । ती सबै सफल भएका छन् । नेपालमा प्रत्यारोपणका लागि उच्चस्तरका उपकरणहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?