कोरोना संक्रमण रोक्न सरकारको यस्तो तयारी, नेपाल आउने सबै यात्रुको अनिवार्य जाँच गर्ने

काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले सातवटै प्रदेशमा आवश्यक सामग्रीसहित स्वास्थ्य टोली परिचालन गरेको छ ।

प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका अनुसार विश्वभर फैलिँदै गएको कोरोना संक्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कार्ययोजना तयार गरिएको छ । उनले भने, तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको छ ।

कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य कक्षमा जनशक्ति र तीनवटा इन्फ्रारेड रेडिएशन थर्मोमिटर थप गरी नेपाल आउने सबै यात्रुको अनिवार्य जाँच गर्ने प्रवन्ध पनि मिलाइएको छ ।

दक्षिण कोरियाको तस्वीर : फाईल

यही १७ गते प्रधानमन्त्री निवासमा सम्पन्न उच्चस्तरीय बैठकबाट प्राप्त सुझावका आधारमा मन्त्रालयबाट थप योजना बनाई कार्यान्वयन गर्ने तयारी गरिएको उनले बताए । उपत्यकाका सबै अस्पतालसँग विभिन्न चरणमा पूर्वतयारीका लागि बैठक तथा छलफल गरिएको छ ।
डिसेम्बर अन्तिम साता छिमेकी मूलुकचीनको वुआनबाट सुरु भएको कोरोनाको संक्रमण यतिबेला विश्वका ५५ भन्दाधेरै मूलुकमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?