जापानमा कोरोनाको त्रास : विद्यालय बन्द भएको दिनमा पनि बाहिर ननिस्कनू

काठमाडौं । जापानका शिक्षामन्त्री कोइची हागिउदाले जापान सरकारले आगामी केही दिनमा देशैभरका विद्यालय बन्द गर्न लागेको जानकारी दिँदै त्यस समयमा घरभित्रै बस्न बालबालिकालाई आग्रह गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणको त्रासमा जापान सरकारले पनि आगामी मार्च २ देखि देशैभरका विद्यालय बन्द गर्न लागेको जनाएको छ । शिक्षामन्त्री कोइची हागिउदाले शुक्रबार सो जानकारी दिएका हुन् ।

साथै उनले त्यस अवधिमा बालबालिकालाई घर बाहिर ननिस्कन भनेका छन् । मार्च २ तारिखदेखि यहाँको सरकारले विद्यालय बन्दको कार्यक्रम राखेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जापान सरकारले यो नीति अख्तियार गर्न लागेको उनले बताए । विद्यालयमा बालबालिकाका माध्यमबाट पनि प्राणघातक यस भाइरसको सङ्क्रमण बढ्न सक्ने अनुमान गरेर सरकारले यो नीति लिएको हो ।

शिक्षामन्त्री हागिउदाले भने– विद्यालय बन्द गरिएपनि बालबालिका खेल्न या अरु कारणले बाहिर जाने अवस्था भयो भने उक्त सङ्क्रमणको प्रकोप फैलिने क्रम नरोकिन सक्छ, त्यसैले बालबालिकालाई घरमै राख्नका लागि सबैको सहयोगको आवश्यकता छ ।

यस कार्यका लागि बालबालिकाका आमाबुबाका साथै सबै मन्त्रालय र निकायको पनि सहयोग र समन्वय आवश्यक रहेको धारणा पनि उनले राखेको समाचारमा जनाइएको छ ।

कोरोना भाइरसको त्रास रहेको जापानमा पनि समूहगत रुपमा यसको सङ्क्रमण फैलिने काममा विद्यालय पनि पहिलो खतराको सूचीमा रहेको विज्ञहरुले दिएको सुझावका आधारमा यो निर्णय लिइएको पनि उनले जानकारी दिए ।

जापान सरकारले यही मार्च २ तारिखदेखि प्राथमिकदेखि माध्यमिकसम्मका सबै विद्यालय बन्द गर्ने औपचारिक निर्णय गरिसकेको छ ।
जापान सरकारले विद्यालय बन्दको यो कार्यक्रम अकस्मात ल्याएको बताइएको छ । यस विषयको कुनै तयारी यसअघि नगरिएको शिक्षा अधिकारीहरुले जनाएका छन् ।

यसअघि कुनै छलफल नै नभएको यस विषयमा सरकारले बिहीबार अकस्मात निर्णय सुनाएको र त्यसको कुनै पनि तयारी नरहेको विद्यालय तहका शिक्षक र अभिभावकहरुले जानकारी दिएका छन् ।

विद्यालय बन्दको यस कार्यक्रमको सार्वजनिक घोषणा जापानी प्रधानमन्त्री सिन्जो आबेले गरेका थिए । प्रधानमन्त्री आबेले बिहीबार शिक्षा क्षेत्रका अधिकारीहरुको बैठक बोलाएर विद्यालयहरु बन्द गर्न सार्वजनिक घोषणा गरेका थिए ।

सरकारको यही घोषणाको कार्यान्वयनका लागि आवश्यक सहयोगको याचना जापानी शिक्षामन्त्री हागिउदाले गरेका समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?