अस्पतालमा पत्रकारलाई ५० प्रतिशत छुट

बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पताल लमजुङले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा लमजुङमा आबद्ध र जिल्लाको विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई अस्पतालले उपचारमा ५० प्रतिशत छुट दिने भएको हो ।

अस्पताल प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले अस्पतालले पत्रकारलाई बहिरङ्गको ल्याब र एक्सरे र टिकटमा मात्र ५० प्रतिशत छुट दिने बताउनुभयो । अस्पतालमा पत्रकार बिरामी हुँदा ५० प्रतिशत छुट पाउने भएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा सदस्य रहेका ५७ जना र यसबाहेक अन्य विभिन्न मिडियामा आबद्ध क्रियाशील पत्रकार लाभान्वित हुने शाखा अध्यक्ष आश गुरुङले बताउनुभयो ।

जिल्लाकै ठूलो ६० शै्या रहेको यस अस्पताल आगामी वर्ष १०० शै्याको बनाउने, नर्सिङ कलेज सञ्चालन गर्ने, आमा घर निर्माण गर्ने, कर्मचारी आवास निर्माण गर्ने लक्ष्य अस्पतालको रहेको छ । त्यस्तै प्राइभेट वार्ड सञ्चालन गर्ने, डाइलेसिस सेवा सञ्चालन गर्ने, मोतियाविन्दुको शल्यक्रिया, अक्सिजन पाइपलाइन व्यवस्था गर्ने योजनाका साथ अघि बढ्न लागेको अस्पतालका प्रमुख श्रेष्ठले बताउनुभयो ।

अस्पतालमा आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि पुस महिनासम्ममा बहिरङ्ङ सेवा लिने सङ्ख्या ३४ हजार, ५५९ जना, आकस्मिक सेवातर्फ पाँच हजार १४६ जना, अन्तरङ्ग सेवातर्फ दुई हजार २८२ जना नागरिक तथा बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । करिब रु ३२ लाख १३ हजार ९५५ बराबरको निःशुल्क सेवा गरिएको अस्पताल प्रकासकीय प्रमुख श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?