बहराइनमा पनि ३२ जनामा कोरोना संक्रमण, नेपालीहरु त्रासमा !

काठमाडौं । २०१९ को डिसेम्बर अन्तिम साता चीनबाट सुरु भई ३४ भन्दा बढी मूलुकमा फैलिसकेर भयावह बन्दै गएको कोरोना भाइरस कोभिड–१९ बहराइनमा समेत भेटिएको छ ।

कोरोना भाइरसका कारण ३२ जना संक्रमित भएका छन् आधिकारिक पुष्टि नभएतापनि बहराइनमा इरानबाट कोरोना संक्रमण फैलिएको बताइएको छ । इरानबाट आएका तीन जना महिलाबाट कोरोना भाइरस सरेको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इरानले सबै अन्तर्राष्ट्रिय उडान बन्द गराउनुभन्दा अगाडि नै ती महिलाहरु हवाईजहाजमार्फत् बहराइन आएका थिए । इरानमा १९ जनाले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् ।

अहिले बहराइनमा दुई हप्ताका लागि विद्यालय बन्द गरिएको छ । त्यहाको हवाई उडान पनि कटौती गरिएको छ । कोरोनाको त्रासले बहराइनका बजारहरु सुनसान छन् भने होटल क्षेत्र ठप्प छ । संक्रमणबाट बहराइनसमेत प्रभावित भएपछि त्यहाँ रहेका नेपालीहरु त्रसित बनेका छन् । ७५ हजारभन्दा धेरै मानिस संक्रमित भइरहेका छन् । बहराइनमा ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै त्यहाँ रहेका नेपालीहरु चिन्तित हुन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुक र त्यहाँ बनाइएका विभिन्न पेजहरुमा आफूहरु आतंकित बनेको भनेर लेखिरहेका छन् । यद्यपी त्यहाँ रहेका नेपालीहरु संक्रमित छन् कि छैनन् भन्नेचाहिँ खुलेको छैन ।

कोरोना भाइरसका कारण भयावह बन्दै गएको परिस्थितीबारे यतिबेला विश्व समुदाय चिन्तित छ । चिकित्सकहरु दिन रात नभनी औषधी पत्ता लगाउन प्रयास गरिरहेका छन् । युरोपको अस्ट्रिया,स्विटजरल्याण्ड,क्रोएशियामा भाइरसको संक्रमण देखिएको द न्यूयोर्क टाइम्सले जनाएको छ।

यी देशहरुमा भाइरसको संक्रमण इटालीबाट फैलिएको अनुमान गरिएको छ। इटाली पुगेर फर्किएकाहरुमा भाइरसको संक्रमण देखिएको छ।
बहराइनमा कति छन् नेपाली  ? 
बहराइन नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक हो । बहराइनमा २० हजारभन्दा बढी नेपालीहरु रहेको अनुमान छ ।

कोरोना संक्रमण सुरु भएको चीनको बुहान सहरबाट नेपाल सरकारले १ सय ७५ जना नेपालीहरुलाई उद्धार गरेको थियो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म २ हजार ८ सय १ पुगिसकेको छ । चीनमा मात्रै २ हजार ७ सय ४४ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसबाट विश्वभर ८२ हजार २७ संक्रमित छन् । ३३ हजार २ सय ६ जना भने उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । चीनबाहिर नोबेल कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको छ । पछिल्लो पटक ल्याटिन अमेरिकी देश ब्राजिलमा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको हो । योसँगै पहिलो पटक चीनमा भन्दा चीनबाहिर नयाँ संक्रमितको सङ्ख्या बढी देखिएको छ ।

नेपालमा कति छ जोखिम ? 

भाइरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर यसबाट सर्तक रहन सरकारले सुसूचित गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?