लागुऔषध कारोबारीसँग एक अर्बको सम्पत्ति, काठमाडौँमा जताततै जग्गा, विदेशी बैंकमा खाता

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगरको एक अर्ब सम्पत्ति भेटिएको छ । लागुऔषध कारोबारबाटै देवेन्द्रले अवैध सम्पत्ति आर्जन गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निष्कर्ष छ ।

उनीसँग चल–अचल गरी एक अर्बको सम्पत्ति भेटिएको विभागले जनाएको छ । उनको सबै सम्पत्ति रोक्कासमेत गरिएको छ । अनुसन्धान टुंग्याएको विभागले मुद्दा दायरको तयारी गरेको छ । अनुसन्धान फाइल विशेष सरकारी वकिल कार्यालयमा पठाएको छ ।

देवेन्द्र तीनपटक जेल बसेर छुटेका व्यक्ति हुन् । पछिल्लोपटक २३ वैशाख ०६९ मा उनलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको थियो । त्यसवेला उनीसहित तीनजना एक सय ३६ किलो चरेससहित पक्राउ परेका थिए ।

देवेन्द्रले सीतापाइलास्थित आफ्नै घरमा चरेसको गोदाम राखेको प्रहरी अनुसन्धानमा भेटिएको थियो । उनको हङकङ र जापानका बैंकमा खाता रहेको त्यतिवेलै प्रहरी अनुसन्धानमा खुलेको थियो । लागुऔषध कारोबारको पैसा तिनै खातामा जम्मा गर्न लगाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । देवेन्द्र त्यतिवेला दुई वर्ष जेल बसेर छुटेका थिए ।

०३९ मा पहिलोपटक पक्राउ परेका उनी ०४२ मा पनि खैरो हेरोइनसहित पक्राउ परेका थिए । उनी ०३४ देखि चरेस कारोबारको अन्तर्राष्ट्रिय गिरोहमा आबद्ध भएको भेटिएको प्रहरी अधिकारीले बताए ।

देवेन्द्रको सीतापाइलामा डेढ रोपनी जग्गासहित घर छ । थानकोटमा करिब १५ रोपनी जग्गा भेटिएको स्रोत बताउँछ । कतिपय जग्गा उनले बकसमार्फत लिएको अनुसन्धानमा देखिन्छ । बयानका क्रममा उनले आफ्नो सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन् । सरकारी वकिल कार्यालयबाट निर्णय भएपछि उनको सम्पत्ति जफतको माग गरी मुद्दा दायर हुने विभागका एक अधिकारीले बताए ।नयाँ पत्रिकामा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?