भूमरीमा अल्झिएको जीवन उद्यमी बनेर रहरलाग्दो बनाएकी लक्ष्मीको प्रेरणादायी कथा

७० वर्षको उमेरमा भन्छिन्, ‘अझै सपना देख्न छोडेकी छैन’

काठमाडौं । १३ वर्षको उमेरमा आफूभन्दा दोब्बर उमेरको मानिससँग विवाह हुनु, श्रीमानको अरु युवतीसँग सम्बन्ध हुनु, सानै उमेरमा छोरीहरु जन्मिनु, वैवाहिक जीवनमा तालमेल नमिल्नु लक्ष्मीको शुरुवाती जीवन यस्तै भूमरीमा अल्झियो ।

त्यसो त तत्कालीन समयका अधिकांश महिलाहरुको कथा हो यो । फरक यति छ लक्ष्मीले अन्य महिलाजस्तो नियतिको अगाडि घुँडा टेकेर जे छ त्यसमा चित्त बुझाइनन् । आफ्नो जीवन परिवर्तन गर्न आफै लडिन् । संघर्ष गरिन् । श्रीमानसँग छुट्टिइन् । छोरीहरुको पालनपोषणको जिम्मा आफै उठाइन् । विदेशीका घरमा खाना बनाउने, सरसफाइ गर्ने लगायतका कामहरु सानोठूलो नभनी गरिन् । अभावैअभावको पहाडले थिचेपछि बल्ल शुरु भयो उनको उद्यमशीलताको यात्रा ।

आफै टेम्पो कुदाउँदै उनले ५ वटासम्म टेम्पो किनिन् । टेम्पो व्यवसायबाट विस्तारै उक्सिँदै गएको जीवनस्तरलाई लक्ष्मी काष्ठ उद्योगले थप मद्दत पु-यायो । हस्तकलाका सामानहरु निर्माण गर्ने उनको उद्योगमा पछि जनावरको हाड, सिङ र काठबाट बटन अर्थात् ‘टाँक’ पनि उत्पादन हुन थाल्यो । आफ्नो उद्योगमा बनेका टाँकहरु पोलो, राल्फ लोरेन, फ्रान्क ब्रदर्स लगायतका विश्वमै लोकप्रिय ब्रान्डहरुले प्रयोग गरेको दाबी गर्छिन् लक्ष्मी ।

करिब ७ हजार प्रकारका टाँकहरु उत्पादन भएका छन् त्यस उद्योगबाट । ४ हजारभन्दा बढी जनशक्तिलाई रोजगारी दिइसकेकी छिन् लक्ष्मीले अहिलेसम्म । त्यसैले, एसियाकै पहिलो महिला टेम्पो चालक भनेर चिनिने लक्ष्मी शर्मालाई ‘दि बटन लेडी’ भनेर पनि चिनिन्छ ।

यो सफलतासम्म पुग्न चुनौतीका धेरै सिँढीहरु पार गरेकी छिन् उनले । चाहे टेम्पो कुदाउँदा पुरुषहरुसँग जुध्नु परेको क्षण होस् या उद्योग सञ्चालन गर्दा झेल्नुपरेका मुद्दामामिला । सबै कठिनाइलाई हाँसीहाँसी फाँसीसम्म पु-याएकी छिन् उनले ।

७० वर्षको उमेरमा पनि लक्ष्मीलाई पटक्कै फुर्सद छैन । बिहानै उठ्नु नुहाइधुवाइ, पूजापाठ सकेर उद्योगमा केकस्तो काम चलिरहेको छ भनेर निरिक्षण गर्नु, विभिन्न संघसंसथाको कार्यक्रममा निम्तो आउँछ त्यहाँ पुग्नु, गेस्ट लेक्चरका रुपमा पनि बोलाउँछन् शैक्षिक संस्थानहरुले, आफ्नो अनुभव बाँड्न त्यहाँ पनि पुग्नु, म्युजियम र लाइब्रेरी निर्माणाधीन अवस्थामा छन् त्यसको प्रक्रिया पूरा गर्नु । भ्याइनभ्याइ छ उनलाई । तर, यही अस्तव्यस्ततामा खुशी पाउने लक्ष्मीले कहिल्यै अल्छी गर्न जानिनन् । केही नगरी बसेर खान कहिल्यै मनलागेन उनलाई ।

उमेर सँगसँगै उहाँका रहरहरु झन् थपिँदै गएका छन् । सपनाको आयाम झन् फैलिँदै गएको छ । आफ्ना सबै उत्पादनहरुलाई संग्रहालय बनाएर राख्ने लक्ष्य छ । अन्तिम सास लिनुअघि अझै केही पुस्तक लेख्न मन छ । केही गीत गुनगुनाउन मन छ….

 

लक्ष्मी शर्माको जीवनलाई नजिकबाट नियाल्नलाई यो भिडियो हेर्नुहोला :

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?