कोरियामा रहेका नेपाली कामदारलाई बाहिर ननिस्किन दूतावासको आग्रह

काठमाडौं । २५ लाख जनसंख्या भएको दक्षिण कोरियाको थेगु सहर कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेको छ ।

कोरोनाको संक्रमण फैलिए पछि थेगु सहरका बासिन्दालाई सरकारले बाहिर ननिस्किन र मास्क लगाउन आग्रह गरेको छ । थेगुमा रहेका नेपाली समुदायलाई पनि सोलस्थित दूतावासले बाहिर ननिस्कन र मास्क लगाएर सुरक्षित रहन आग्रह गरेको छ ।

नेपाली दूतावासले विज्ञप्ति निकाल्दै नेपालीहरुलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन आग्रह गरेको हो । थेगु र आसपासमा मात्रै एक हजार भन्दा धेरै नेपाली कामदार छन् । कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि नेपाली दूतावासले त्यस क्षेत्रका नेपाली कामदारलाई कम्पनीबाट बाहिर ननिस्किन आग्रह गरेको हो ।

कोरियामा ४० हजार भन्दा धेरै नेपाली कामदार रहेको दूतावासका अधिकारीहरुको भनाइ छ ।

मंगलबारसम्म दक्षिण कोरियामा ८ सय ९३ जनामा कोरोना भाइरस संक्रमण देखिएकोमा ९ जनाको मृत्यु भइसकेको छ । सोमबार मात्रै एकै दिन ६१ जनामा संक्रमण भेटिएको थियो । दक्षिण कोरियाको सबैभन्दा धेरै संक्रमणका बिरामी थेगुमा देखिएका हुन् ।

चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण संसारका दुई दर्जन बढी देशमा महामारीकै रुपमा फैलिएको छ । चीनपछि जापान, दक्षिण कोरिया, इटाली, इरान लगायत देशमा कोरोना भाइरसका बिरामी भेटिएका हुन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?