अमेरिकी राष्ट्रपतिको चुनाव : नेपाली सरोकार !

लोकपथ विदेश ब्यूरो
अमेरिकामा रहे–बसेका ५ लाखभन्दा बढी नेपालीहरूका लागि नयाँ राष्ट्रपतिको कार्यकाल अर्थपूर्ण र महत्वपूर्ण हुन थालेको छ । राष्ट्रपतिले अपनाउने आप्रवासी नीतिले गर्दा यो निर्वाचन नेपालीहरूका लागि विशेष सरोकारको विषय हुने गरेको हो ।

अमेरिकाको युद्ध वा शान्तिका गतिविधि, अनि हतियार बजार, साउदी अरब, ईजरायल, भारत, चीन, ताईवान, कोरिया तथा जापान सरोकार, एशिया–प्रशान्त क्षेत्रका जटिलता आदि विविध कारणले अमेरिकाका लागि एशिया महादेश पहिलो महत्वको स्थानमा नै छ । साथै इराक, अफगानिस्तान, सिरिया, धेरैअघि भियतनाम, कोरिया आदि मुलुकमा भएका अमेरिकाका धेरैजसो युद्ध वा सैन्य द्वन्द्व एशियामै भए । पहिलो र दोस्रो आणविक बम एशियामै खसाएको र प्रतिष्पर्धी महाशक्तिको रुपमा चीनको उदय वा मुसलमानप्रतिको दृष्टिकोण आदि विविध कारणले एशियालीहरूका प्रति नयाँ अमेरिकी राष्ट्रपतिको नीतिबाट नेपालीहरूमा पनि उल्लेख्य प्रभाव पर्नेगर्छ ।

वास्तवमा अमेरिका महाशक्ति भएको प्रमाणित गरीदिने भूमि नै एशिया महादेश हो । अमेरिकामा बसोबास गर्ने र मताधिकार पाइसेकका नेपालीहरूमध्ये अधिकांश डेमोक्रेटिक पार्टीका समर्थक वा मतदाता छन् ।

यो २०२० को नोभेम्बर महिनामा राष्ट्रपति चुनाव हुनेछ, निर्वाचनको तिथि कसैले तोक्नु पर्दैन, पहिले नै तोकिसकिएको छ । सन् १८४५ को घोषणाले हरेक ४ वर्षमा आउने नोभेम्बर महिनाको १ तारिकपछि पर्ने पहिलो मंगलबार राष्ट्रपति निर्वाचन दिवस हुन्छ । अप्रत्यक्ष पद्धतिबाट हुने यस निर्वाचनमा मतदाताहरूले उम्मेद्वारलाई सोझै मत दिँदैनन्, तिनीहरूले ५ सय ३८ जना निर्वाचित मत (ईलेक्टोरल भोट) लाई मत दिन्छन् ।

५३८ निर्वाचित मतमध्ये जुन उम्मेद्वारले कम्तिमा २७० (५१ प्रतिशत) मत हासिल गर्छ उ महाशक्तिको सर्वेसर्वा (राष्ट्रपति) निर्वाचित हुन्छ । अमेरिकी इतिहासमा ५९ औँपटक हुनलागेको यसपालीको राष्ट्रपतीय निर्वाचनमा केही मौलिक र रोचक विशेषता पनि देख्न पाइँदैछ । निर्वाचन ५९ औँ पटकको भए पनि निर्वाचित हुने राष्ट्रपति ४६ औँ र उपराष्ट्रपति ४९ औँ हुनेछन् । कतिपय राष्ट्रपतिहरू मृत्यु वा अन्य कारणले पदबाट हट्नु परेको कारणले यसो हुन गएको हो ।

बहालवाला राष्ट्रपतिको पार्टीले आफ्नो राष्ट्रपतिलाई दोस्रोपटक निर्वाचन लड्ने निर्विरोध मौका दिने नियमअनुरुप राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो निर्वाचनमा उम्मेद्वार हुन पार्टीभित्रको छनौटको लोकतान्त्रिक प्रक्रियामा जानु पर्दैन । त्यसैले यसपाली रिपब्लिकन पार्टीका उम्मेद्वार राष्ट्रपति ट्रम्पको विरुद्ध निर्वाचन अभियानमा डेमोक्रेटिक पार्टीबाट बराक ओबामाको कार्यकालका उपराष्ट्रपति जो बाईडेन, भर्मोन्टका पूर्वसिनेटर बर्नी स्यान्डर्स्, ‘राष्ट्रपतिको कुर्सी किन्न आएको’ भनी आलोचनामा परेका ७७ वर्षे खर्बपति तथा न्युयोर्कका पूर्वमेयर माईकेल ब्लुम्बर्ग, ३८ वर्षे समलिंगी, साउथ बेण्ड (इन्डियाना) का पूर्वमेयर पेटे बटीगेग, ३८ वर्षीया हिन्दु धर्मावलम्बी तथा ईराक र कुवेतमा तैनाथ रहेर काम गरिसकेकी पूर्वसुरक्षाकर्मी तुल्सी गब्बार्ड र मिनेसोटाकी पहिलो पूर्वसिनेटर तथा कानून व्यवसायी ५९ वर्षे एमी क्लोबुचर निर्वाचन अभियानमा उम्मेद्वारका रुपमा अगाडि आईरहेका छन् ।

यो राष्ट्रपतीय निर्वाचनमा अर्बौँ चन्दाको खेल पनि हुनेगर्छ । यस अभियानका सबभन्दा धनि प्रतिष्पर्धी ब्लुम्बर्ग नै हुन् ।

हालसम्मको सबै खर्च उनले आफ्नै खल्तीबाट निकालेर बगाईरहेका छन् । सन् १९२० (वि.सं. १९७७) मा मात्र महिलाहरूले मताधिकार पाएको अमेरिकामा डेमोक्रेटिक पार्टीबाट यसपालीको निर्वाचन अभियानमा ३ महिला प्रतिष्पर्धी छन् ।

७७ वर्षे पूर्वउपराष्ट्रपति तथा डेलाबरका पूर्वसिनेटर बाईडेन सबैभन्दा अनुभवी राजनीतिज्ञ मानिन्छन् । तर उनलाई ह्वाईट हाउसमा बस्ने पदाधिकारी हुने पहिलो सम्भावना (१९८७) बाट कृति चोरीको काण्डले निषेध गरेको थियो ।

सबै उम्मेद्वारमध्ये सबभन्दा जेठा, ७८ वर्षीय बर्नी स्यान्डसर् स्वघोषित लोकतान्त्रिक समाजवादी भनी चिनिन रुचाउँछन् । तर उनको समाजवाद पूँजीवादको विसर्जन गर्ने माक्र्सवादसँग आबद्ध नभएर “त्यस्तो अर्थतन्त्र जसले धनिमानीको पक्षमा मात्र होइन सबैको हितमा काम गर्छ” भन्ने स्केन्डेनेभियन (स्वेडेन) मूलुकको जस्तो भनी प्रष्ट पार्दछन् ।

यसअघिको चुनाबमा पनि उम्मेद्वार भएका बर्नी स्यान्डसर््ले हिलारी क्लिन्टनसँग सामना गर्नुपरेको थियो । स्यान्डसर््को पक्षमा नेपालीहरूका साथै निम्नमध्यम र कामदार तहमा विशेष आकर्षण रहेको पाईन्छ ।
अवैध रुपमा बसोबास गरेका आप्रवासीहरूमध्ये ट्र्याक रेकर्ड खराब देखिएका बाहेक उनीहरूलाई आएको मूलुकतिरै नफर्काउने, बरू नागरिकताको वैधानिक प्रक्रियामा लगाइदिने नीतिका अतिरिक्त बाल आप्रवासलाई वैधानिक बाटो दिने र अमेरिकी नागरिक भइसकेकाहरूका बाबुआमाहरूको आगमनलाई सहज र उदार नीति लिने आदि कुराले आप्रवासीहरू डेमोक्रेटिक पार्टीका समर्थक भएका हुन् ।

उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले मुसलमानहरूलाई र आतंककारी पृष्ठभूमि भएको मुलुकबाट आएकाहरूलाई अमेरिका प्रवेश गर्न रोक लगाएको, अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउन थालेको, अवैध रुपमा अमेरिकामा बसोबास गरिरहेका आप्रवासीलाई फर्काउन ‘डिपोर्टेसन फोर्स्’ गठन गर्ने नीति लिएकोले आप्रवासीहरूको सानो संख्यामात्र राष्ट्रपति ट्रम्पको पक्षमा छ ।
आफ्ना कुरा राख्ने क्रममा व्यक्तिगत आलोचना र ओठे जवाफका कुरा विकसित मुलुकका नेताहरूको मुखबाट पनि निस्कने गर्छ । जस्तो कि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले विदेशमन्त्री भएकै बेला हिलारी क्लिन्टनलाई ‘पागलखानाकी नर्सजस्तीले अमेरिकालाई कसरी नेतृत्व दिन सक्छिन्’ भनेर खैलाबैला मच्चाईदिएका थिए । जोन्सनले नै जर्मनीका चान्सलर एङ्गेला मर्केललाई ‘नाजीका सन्तान’ भनिदिएको कुरा अहिले पनि चर्चित छ ।

यसअघिको निर्वाचनमा हिलारी क्लिन्टनले ट्रम्पलाई ‘इस्लामिक स्टेटको भर्ती खोल्न लागेको’ जस्ता शब्दावलीले आलोचना गर्नु, ट्रम्पकी पत्नी मेलेनियाले रिपब्लिकन पार्टी महाधिवेशनमा दिएको भाषण बराकपत्नी मिशेल ओबामाको भाषणबाट हुबहु चोरेको दोष लगाउनु र श्रीमती ट्रम्पको त्यो भाषण मस्यौदा गर्ने लेखकले भूलस्वीकार गर्दै क्षमायाचना गर्नुजस्ता काण्डले त्यहाँका राजनीतिक वाद विवादको स्तरलाई देखाउने गरेका छन् । हालै राष्ट्रपति ट्रम्पले अमेरिकी संसदमा दिएको राष्ट्रका नाममा सम्वोधन (स्टेट अफ द युनियन) को कागज प्रति टीभी क्यामेराले देख्नेगरी कांग्रेसकी अध्यक्ष नेन्सी पेलोसीले ध्वारध्वार च्यातेर रद्दीको टोकरीमा मिल्काएको र सोही दिन नेन्सीले राष्ट्रपति ट्रम्पसँग हात मिलाउन दिँदा ट्रम्पले उपेक्षा गरेको जस्ता दृश्य जगजाहेर भएको थियो ।

अमेरिकी राष्ट्रपतिको निर्वाचन मिति नोभेम्बर ३ तारिखमा हुने र सपथचाहिँ त्यसको ३ महिनापछि २०२१ को जनबरी २० का दिन हुने परम्परागत क्यालेण्डर नै छ । सपथग्रहण समारोह निकै खर्चालु हुन्छ । सपथग्रहण हेर्न रकम तिरेर टिकट लिएर प्रवेश गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?