चिनियाँ राष्ट्रपति सीले विल गेट्सलाई धन्यवाद दिँदै के लेखे पत्रमा ?

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले बिल गेट्सलाई पत्र लेख्दै धन्यवाद ज्ञापन गरेको कुरा यतिखेर सञ्चार माध्ययममा चर्चाको विषय बनेको छ । चीनमा फैलिएको कोरोना भाइरस बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सह अध्यक्ष बिल गेट्सले नोभल कोरनाभाइरस डिजिजको सन्दर्भमा सहानुभूति देखाएको भन्दै राष्ट्रपति सीले उनलाई धन्यबाद ज्ञापन गरेका हुन् ।

गत फेब्रुअरी ६ मा गेट्सले पत्राचार गर्दै चीनमा नराम्ररी फैलिएको कोरोना भाइरसविरुद्ध आपतकालीन सहयोगका रुपमा १ सय मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले चीनको इपिडिमोलोजिकल अनुसन्धान, आपतकालीन हस्तक्षेप र औषधि र भ्याक्सिनको उत्पादन लगायतका क्षेत्रमा खर्च गर्नका लागि उक्त रकम सहयोगी हुनसक्ने गेट्सले पत्रमा उल्लेख गरेका थिए।

त्यसैको लागि धन्यबाद दिँदै राष्ट्रपति सीले लेखेका छन्, ‘म हृदयदेखि नै बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई अहिलेको यस्तो अवस्थामा चिनियाँ नागरिकप्रति देखाएको सद्‍भावप्रति धन्यवाद प्रकट गर्दछु।’

साथै एकता र सहकार्य नै सबैभन्दा ठूलो र शक्तिशाली हतियार रहेको उल्लेख गर्दै उनले फाउन्डेसनले तत्काल सहयोग गरेकोमा धन्यवाद दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?