२५ हजार बढी नेपाली रहेको दक्षिण कोरियामा फैलियो कोरोना भाइरस

दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या बढ्दो क्रममा रहेको समाचार छ ।

शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरे । अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ । त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ ।

यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस सङ्क्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बताएका छन् ।
दक्षिण कोरियामा रोजगारीको सिलसिलामा २५ हजार बढी नेपाली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?