थाङ्का चित्रकलाले फेरिदिएको जीवन : ह्वीलचेयरमा बस्ने ङवाङ भरिरहेका छन् अरुको जीवनमा रङ्ग

काठमाडौं । कुनैवेला पर्यटकलाई नेपालको पाखापखेरामा डो-याउने ङवाङलाई अहिले ह्वीलचेयरले डो-याइरहेको छ ।

कसले सोचेको थियो होला ट्रेकिङ गाइड बनेर देशविदेश घुम्ने सपना सजाएका व्यक्ति अचानक ह्वीलचेयरमा थलिन्छन् भनेर ? कम्तीमा ङवाङले चाहिँ सोचेका थिएनन् । तर, सेउला झार्न रुख चढेका ङवाङ आफै भुइँमा बजारिएपछि उनको खुट्टा सँगसँगै पूरै जीवन नै ठप्प भइदियो । घटना आजभन्दा करिब २ दशक अघिको हो ।

सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकास्थित सगरमाथाको काखमा जन्मे हुर्केका ङवाङ छिरिङ शेर्पा आफ्ना बाबुबाजेको पदचाप पछ्याउँदै पर्यटकहरुलाई नेपालका उकाली, ओराली डो-याउन चाहन्थे । उनले ट्रेकिङ गाइडको काम शुरु पनि गरिसकेका थिए । जीवन रमाइलो थियो । हरेक दिन नयाँनयाँ देशका नयाँनयाँ व्यक्तिसँग भेट्नु, घुम्नु, घुमाउनु उनको दिनचर्या थियो ।

तर, अचानक उनको जीवनले नमीठो मोड लियो । उनी रुखबाट लडे । २० वर्षका थिए ङवाङ त्यसवेला ।

मेरुदण्डमा समस्या आएर हिँड्न नसक्ने भएपछि केही समय निकै गाह्रो भयो ङवाङका लागि । सबैकुरा शून्यबाट शुरु गर्नुपर्ने भयो ।

जन्मिदै शारीरिक अशक्तता भएका मानिसलाई भन्दा दुर्घटना पछि अशक्त भएका मानिसलाई जीवन जिउन निकै गाह्रो हुने बताउँछन् उनी । ‘बरु जन्मिदै हिँड्न नसक्ने भएको भए त्यसरी नै बाँच्ने बानी पथ्र्यो होला तर, मलाई साह्रै गाह्रो भयो,’ उनी आफ्नो अनुभव सुनाउँछन् ।

‘आफू अरुजस्तो नभएको, जीवन नै सकिएको जस्तो लाग्थ्यो,’ ङवाङ थप्छन् ।

उनको यो अस्पष्टतालाई चिर्न मद्दत ग-यो पुनस्र्थापना केन्द्रले ।

दुर्घटनापछि केही समय पुनस्र्थापना केन्द्रमा बिताएका उनले त्यहाँ आफूजस्तै व्यक्तिहरुसँग संगत गर्ने अवसर पाए । सबैका आआफ्नै कथा थिए । सबैको जीवन उनैकोजस्तो अवस्थामा अड्किरहेको थियो । एउटाको कथाले अर्कोलाई हौसला दियो ।

‘त्यहाँ मैले धेरै कुरा सिकें,’ ङवाङ त्यो समय स्मरण गर्छन्, ‘मान्छेले सास रहुन्जेल जेजस्तो अवस्थामा पनि बाँच्नुपर्ने रहेछ भन्ने थाहा पाएँ ।’

त्यहाँबाट फर्किसकेपछि उनले परिवारको साथ पाए । विवाह पनि आफूले मनपराएको मान्छेसँगै भयो । आफूले जीवनमा हरेस नखानुको कारण यही माया र साथ भएको बताउँछन् उनी ।

‘पुनस्र्थापना केन्द्रमा मसँगै भएका धेरैजना साथी त्यहाँबाट निस्कएपछि माया र साथ नपाएरै आत्महत्या गरेका छन्,’ उनी भावुक हुन्छन् ।
‘म आफूलाई भाग्यमानी मान्छु किनकी यही घटनापछि नै अहिलेकी मेरी श्रमितीलाई मैले भेटेको हुँ, उनले मलाई जेजस्तो छु त्यही अवस्थामा स्वीकारिन्,’ यसो भन्दै गर्दा उनको मुहारबाट भावुकताका धर्साहरु मेटिँदै गए ।

जीवन फेरि सामान्य बन्दै गयो । जीवनको सकारात्मक पक्ष केलाउँदै गए ङवाङले ।

ह्वीलचेयरबाटै गर्न सकिने कामको बारेमा अध्ययन गर्दा ङवाङको जीवनसँग थाङ्का चित्रकला जोडिन पुग्यो । करिब ५ वर्ष थाङ्का चित्रकलाको प्रशिक्षण लिइसकेपछि उनले यो कला आफूसँग मात्र सीमित राखेनन् ।

थाङ्कालाई पेशा मात्र होइन ‘प्यासन’को रुपमा लिने ङवाङले थाङ्काले आफूलाई जसरी जीवनलाई हेर्ने नयाँ दृष्टिकोण दियो आफूजस्तै अवस्थामा भएकाहरुलाई पनि जीवनलाई सुन्दर नजरियाले हेर्न प्रेरित गरोस् भन्ने अभिप्रायले थाङ्का चित्र बनाउने प्रशिक्षण दिन शुरु गरे ।

अहिले ३६ जना विद्यार्थीहरु उनकै प्रशिक्षणमा थाङ्का चित्र कोर्न सिकिरहेका छन् । उनीहरु अन्जान छन् कि जसरी उनीहरु क्यानभासमा रंङ भरिरहेका छन् त्यसैगरी कलाले उनीहरुको जीवनमा पनि रंग भरिरहेको छ ।

समयमा उपचार पाएको भए खुट्टालाई केही नहुने थियो कि ? कहिलेकाहीँ यस प्रश्नले ङवाङलाई सोचमग्न बनाउँछ । तर, आज आफू जे हो त्यो सबै त्यही घटनाको परिणाम भएको बताउँछन् उनी ।

‘दुर्घटना नभइदिएको भए आफ्नै बारेमा मात्र सोच्थें होला तर, अहिले अरुका बारेमा पनि सोच्ने भएको छु’ ङवाङ यही भन्दै चित्त बुझाउँछन् ।

ङवाङ शेर्पाको जीवनकथा समेटेर लोकपथले तयार पारेको भिडियो हेर्न लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?