डोनाल्ड ट्रम्प भारत आउँदा नेपाललाई के हुने ?

लोकपथ विदेश ब्युरो
ट्रम्प प्रशासनकै पालामा नेपालले अमेरिकाबाट एकैचोटी ५५ अर्ब रुपैयाभन्दा बढीको पूर्वाधार सहायता पाउने ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ (एमसीसी) उपर ६ जना प्रधानमन्त्री र ११ औँ चरण पार गरी संसदबाट पारित हुने बेलामा अनेकौँ आक्षेप, अतिशयोक्ति, प्रपोगण्डा र भ्रमले पराकाष्ठा लिएको अवस्थामा ट्रम्प भारत आउन लागेका छन् । एमसीसीलाई लिएर नेपालको उच्च तहमा चलिरहेका तल्लोस्तरका प्रचारवाजी र गतिविधिलाई लिएर अमेरिकीहरू ‘यो नेपालीहरूको स्वचालित होइन सञ्चालित गतिविधि र बोली हो’ भन्ने निष्कर्षमा पुगेका छन् । भ्रमणको क्रममा राष्ट्रपति ट्रम्पले आफ्ना भनाईको पेट बोलीमा नेपालबारे एक वाक्यमात्र बोलेभने पनि त्यसले नयाँ हलचल ल्याउने निर्विवाद छ । साथै इन्डो–प्यासिफिक स्ट्रेटेजीलाई एमसीसीको अभिन्न अंगका रुपमा देख्ने यहाँका मुखर आवाजवालाहरूको जवाफमा उनले अमेरिकी सरकारको नवीन भनाई प्रकट गर्न सक्छन् ।

जसरी नेपाल र चीनबीच सुपुर्दगी सन्धीलाई एक अमेरिकी सिनेटरको दबाबमूलक पत्रले रोकेको थियो, त्यसको जवाफमा चिनिया राष्ट्रपति सि जिनपिङले गत असोजमा काठमाडौँबाट अमेरिकालाई ईंगित गर्दै “यदि चीनको भौगोलिक अखण्डतालाई टुक्राउने नियत कसैले लिएको छ भने त्यस्तालाई धुलोपिठो पार्न हामी सक्षम छौँ” भन्ने कडा शब्द बोलेका थिए । त्यसैगरी पूर्वानुमान गर्न नसकिने राष्ट्रपति ट्रम्पले चीनलाई त्यस्तै ब्यहोराको कडा जवाफ नदेलान भन्न सकिन्न । किनभने एमसीसीलाई लिएर काठमाडौँमा चर्को आवाज र बेईजिङमा सुनसान भए पनि काठमाडौँलाई होइन बेईजिङलाई बढी बिझाइरहेको छ र घोचेको वा पोलेको सो अनुभूतिलाई व्यक्त गरिदिने सरोगेट बोली नेपाली मुखबाट निस्केको हो भन्ने उनीहरूलाई हेक्का छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भर्खरै महाअभियोगबाट मुक्त भएको मानसिकताका साथ भारतको दुईदिने ‘रणनीतिक यात्रा’ को रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश, गुजरातको अहमदावादबाट फागुन १२ र १३ गते भ्रमण गर्दैछन् । ‘रणनीतिक यात्रा’ यसकारण भनिएको हो, यो उनको चुनावी वर्षको कुटनीतिक गतिविधि अन्तर्गत पर्ने भ्रमण हो र अमेरिकामा बसोबास गर्ने ४० लाख भारतीय मूलका अमेरिकीहरूलाई आफ्नो चुनाब अनुकूल बनाउने रणनीति यसमा नहोला भन्न सकिदैन । अमेरिकामा भारतीयहरूलाई ‘एशियन ईन्डियन’ भनिन्छ, किनभने इन्डियन मात्रै भनियो भने त्यसको अर्थले त्यहीँका रैथाने रेड इन्डियनलाई बुझिन्छ ।

भारतीय राज्य गुजरातको अहमदावादमा यतिखेर राष्ट्रपति ट्रम्पको भ्रमणलाई भव्य बनाउन भ्याईनभ्याई छ । चारवटा कार्गो जेटले ल्याएका सञ्चार लगायतका अत्याधुनिक उपकरण, सवारी साधन, सुरक्षाका हातहतियार तथा गोलीगठ्ठा आदि अनेकौँ सामानको ओइरो लागिरहेको छ । अहमदावादका उच्चस्तरीय होटेलहरूमा अमेरिकी सरकारको प्रशासनिक, सुरक्षा र जासुस निकायका अधिकारी र स्टाफहरू टन्नै बसेका छन् । राष्ट्रपति ट्रम्पसँग अन्य सातवटा जेट सँगै आउने छन् । त्यसबाहेक विभिन्न हेलिकप्टरहरू, ड्रोनहरू धेरै छन् । उड्ने साधन नै कम्तिमा २० भन्दा ज्यादा छन् ।

उता मोदीको गुजरात सरकार अहमदावादमा राष्ट्रपति ट्रम्प र भारतीय प्र.म. मोदीको २२ किलोमिटर लामो रोड सोको क्रममा बाटोमा पर्ने आठसय गरिब परिवारका झोपडपट्टी ढाकछोप गर्न डेडसय डकर्मीलाई चौबिसै घन्टा काम लगाएर रातारात सात मिटर अग्लो र करिब आधाकिलोमिटर लामो पक्की पर्खाल लगाउन व्यस्त छ । मोदीको ‘गरिबी हटाओ’ नारालाई व्यंग्य गर्दै विरोधीहरू ‘गरिबी छुपाओ’ भन्दैछन् ।

यसकारण पनि ट्रम्पको यो रणनीतिक यात्रा हो, जुन बेला भारतले जम्मु–कश्मीरसम्बन्धमा संविधानको धारा ३७० खारेज गरेर त्यहाँ संकटकालीन स्थितिको ब्यवहार अपनाईरहेको छ । बन्द व्यवसाय ठप्प छ र स्थिति तनावपूर्ण छ । राष्ट्रपति ट्रम्पले यस समस्यामा भारत र पाकिस्तानबीच मध्यस्थता गरी समाधानको लागि प्रयास गर्न आफू तत्पर भएको घोषणा गरिदिएकै हुन् । यसले भारतीय संस्थापनलाई घोच्ने–पोल्ने काम गरेको छ । यस भ्रमणमा पनि उनले जम्मु–कश्मीर मामिलामा केही बोलिदेलान भन्ने सन्देहको चिसो पसेको बुझ्न सकिन्छ । त्यसैले उनी यसबारेमा नबोलुन् भन्ने लक्ष्यले परिस्थिति बनाउने रणनीति अदृश्य रुपमा चलिरहेको छ । राष्ट्रपति ट्रम्पले मध्यस्थता गर्न देखाएको तत्परता पाकिस्तानी प्रधानमन्त्री इमरान खाँको प्रस्ताव हो भन्ने भारतीय अधिकारीहरूको बुझाई छ ।

रणनीतिक यात्रा यसकारण पनि कि अमेरिकी अर्थतन्त्र वर्तमानमा राम्रो अवस्थामा छ । रोजगारीमा बृद्धि भईरहेको छ । उनी आगामी निर्वाचन जित्ने आत्मविश्वास बढाउन भारतजस्तो महत्वपूर्ण मुलुकको भ्रमण गर्दैछन् । अमेरिकाको भारतमा निर्यात परिमाण निरन्तर बृद्धि भईरहेको छ । भारतीय कम्पनीहरूले अमेरिकामा १६ अर्ब डलर लगानी गरेका र १ लाख १६ हजार रोजगारी सृजना गरेका छन् । विगत २ वर्षयता भारतले अमेरिकासँग वर्षेनी करिब २० लाख टन कच्चा तेल किनिरहेको छ र यसको परिमाण बढ्ने सम्भावनामा छ । ऊर्जा सहयोगमा पनि दुवै मुलुकको पारस्परिक सहयोग बढ्दैजाने प्रायः निश्चित छ ।
चीन कोरोना भाईरसले आच्छुआच्छु पारेको र करिब २ हजारको ज्यान लिएको परिवेशमा राष्ट्रपति ट्रम्पको भारत भ्रमण हुँदैछ, जुन संकटले चीनको अर्थतन्त्रमा ठूलै धक्का पु¥याएको देखिन्छ । चीनसँगको चौतर्फी डिलिङ् र व्यापार युद्धमा ट्रम्पले चीनलाई पछि हट्न वाध्य बनाएका छन् । अफगानिस्तानको तालिबानी समुहसँग शान्तिउन्मुख विन्दुमा पुग्ने अमेरिका र तालिबान बीचको बढ्दो समझदारी ईरानविरुद्ध अमेरिकाको कडा रबैयालाई अझ कस्ने रणनीतिको अंग होइन कसैले भन्न सक्दैन । यसबाट ईरानसँग राम्रो सम्बन्ध भएको भारतलाई सन्तुलनमा राखेर ईरानलाई ठेगान लगाउने अमेरिकी रणनीतिको प्रयोजनमा पनि ट्रम्पको भ्रमण लक्षित देखिन्छ ।

यही जनवरीमा अमेरिकी कांग्रेस (प्रतिनिधिसभा) ले तिब्बत नीतिबारे एक प्रस्ताब पारित गरेको छ । हुन त यो प्रस्ताब राष्ट्रपतिकहाँ पुग्नु अगाडि सिनेटबाट पारित हुन बाँकी नै छ । प्रस्तावअनुसार निकट भविष्यमा हुनलागेको दलाई लामाको उत्तराधिकारी चयनमा चिनियाहरूले हस्तक्षेप गरे वा वाधा–व्यवधान तेर्साए भने अमेरिकाले चिनिया अधिकारीबिरुद्ध निषेधको कदम चलाउने कटिबद्धता लिएको छ । भारतमा रहेको अरुणाञ्चल प्रदेशलाई चीनले तिब्बतको अभिन्न अंगको रुपमा दावी गरिरहेको विषय भारतको लागि आपत्तीजनक मानिएको छ । त्यसकारण तिब्बत नीतिबारे पनि राष्ट्रपति ट्रम्पले केही नयाँ बोल्न सक्छन् ।

दिल्ली लगायत चारवटा राज्य विधानसभाका निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले निर्वाचन हारेको पृष्ठभूमिका साथै नागरिकता संशोधन ऐन (सीएम्ए) लागु गरेर चारैतिर विरोधको स्वर उर्लिरहेको अवस्थामा यो भ्रमण हुनलागेकोले पनि यसको रणनीतिक महत्व र भ्रमणले भारतीय संस्थापनलाई ‘दर्दनिवारक तेल’ को प्रयोजनमा लिईने कुराले यसको रणनीतिक वजन बढी भएको भन्न सकिने भएको छ । (समाचार एजेन्सीहरूको आधारमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?