बागलुङमा जिल्ला अदालतको आफ्नै भवन

गलकोट । जिल्ला अदालत बागलुङको सुविधासम्पन्न भवन बागलुङ नगरपालिका–२ रुद्रेपिपलमा निर्माण सम्पन्न भएकोे छ । यसअघि जिल्ला अदालतले भाडाको घरबाट न्याय सम्पादन गर्दै आएको थियो ।

आठ करोड ४० लाख रुपैयाँ को लागतमा साढे दुई तलाको सुविधासम्पन्न भवन निर्माण गरिएको जिल्ला अदालतका लेखापाल खगराज पौडेलले जानकारी दिए । १० करोड ४० लाख रुपैयाँको लागत अनुमान भए पनि लिफ्ट सेवा हटाउँदा लागत कम भएको उनले बताए। सुविधासम्पन्न भवनबाट न्याय प्रदान गर्न निकै सहज भएको जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले बताए । “साँघुरो भवन, सेवा प्रदान गर्न निकै सकस थियो”, उनले बने, “भवन अभावकै कारण विषयगत फाँटसमेत राख्न सकिएको थिएन, नयाँ भवनमा सरेसँगै निकै सहज भएको छ ।”

विसं २०७२ फागुनदेखि निर्माण शुरु भएको भवन सम्झौताभन्दा केही ढिला सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । साढे दुईतले भवनमा लिफ्ट सेवा राखिएपछि विवाद उत्पन्न भएकाले निर्माणमा ढिलाइ भएको भवन निर्माणको जिम्मा पाएको समानान्तर बीएन जेबीका प्रोपाइटर नारायण जिसीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?