आज चौँथो निर्वाचन दिवस, आयोग कार्यालय कान्तिपथमा विशेष कार्यक्रम हुँदै

काठमाडौं – निर्वाचन आयोगले आज चौँथो निर्वाचन दिवस मनाउँदैछ । दिवसका अवसरमा आयोगले कान्तिपथस्थित मुख्यालयमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यसैबीच आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफूले इच्छाएको उम्मेद्वारलाई मत दिन सक्षम बनाउने उद्देश्यले चौँथो निर्वाचन दिवसका अवसरमा अभियान समेत शुरु गरिएको छ ।

उक्त कार्यक्रममा आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, ९२०७६/०७७–२०८०/०८१०, निर्वाचन स्मारिका– २०७६ र निर्वाचन न्याय, स्रोत पुस्तिका–२०७६ को लोकार्पण हुनेछ ।

विसं २०१५ को संसदीय आम निर्वाचन प्रारम्भ भएको फागुन ७ को दिनलाई २०७३ सालदेखि निर्वाचन दिवसका रुपमा मनाउन शुरु गरिएको हो । उक्त निर्वाचन पहिलो बालिगमताधिकारका आधारमा भएको आम निर्वाचन थियो ।

निर्वाचन दिवसका अवसरमा आयोग र अन्तर्गत कार्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

“स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचन” विषयमा फागुन ७ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट परिसंवाद प्रसारण गरिनेछ ।

निर्वाचन दिवसका अवसरमा आयोगले मङ्गलबार वृक्षरोपण तथा सरसफाइ, खेलकुद कार्यक्रम र नेपाल रेडक्रस सोसाइटीको समन्वय र सहयोगमा रक्तदानका साथै निर्वाचन तथा मतदाता शिक्षा हाते पुस्तिका प्रकाशित गर्ने जनाएको छ ।

नेपालको संविधानको भाग २४ धारा २४५ संवैधानिक अङ्गका रुपमा निर्वाचन आयोगसम्बन्धी व्यवस्था रहेको छ । आयोगमा प्रमुख निर्वाचन आयुक्त र अन्य चार जना आयुक्त रहने संवैधानिक व्यवस्था छ । आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलिया हुनुहुन्छ ।

जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरू, जिल्ला सदरमुकामस्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज र पत्रकारलगायतको उपस्थितिमा आयोगले ‘निर्वाचनमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्नेछ । आयोगका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय छन् ।

यसवर्ष आयोगले स्थानीय तहका रिक्त पद र राष्ट्रियसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?