म्याग्दी । म्याग्दीको मङ्गला र मालिका गाउँपालिको सिमानामा पर्ने दुखुखोलामा मोटर चल्ने र मङ्गला–२ को भाइवाङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । दुवै पुलको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलामा रु दुई करोड छ लाखको लागतमा २० मिटर लम्बाइ र छ मिटर चौडाइ भएको मोटर चल्ने पुल निर्माण भएको इञ्जिनीयर सन्तोष अर्यालले बताए।
पुल बनेपछि खोलाबाट सवारी साधन तार्नुपर्ने समस्या हटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। बर्खायाममा सवारी आवतजावत अवरुद्ध हुने समस्या हटेको अध्यक्ष रोकाले बताए। बेनीदेखि बाबियाचौरसम्म र लाम्पाटादेखि दरवाङ दुई खण्डमा कालोपत्रको तयारी भएको पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताए। दरवाङदेखि ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत पहिलो चरणमा दरवाङदेखि सात किलोमिटर ग्राभेल गर्न ठेक्का प्रक्रिया अघि बढाएको बताए ।
दुई वर्षअघि शुरु भएको बेनीदेखि बाबियाचौरसम्मको सडकको हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ । गत जेठमा ठेक्का लागेको लाम्पाटादेखि दरवाङ खण्डको स्तरोन्नतिको २० प्रतिशत भौतिक प्रगति भएको छ । यसैगरी मङ्गला गाउँपालिका–२ को काफलचौर र कोत्रवाङको सिमानामा पर्ने भाइवाङखोलामा रु ४७ लाख ८८ हजार ४६० को लागतमा १०४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुलबाट कोक्रवाङ, भाइजाङ, ¥यालेखोर, कुहुँ, भरजुला, भाइवाङका १४३ घरधुरीका ८५८ जनसङ्ख्या लाभान्वित भएका गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।
मन्त्री बस्नेतले सोमबार नै मङ्गला गाउँपालिका–२ सिमलचौर र ३ पखरेको सिमानामा पर्ने लुलियाघाटस्थित म्याग्दी खोलामाथि पूर्वाधार विकास कार्यालयले बनाउन लागेको झोलुङ्गे पुलको शिलान्यास गरे। मन्त्री बस्नेतले विकास आयोजनामा गुणस्तरहीन काम र ढिलासुस्ती सह्य नहुने बताए । सरकारले समयमै पर्याप्त बजेटको व्यवस्थापन गरेको बताउँदै विकास आयोजनामा उत्पन्न हुने सामाजिक समस्या समाधानका लागि स्थानीय तह र जिल्लास्तरबाट समन्वय हुनुपर्ने उनले बताए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया