काठमाडौँ । जिल्ला अदालत काठमाडौँको फैसलापछि सोमबार निवर्तमान सभामुख कृष्णबहादुर महरा रिहा भएका छन् । उनलाई अदालतले निर्दोष सावित गरेपछि रिहा भएका हुन् ।
कतिपयले एमसीसी पास पर्न आनाकानी गरेका कारण महरालाई फसाइएको दावी गर्दै आएका छन् । तर यसबारे कुनै तथ्यगत प्रमाण पाइँदैन । आज महरा रिहा हुँदा पनि धेरैले सामाजिक सञ्जालमा एमसीसीसँग जोडेर टिप्पणी गरेका छन् ।
यस्तै टिप्पणीका बीच महराले आज जारी गरेको विज्ञप्तिमा पनि राष्टिय स्वाधीनताको विषय उठान गरेका छन् ।
‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ’ महराको विज्ञप्तिमा भनिएको छ ।
उनको यो भनाइले कतै एमसीसी पास गर्न महरामाथि कडा दवाव त थिएन ? या यही विषयको पार लगाउन उनलाई सभामुखबाट हटाउने प्रपञ्च त थिएन? अहिले नै भन्ने अवस्था छैन तर महराले विज्ञप्तिले प्रश्न भने जन्माएको छ ।
महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको पनि बताएका छन् । उनले मुद्दा जितेपछि भनेको छन्, ‘सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया