महराको स्वागतका लागि नेकपाका नेता कार्यकर्ता कारागार पुगे, डिल्लीबजारमा भीड

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको स्वागतका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कार्यकर्ता, आफन्त तथा शुभेच्छुक डिल्लीबजार पुगेका कारण दिल्लीबजार कारागार परिसरमा निकै भीडभाड बढेको छ ।

हातमा खादा र मालासहित उनीहरु डिल्लीबजार पुगेर महरा हिरासतबाट रिहा हुने समय कुर्दै बसिरहेका छन् । अदालत सञ्चारकर्मीमाझ एक शब्द पनि प्रतिक्रिया नदिएका महरा आफ्ना समर्थक र आफन्ततिर फर्किएर मुस्कुराएका थिए ।

थुनामा गएको ३ महिना १३ दिनपछि जबरजस्ती करणी उद्योगको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका हुन् ।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा ३ ङ मा १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई जबर्जस्ती करणी गरे सात वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ ।

उनी सार्वजनिक ओहोदामा रहेर कसुर गरेको भन्दै सरकारी वकिलले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा १५ ङ बमोजिम थप सजायको माग पनि गरेको थियो । यस व्यवस्थाअनुसार महरालाई ५० प्रतिशत थप सजायको मागसहित सरकारी वकिलले मुद्दा दर्ता गरेको थियो । हिजो हुने भनिएको फैसला आजका लागि सारिएको थियो ।

सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।

भएको के थियो ?

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेपछि गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए महरा ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर उनलाई पक्रेको थियो । एक सञ्चारमाध्यममार्फत रोशनी शाहीले आफूलाई महराले यौन दुव्र्यवहार गरेको भन्दै अन्तर्वाता दिएपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्नुपर्ने माग राख्दै राजधानीमा प्रदर्शन समेत भएको थियो ।

यसपछि गत असोज १९ गते उनलाई पक्राउ गरिएको हो । महराले असोज १२ गते सादा पोशाकमा रहेका नेपाल प्रहरीका हवल्दार बिष्णुबहादुर थापा, नेपाली सेनाका जमदार काजीमान राना मगर र चालक सहायक प्रहरी हवल्दार श्यामहरि आचार्यलाई लिएर पीडित महिलाको कोठामा पुगेको खुलेको प्रहरीले बयान दिएका थिए।

त्यस्तै अन्य भौतिक प्रमाणले महरा पीडित महिलाको कोठामा गएको पुष्टि गरेपछि जिल्ला अदालतले कात्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो।

महराले आजको दिनसम्म १ सय ३ दिन डिल्लीबजार कारागारमा बिताइसकेका छन्। अदालतले सफाइ दिएसँगै उनी मुस्कुराउँदै अदालत परिसरबाट कारागार गएका छन् । केहिबेरमा उनी रिहा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?