तरकारीदेखि गेडागुडीसम्मको मूल्यवृद्धि

खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८.२४ प्रतिशतसम्म बढेको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ ।

प्रतिवेदनअनुसार गत पुसमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल, गेडागुडी र फलफूलको मूल्यवृद्धि उच्च थियो । मसलाको मूल्यवृद्धि दर १५.०६ प्रतिशत बढेको छ । अघिल्लो वर्षको पुससम्म यस्तो मूल्यवृद्धि २.६६ प्रतिशत मात्र थियो । दलहन र रक्सीजन्य पेय पदार्थको मूल्यवृद्धि दर १०/१० प्रतिशत बढेको छ । गत वर्षको पुसमा दलहन वस्तुको मूल्यवृद्धि दर ६.०४ प्रतिशत घटेको थियो भने र रक्सीजन्य पेयमा करिब १२ प्रतिशत बढेको थियो । यस वर्ष समग्र मूल्यवृद्धि दर ६.८२ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो वृद्धिदर ४.५८ प्रतिशत थियो ।

भारतमा खाद्य वस्तुको मूल्य उच्च भएकाले नेपालमा पनि त्यसको असर परेको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । खडेरीका कारण पछिल्ला महिनामा भारतमा तरकारीको मूल्य अकासिएको छ । ‘नेपालको मूल्यवृद्धि आयातित हो,’ भट्टले भने, ‘यस्तो मूल्यवृद्धि नियन्त्रणका लागि आन्तरिक उत्पादन बढाउनुपर्छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?