वुहान टु खरिपाटी : कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीसँग आत्तिनुपर्दैन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को इपिसेन्टर चीनको वुहानबाट अध्ययन र कामको सिलसिलामा पुगेका १ सय ७५ जना नेपालीलाई आइतबार बिहान नेपाल ल्याइएको छ ।

आइतबार विहान ल्याइएका उनीहरुलाई त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलबाट सिधै क्वारेन्टाईन खरिपाटी पु-याइएको छ ।

उनीहरुलाई खरिपाटी पु-याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । उनीहरुलाई बोकेको गाडिलाई प्रहरीले स्कटिङ गरेर खरिपाटी पु-याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको हो ।

उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ । खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गर्नेछन् । कोरानाको शंका लागेमा काठमाडौका विभिन्न अस्पतालमा बनाइएको आइसोलेसनमा राखेर उपचार गरिने छ ।

यसैबिच चीन गएको विमानमा १ विदेशी र १ नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक थिए ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसार सबै प्रक्रिया पूरा गरेर उद्दारको लागि पठाइएको थियो । चालकदलका सबै सदस्य र चिकित्सकले स्वास्थ्यसम्बन्धी तालिम पनि लिएका थिए । भने भाइरस सङ्क्रमणबाट बच्नका लागि सुरक्षात्मक उपायहरू पनि अपनाइएको छ ।

नेपालीहरूलाई विश्वविद्यालयबाट विमानस्थलसम्म ल्याउँन बेइजिङस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेको थियो । उनीहरूलाई विश्वविद्यालयबाट सङ्क्रमण नहुने खालको मास्क र ज्याकेटआदि पोसाक प्रयोग गरेर सुरक्षित रूपमा मात्र सवारी साधनमा राखिएको थियो ।

तर केही नेपालीमा ज्वरो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रोक लगाएको समाचारमा जनाइएको छ । विमानस्थलमा रहेका नेपालीहरुका अनुसार करिब आधा दर्जनमा ज्वरो देखिएकाले विमान चढ्न रोक लगाइएको छ । विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै एयरपोर्ट पुगेको बताइएको छ । तर १८५ जना नेपालीमध्ये केहीलाई विमानस्थलमा समस्या देखिन पुगेको हो ।

यता पनि स्क्यानिङ

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि चिकित्सक, चालक दलका सदस्यहरू र वुआनबाट फर्केका सबै जनाले विमानस्थलमा स्थापना गरिएको स्वास्थ्य निगरानी कक्षमा गएर पुन तापक्रम मापन प्रक्रिया पूरा गरे पछिमात्र उनिहरुलाई विमानस्थलबाट भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा लगिएको थियो ।

यसअघि चीनस्थित नेपाली दूतावासले नेपाल ल्याउन लागिएका नेपाली नागरिकलाई क्वारेन्टाइनमा रहँदा र नेपाल लैजाने क्रममा नागरिकले पालना गर्नुपर्ने विषय लेखिएको ६ बुँदे शर्तनामा फाराम भर्न लगाएको थियो ।

इभ्याक्युसनपश्चात तपाईंहरुलाई नेपाल सरकारले तयार गरेको सुरक्षित क्वारेन्टाइन एरियामा १४ देखि १७ दिन वा सोभन्दा बढी राखिनेछ लगायतका विभिन्न बुँदाहरु राखिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा उक्त शर्तनामा भर्न लगाइएको हो ।

के हो कोरोना भाइरस ? 
जनावर तथा चराचुरुङ्गीहरुमा हुने यो भाइरसले विभिन्न जनावरमा भिन्न किसिमका रोगहरु निम्त्याउँछ : गाई तथा सुँगुरमा झाडापखाला, कुखुरामा श्वासप्रश्वास सम्बन्धि आदि ।

क्राउनजस्तो अर्थात् शिरमा लगाउने ताज जस्तो देखिने भएकाले यसको नाम ‘कोरोना’ भाइरस रहन गएको बताइन्छ । ऊँट, चमेरा, आदिजस्ता जनावरमा मात्रै पाइने यो भाइरस खासमा मानव शरीरमा सर्ने खालको होइन तर, यसको एउटा खास विशेषता हुन्छ जस अन्तर्गत यसले आफ्नो ‘जीन’ मा परिवर्तन ल्याउँछ ९यसको म्युटेसन हुन्छ० र जनावरबाट मानिसमा र मानिसबाट अन्य मानिसमा फैलिँदै जान्छ ।

सामान्यतः यो एउटा साधारण भाइरस हो तर, यसका केही प्रकारहरु निकै घातक हुन्छन् । जसले विशेष गरी श्वासप्रश्वाससँग सम्बन्धित अंगहरुमा असर पु९याउँछ । रुघाखोकी यसको सामान्य असर अन्तर्गत पर्दछ भने यसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रम र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रमजस्ता श्वासप्रश्वास सम्बन्धित प्राणघातक रोग निम्त्याउन पनि सक्छ ।

 

कहाँबाट, कसरी फैलियो महामारी  ? 
अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।

‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।

 

कसरी हुन्छ संक्रमण ? 
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने  ? 
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात  ?
खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

कोरोना प्रभावित स्थानबाट ल्याइएका नेपालीको लागि निश्चित मापदण्ड बनाइएकोले उनीहरुसँग आत्तिने, तर्सिने वा विरोध गर्नुपर्ने जरुरी देखिँदैन । सरकारले सबै मापदण्ड पूरा गरेरमात्रै उनीहरुलाई यहाँ ल्याएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?