सरकारको लापरवाहीको पराकाष्ठा : खुरुखुरु नेपाल छिर्छन् चिनियाँहरु, २ महिनामा २७ देशमा फैलियो कोरोनाको महामारी

चीनमा कोरोना भाइरसको आतंक झन्झन् भयावह बन्दै गएको छ । अहिलेसम्म यस महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४ सय ८६ पुगिसकेको छ भने ६५ हजारभन्दा बढी यस भाइरसबाट संक्रमित छन् ।

१० दिनमा एक हजार सैयाको अस्पताल निर्माण गरेर होस् या त हजारौं जनशक्तिलाई चुस्त दुरुस्त रुपमा परिचालन गरेर चीनले आफ्नो कार्यकुशलता र प्रतिरक्षात्मक प्रवृत्तिको पहिचान विश्वसामू दिएको छ ।

महामारीबाट देशलाई जोगाउन दिनरात नभनी लागिपरेको चीनलाई विश्वले प्रशंसा गरिरहेको छ, यतिवेला ।

त्यही ठाउँमा नेपालले चीनमा भएका आफ्ना जनताप्रति देखाएको असंवेदनशीलता भने घोर निन्दनीय छ । कोरोना भाइरसको प्रकोप फैलिएको २ महिना हुन लाग्दा पनि चीनमा भएका नेपालीहरुलाई घर फर्काउन सकेको छैन नेपालले । इरान, भारत, माल्दिभ्स लगायत राष्ट्रले आफ्ना जनताहरुलाई वुहानबाट फिर्ता लगिसकेका छन् ।

विशेषतः वुहान शहर जहाँ कोरोना भाइरसको उत्पति भयो त्यहाँ भएका नेपालीहरुको जीवन अत्यन्त कष्टकर बन्दै गएको छ । हालसम्म बेइजिङस्थित नेपाली दूतावासमा करिब १ सय ९० जना नेपाली विद्यार्थीले घरफिर्तीका लागि नाम टिपाइसकेका छन् । घरफिर्तीको निर्णय भएर सूचना दिएपछि पनि नेपाल वायुसेवाले भारत, बंगालादेश, म्यानमारसहितका मुलुकबाट ‘ओभरफ्लाइङ’ अनुमति लिनुपर्ने, उद्धार गरिएका नेपालीहरुलाई देश ल्याइसकेपछि कहाँ राख्ने भन्ने विषयमा टुङ्गो नलागेर आदिजस्ता प्रक्रिया पूरा गर्न समय लगाएकाले पनि विमान पठाउन विलम्ब भएको सम्बद्ध अधिकारीहरुको भनाइ छ ।

चीनमा भएका नेपाली विद्यार्थीहरुका अभिभावक बारबार सरकारको ढोका ढकढकाउन पुगेपछि बल्ल शनिवार दिउँसो नेपाल एयर लाइन्सको विमान नेपालीहरुको उद्धार गर्नका निमित्त चीन जाने भएको हो ।

कहाँ र कसरी राखिनेछ उद्धार गरिएका नेपालीलाई ?

उद्धार गर्ने जहाजमा तीनजना चालकसहित नौ जनाको टोली र चारजना स्वास्थ्यकर्मीहरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विमान चीनबाट आइतवार बिहान सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

चीनबाट ल्याइएका नेपालीलाई विमानस्थलमै कोरोना जाँच गरिने छ र यदि कसैमा त्यसको लक्षण देखिए टेकु अस्पतालको ‘आइसोलेसन’मा राखिनेछ । अन्यलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा राखिने छ । उनीहरुलाई दुई साता अभिभावकसँग पनि भेट्न नदिइ प्राधिकरणको क्वारेन्टाइनमा राखिने छ । क्वारेन्टाइनका लागि सरकारले १ सय ९९ बेडको व्यवस्था गरिसकेको छ ।

विमानस्थलमा कडाइ/देश प्रवेशमा प्रतिबन्ध

कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनका मुख्य भूभागबाट जाने यात्रुहरुलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियालीलाई कोरोना भाइरसको जोखिमबाट जोगाउन अझै केही हप्ता चीनको मुख्य भूभागबाट आउने आगन्तुकमाथि रोक लगाउन सकिने घोषणा गरेका छन् ।

त्यस्तै, अमेरिकामा पनि चीनबाट जाने यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको छ ।

अन्य देशहरुले विमानस्थलको चेकजाँचमा कडाइ देखि आफ्नो देशमा चिनियाँलाई प्रवेश निषेध गरिरहेका वेला नेपालका विमानस्थलमा चिनियाँहरु निर्वाद घुमिरहेका हुन्छन् । चीनबाट आएका कतिपय नेपालीहरुले आफ्नो विशेष चेकजाँच नभएको, चिनियाँहरुको पनि अन्य सामान्य व्यक्तिसरह जाँच गरिएको लगायतका विमानस्थलका अनुभवहरु पनि सुनाएका छन् ।

चीनबाट आउनेहरुको चेकजाँच गर्नकै निमित्त स्वास्थ्य मन्त्रालयअन्तर्गत इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेर सञ्चालनमा समेत ल्याएको थियो ।

यद्यपि, कोरोना भाइरसको सम्भावित लक्षण जाँच्न राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रियो ।

भ्रमण वर्षलाई असर

सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाएर गरेर धेरै भन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य लिएको नेपालका लागि छिमेकी राष्ट्रमा महामारी फैलिनु चुनौतीपूर्ण सावित भएको छ ।

विमानस्थलमा चीनबाट आउने पर्यटकहरुको कडा चेकजाँच नहुनुले अन्य देशबाट आउने पर्यटकलाई असुरक्षित महसुस गराउन सक्छ ।
फेरि, कोरोना भाइरसका कारण २० दिनदेखि रसुवा नाका ठप्प छ । रसुवागढी नाकाबाट मात्रै मासिक २ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने गर्थे ।
सन् २०१९ को जनवरी भन्दा यस वर्षको जनवरीमा १० प्रतिशतले पर्यटक सङ्ख्या घटेको तथ्याङ्कले पनि बताउँछ ।

२ महिनामा २७ देशमा फैलिएको महामारी

सन् २०१९ को डिसेम्बर ८ मा वुहानमा कोरोना भाइरसको लक्षण भएको पहिलो बिरामी भेटिएतापनि भाइरसको संक्रमण पहिलोपटक डिसेम्बर ३१ मा मात्रै विश्व स्वास्थ्य संगठनमा रिपोर्ट गरियो । वुहानको एउटा ‘सी फुड मार्केट’बाट शुरु भएको यो महामारीको संक्रमण अहिले २७ वटा देशमा भेटिइसकेको छ । फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, जापान, हङकङ, अमेरिका, फ्रान्स, रुस, साइबेरिया आदिजस्ता देशहरुमा यसको संक्रमण देखिएको छ । चीनका अतिरिक्त कुनकुन देशमा कतिजनामा यसको संक्रमण देखिएको छ भनेर तल दिइएको छ :

सिंगापुर ५०

हङकङ ५०

थाइल्याण्ड ३३

दक्षिण कोरिया २८

जापान २८

मलेशिया १८

ताइवान १८

जर्मनी १६

भियतनाम १६

अष्ट्रेलिया १५

अमेरिका १४

फ्रान्स ११

मकाइ १०

ब्रिटेन ९

युएई ८

क्यानडा ७

इटली ३

फिलिपिन्स ३

भारत ५

रुस २

स्पेन २

अहिले सम्म नेपाल, कम्बोडिया, बेल्जियम, फिनल्याण्ड, स्वीडेन र श्रीलंकामा १, १ जना संक्रमित पाइएको छ ।

तत्काल रोकथाम नभए विश्वका साढे ४ करोड मानिसको मृत्यु हुनसक्ने

हङकङका पब्लिक हेल्थ मेडिसिनका प्रोफेसर गेब्रियल लेउका अनुसार कोरोना भाइरसको तत्कालै रोकथाम नभए विश्वभरिबाट साढे ४ करोड मानिसको मृत्यु हुनसक्छ । यस भाइरसबाट हुने मृत्युदर १ प्रतिशतमा घट्दा पनि यति ठूलो मानवीय क्षति हुने उनले बताएका छन् ।

कसरी हुन्छ संक्रमण ?

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छ :

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने, अंकमाल गर्ने, छुने आदि)

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

लक्षण :

ज्वरो आउने

रुघा लाग्ने

सुख्खा खोकी लाग्ने

सास फेर्न गाह्रो हुने

घाँटी, टाउको तथा जिउ दुख्ने

झट्ट हेर्दा सामान्य रुघाखोकी लागेजस्तो मात्र हुने भएकाले यस रोगको पहिचान गर्न कठिन हुन्छ र संक्रमित व्यक्तिले पनि यसलाई हल्का रुपमा लिन्छन् ।

कसरी बच्ने ?

नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएको भएपनि चीनको जस्तो जोखिमपूर्ण अवस्था नभएको चिकित्सकहरुले बताएका छन् ।

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– नियमित साबुन पानीले हात धुने,

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

कोरोना संक्रमणपछि भएका अनौठा घटना

संक्रमित आमाबाट जन्मिएकी बच्ची सुरक्षित

कोरोना भाइरस संक्रमित एक महिलाले कोरोनाबाट सुरक्षित नवजात शिशुलाई जन्म दिएकी छन् । गएको हप्ता जन्मिएको ३० घण्टापछि एक बच्चालाई कोरोनाको संक्रमण देखिएको थियो ।

तर चीनको झोजियांगमा कोरोना भाइरसबाट संक्रमित एक महिलाले सुरक्षित शिशुलाई जन्म दिएकी हुन् । सुरक्षित शिशुलाई जन्म दिएपछि अहिले सामाजिक सञ्जालमा खुशी छाएको छ ।

मानिसहरुले उनलार्ई भाग्यमानी बच्चा भनेर बोलाइरहेका छन् ।

कोरोनाको प्र्यान्क गर्नु यी युवकलाई घातक साबित, ५ वर्ष जेल !

रुसमा एक प्र्यान्कस्टरलाई कारोना भाइरको बारेमा गरेको प्य्राङ्कका कारण सार्वजनिक स्थानमा मानिसलाई दुख दिएको र भयभित बनाएको आरोपमा पाँच वर्षको जेल तथा पाँच लाख रुबल(रुसी मुद्रा) जरिवानाको सजाय हुन सक्नेछ । प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ । युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन् ।

युवकले रेलमा गरेको प्य्राङ्क सामाजिक सञ्जालमा भाइरल भएको हो । युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटबाट सार्वजनिक भएको थियो । तर अहिले साइटबाट उक्त भिडियो हटाइएको छ ।

चीनमा कोरोना संक्रमितसँग नजिकी सम्पर्कमा आएको थाहा दिने एप बन्यो

चीनले कोरोनाको संक्रमितसँग नजिक भएको अवस्थामा वा संक्रमण हुने जोखिम देखिए तत्कालै यसबारे हामीलाई सूचित गराउने मोबाइल एप बनाएको बिबिसीले जनाएको छ ।

कोरोनाको डरले बालाकृष्णैयाले गरे आत्महत्या

कोरोना संक्रमित भएको आशंकामा एक भारतीय नागरिकले आत्महत्या गरेका छन् ।

भारतको आन्ध्र प्रदेशको चित्तुर जिल्लास्थित थोट्टमबेडु गाउँका बालाकृष्णैयाले कोरोना लागेको भन्दै आत्महत्या गरेका छन् ।

आफ्नो गाउँ तथा परिवारलाई कोरोनाबाट बचाउँनका लागि भन्दै अरुलाई नसरोस् भन्ने मनशायले आत्महत्या गरेका छन् । मृतकको परिवारका अनुसार बालाकृष्णैया ५४ वर्षका थिए ।

उनी रुइया सरकारी अस्पतालमा परिक्षणका लागि गएका थिए । अस्पतालमा परिक्षणका क्रममा उनलाई युरिनिटी ट्र्याक्ट इन्फेक्सन भएको र डाक्टरले उनलाई कोरोना लागेको बताएकापछि उनले आत्महत्या गरेका थिए ।

उनका छोराका अनुसार परिवारले उनलाई धेरै सम्झाएपनि उनले परिवार र गाउँवासीलाई नसरोस् भनेर आत्महत्या गरेको बताए ।

कोरोनाबाट छुटकारा पाउन बिरामीहरु अस्पतालमै डाक्टरसँग नाच्दै

चीनमा कोरोना भाइरस संक्रमितहरुले आफूलाई फिट र शक्तिशाली राख्नको लागि विभिन्न तरिकाहरु अपनाइरहेका छन् ।

अस्पतालमा फरक फरक युनिट्मा विभाजित ग्रुपहरुले फिट तथा पोजेटिभ रहनको लागि डान्स गरिरहेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा डाक्टर तथा बिरामीहरु चीनको पारम्परिक उइगुर नृत्य गर्दै गरेको देख्न सकिन्छ ।

कोरोना संक्रमितलाई नाङ्गेझार पारी घिसारेपछि…

कोरोना भाइरसको महामारी पछि चीन सरकारले त्यसको समाधानको लागि भन्दै सर्वसाधारणहरुमा आक्रामक व्यवहार देखाउन थालेको छ ।
हालैमात्र चीनको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा सरकारी अधिकारीहरुले मानिसहरुको घरमा छिरेर कोरोना संक्रमणको शंका गर्दै तानेर अस्पताल पठाएका छन् ।

मानिसहरु जान नमान्दा नमान्दै पनि उनीहरुले धकेलेर अस्पताल लिएर गएको भिडियोमा देखिएको छ । कोरोनाको संक्रमणपछि चीनले ३० शहरका मानिसहरुमा क्रुरताका साथ यस्तो व्यवहार देखाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?