पशुपतिमा शव पोल्नेको दर्दनाक कथा : भन्छन्, बालबालिका र युवाको शवले रुवाउँछ

काठमाडौं । भनिन्छ, पशुपति आर्यघाटमा पुगेपछि जीवन बुझिन्छ । हुन पनि हरेक दिन यहाँ कैयौं सपनाहरु जल्छन्, सम्बन्ध खरानी बन्छ । आशाहरु आँसु बनेर बग्छन् ।

तर, जहाँ मान्छेको अस्तित्व सकिन्छ त्यहीँबाट शुरु हुन्छ यज्ञप्रसादको काम । यज्ञप्रसाद अधिकारी विगत २६ वर्षदेखि पशुपति आर्यघाटमा शव जलाउँछन् । बोलीचालीको भाषामा उनलाई मान्छेहरुले ‘घाटे बाजे’ भन्दै बोलाउँछन् ।

बुबाको सानै उमेरमा मृत्यु भएको र घरको आर्थिक अवस्था नाजुक भएकाले बाध्यताको बिन्दुबाट शुरु भएको थियो उनको आर्यघाटसँगको यात्रा । अहिले त्यही बाध्यता जीवन धान्ने डोरी भएको छ । जसलाई समाउँदै समाउँदै जीवनका २६ वटा थुम्का काटिसकेका छन् यज्ञप्रसादले । अहिले उनी सहित २६ जनाले पशुपति आर्यघाटमा त्यही बाटो पछ्याइरहेका छन् ।

शुरुवाती दिनहरु निकै जोखिमपूर्ण थिए यज्ञप्रसादका लागि । एकातिर शव जलाउँदा आगोले पोल्थ्यो, घिनलाग्थ्यो । अर्कातिर प्रेत आत्माले तर्साएका किस्साहरु सुनेका कारण राति शव जलाउनुपर्दा डर लाग्थ्यो । तर, अहिले शवसँग डर लाग्दैन उनलाई । डाक्टरले बिरामीको उपचार गर्नु, शिक्षकले पढाउनुजस्तै हो आफ्नो काम भन्ने बुझेर होला आजभोलि आफ्नो पेशालाई सम्मान गर्न थालेका छन् यज्ञप्रसादले ।

तर, अझै पनि यस्ता व्यक्ति छन् जो शव पोल्ने मान्छे भन्दै डराउँछन्, घिनाउँछन् । यो कामलाई पेशाका रुपमै लिँदैनन् । समाजको यस्तै व्यवहारले यज्ञप्रसादलाई आफ्नो पेशा खुलस्त रुपमा भन्न अझै पनि अप्ठेरो लाग्छ । यही कारणले उनले विवाह पनि आधा सत्य बोलेर गर्नुपरेको थियो ।

अहिलेसम्म सयौंको सङ्ख्यामा शव दहन गरिसकेका छन् यज्ञप्रसादले । आगोमा कसैको सिंगो शरीर जलिरहँदा, वरिपरि रोदन, चिच्याहटको माहोल भइरहँदा चुपचाप हेरिरहनुबाहेक उपाय हुँदैन उनीसँग । यस्तो दृश्य हेर्नेलाई त शव जलाउने मान्छेहरु निर्दयी हुन्छन्, मुटु नै हुँदैन होला जस्तो पनि लाग्दो हो तर, यज्ञप्रसाद भन्छन्, ‘कलिला बच्चाहरुको अकालमै मृत्यु हुँदा साह्रै मन दुख्छ । यस्तो शव जलाउँदा आँखा रसाउँछन् ।’

वेलावेला उनलाई यो सोचले पनि सोचमग्न बनाउँछ, अरुको लाश जलाउने म, मेरै लाश कसले जलाउँछ होला ?

यज्ञप्रसादको जीवनलाई समेटेर एउटा मीठो भिडियोस्टोरी तयार पारेका छौं । हेर्नलाई लिंकमा क्लिक गर्नुहोला :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?