भिडियो बनाएर युट्युबमा अपलोड गरी ‘भाइरल’ बन्ने दलदलमा युवा जमात, के होला भविष्य ?

रातिको खाना खाइसकेपछि एकछिन फेसबुकको भित्ता चहार्ने गरेकी छु । समाचार र मिम, ट्रोलका पेजहरुलाई ‘सी फस्र्ट’ गरेकाले प्राय मेरो फेसबुक भित्तामा कि समाचार आउँछन् कि जोक । त्यसैले, फेसबुके साथीहरुका व्यक्तिगत पोस्ट कमै देख्छु ।

केही दिनअघि आफ्नो दैनिक रुटिन अनुरुप फेसबुक स्क्रोल गरिरहेकी थिएँ । एकजना किशोरीको खुब ट्रोल बनिरहेको रहेछ ।

दुईवटा औंला देखाएको (शान्ति वा विजयी भावको इशारा गरेको) उनको तस्वीरमा ‘म हो मेन भिलेन’ अर्थात् ‘म हुँ मुख्य खलनायक’ लेखेर उनलाई ट्रोल गरिएको थियो । किशोरी मेरा लागि नौलो पात्र थिइन् । मैले ट्रोल बुझिन ।

एक्कासी एउटा भिडियोमा पुगेर मेरा औंला रोकिए । फेसबुकले भिडियो ‘अटोप्ले’ गराइदिने भएकाले होला अक्सर हेर्न नचाहेका भिडियो पनि हेर्न पुग्छौं हामी । त्यस्तै भयो मलाई पनि ।

केटीहरुको सिक्रेट ग्रुपमा पोस्ट्या्इएको सो भिडियोमा ५ जना किशोरीहरु मिलेर आफ्नै उमेरकी एकजना किशोरीलाई निमर्म तरिकाले कुटिरहेका हुन्छन् । हेर्दा उनीहरु त्यस्तै १५,१६ वर्षका जस्तो देखिन्छन् ।

५ मिनेट लामो भिडियोको शुरुवातमा २ जना आमनेसामने भएर उभिइरहेका हुन्छन् । १ जना उनीहरुलाई हेर्दै छेउमा उभिइरहेकी हुन्छिन् । अर्की भिडियो खिच्दै । अरु ३ जना क्यामेरामा देखिएका छैनन् शुरुमा ।

भिडियो खिच्ने बोल्छिन्, ‘हान् तेस्लाई हान्’ । आमनेसामने उभिएकी एकजनाले अर्कीलाई हान थाल्छिन् । उनलाई सघाउन थप २ जना आउँछन् ।
‘भिडियो खिच्ने किशोरी फेरि बोल्छिन्, ‘लुगा खोल् यो ऽऽऽ को’

(भिडियोभरि उनीहरुले सुन्नै नसक्ने अपशब्द बोल्छन् जसलाई मैले यहाँ लेखेकी छैन ।)

‘ओइ नखोल् न बिचर,’ प्रतिरक्षामा उनीहरुमध्येकै अर्की बोल्छिन् ।

‘तेस्को तेइ मुख होइन कुरा काट्दै हिँड्ने, हान्’ भिडियो खिचिरहेकी किशोरी सबैलाई निर्देशन दिइरहन्छिन् ।

यत्तिकैमा क्यामेराअघि एउटा परिचित अनुहार देखापर्छ । ‘ए यो त त्यही ट्रोल भएकी केटी हो’ मैले सम्झिहालें ।

‘म पनि छु है गाइज, मेन भिलेनको एन्ट्री’ भन्दै ऊ पनि त्यही ग्याङसँग मिसिएर ती किशोरीलाई कुट्न थाल्छिन् । ट्रोल हुनुको कारण बल्ल खुल्यो ।

‘भाइ यहाँ आउ त भिडियो बनाउन’ भन्दै छेउमा भएको एउटा केटालाई क्यामेरा थमाएर भिडियो खिचिरहेकी किशोरी पनि हुलमा मिसिन्छिन् । त्यसपछि पाँचै जना मिलेर उनलाई भकुर्न थाल्छन् ।

एकछिन रेस्ट भन्दै बीचबीचमा उनीहरु विश्राम पनि लिन्छन् । फेरि शुरु गर्छन् ।

यसरी ५ मिनेटसम्म यो क्रम जारी रहन्छ । यत्तिकैमा भिडियो खिच्ने केटाले उनीहरुलाई सतर्क गराउँछन् ‘मान्छेहरु कराउँदैछ परबाट, छोड्देऊ’ ।

भिडियो सकियो ।

म तरङ्गित भएँ । यति धेरै प्रश्नहरु मनमा आए । कुटाइ खाने केटीलाई केही त भएन ? यति सानो उमेरका केटीहरुमा यस्तो गर्ने आँट कसरी आयो ? उनीहरुले बोलेका शब्दले उनीहरुको उमेरलाई न्याय गरिरहेकै थिएन । कहाँबाट सिके ? कसरी सिके ? किन कुटेका रहेछन् ?
जिज्ञासा झन्झन् बढ्दै गयो ।

झसङ्ग सम्झिएँ, ‘युट्युबेहरुले पक्कै पनि यसलाई कुनै ‘काण्ड’को नाम दिएर उचालेका होलान् ।’

म लागें युट्युबतिर । नभन्दै हो रहेछ ।

बिउटिफुल लाइफ नामक युट्युब च्यानलमा ‘कुटाइ खाने र कुट्ने सबै एकै ठाउँमा’ भन्ने शीर्षकमा राखिएको भिडियोमा कुटाइ खाने, कुट्ने ३ जना र कुट्नेको अभिभावकसहित जम्मा ५ जनाको अन्तर्वार्ता लिइएको छ । प्रस्तोताको नाम, प्रजिता ।

भिडियोबाट खुलेका केही तथ्य…

कुटाइ खानेको नाम : रेबिका

कुट्नेको नाम : सोनिका, रुपा, सम्झना, लक्ष्मी, सविता

घटनास्थल : दमक, झापा

उनीहरु सबै मिल्ने साथी रहेछन् । सबैजना त्यस्तै ७, ८ कक्षामा पढ्ने उमेरका । रेबिका पहिलैदेखि गाँजा खाने गरेको, अरु पनि संगतकै कारण बिग्रिएको, सुधार केन्द्रसमेत पुगेको, घर छोडेर बाहिरबाहिरै बस्ने… यस्ता एक दर्जनजति पत्याउनै नसकिने कुराहरु थाहा भयो ।

चक्लेट र आइसक्रिमको स्वादमा रमाउनुपर्ने उमेरका उनीहरु रक्सी, चुरोट, ड्रग्सको कुरा गरिरहेका थिए । भाँडाकुटी खेल्नुपर्ने उमेरमा आफ्नै साथीलाई मरणासन्न हुने गरी कुट्न सक्ने, कुट्दै गर्दा भिडियो खिच्ने उनीहरुको मस्तिष्कमा के ले प्रभाव पारेको हो ?

‘भाइरल’को आयु छोटो छ । केही समयपछि यो घटना पनि कुनै समय भाइरल भएका समलिङ्गी जोडी, तिर्सना बुढाथोकी, भाइरल बाबा आदिलाई जस्तै गरी भुल्ने छन् मान्छेले । तर, हाम्रो समाजमा किशोरकिशोरीहरुको मनोविज्ञान कुन दिशातर्फ बहकिँदै छ, ड्रग्सको दलदलमा कसरी फस्दैछन् युवाहरु, जीवनलाई कति हल्का गरी लिइरहेका छन् उनीहरुले भनेर यस घटनाले प्रष्टै देखाएको छ ।

घटनाले भन्दा धेरै अचम्मित त मलाई ‘युट्युबर’को प्रश्नले बनाइरहेको थियो ।

कसरी बिग्रियौ ? कसरी फस्यौ ?

बुवाले वास्ता गर्नुहुन्न ?

घर जान मन लाग्दैन ?

ड्रग्स लिन्छौ रे ? जस्ता ठाडा सवाल ।

त्यही च्यानलमा अर्को भिडियो पनि अप्लोड गरिएको छ । कुटिएकी रेबिकालाई एक्लै राखेर अन्तर्वार्ता लिइएको छ त्यसमा । कुटाइ खाएको आँखा पनि देखाउने भन्दै क्यामेरा जुम गरेर दाग देखाइन्छ ।

‘तिमीलाई एक्लै पारेर किन कुटियो ? के गल्ती ग-यौ ?,’ पहिलो प्रश्न ।

उत्तरमा किशोरीले आफूले ‘नराम्रो’ कुरा खाने गरेको बताउँछिन् । प्रस्तोताले ‘तिमी ड्रग्स युज गथ्र्यौ’ भन्दै आफै प्रष्ट्याइदिन्छिन् ।

को रहिछिन् प्रस्तोता र कस्तो च्यानल हो यो भन्ने कौतुहलताले मलाई च्यानलको बारेमा थप अनुसन्धान गर्न बाध्य बनायो ।

च्यानलको बारेमा दिइएको विवरणबाट खुल्यो त्यसकी सञ्चालक रहिछिन् दमक, झापाकी प्रजिता दंगाल । र, उनले च्यानल स्वास्थ्य तथा सौन्दर्यसम्बन्धि भिडियो टिप्स दिनलाई सञ्चालन गरेकी रहिछन् । यसअघि चायाँपोतो हटाउने, डण्डीफोरको समाधानका बारेमा ज्ञान बाँडिरहेकी उनले यस घटना पछि एकाएक आफूलाई ‘क्राइम रिपोर्टर’(?) जसरी प्रस्तुत गरिन् । यति मात्र होइन उनको च्यानलमा यस घटनाको पलपलको ‘फलो अप’ भिडियो राखिएको छ ।

किशोरावस्थाको क्षणिक आवेशमा ती किशोरीहरुले उठाएको यो कदम भलै गलत थियो तर, त्यस गल्तीलाई केलाएर मिडियामा विस्कुन लगाउने काम कतिको सही हो ? मान्छेको मृत्यु, हत्या, बलात्कार, पीडालाई भाइरल बनाउने होडबाजीमा लागिपरेका यी युट्युबेहरु आफै चाहिँ कुन ‘भाइरस’बाट ग्रसित छन् हँ ?

हुँदाहुँदा उनीहरुका आफ्नाआफन्तलाई पनि छोडेका छैनन् युट्युबरहरुले जसले आफूलाई पत्रकार (?) हुँ भनेका छन् । माइक तेर्साएर जता पनि पुगेकै छन् । जे पनि सोधेकै छन् । अनि आगोमा घ्यू थप्ने काम चाहिँ सर्वसाधारणको ।

‘वाह प्रजिता जी सत्यतथ्य बाहिर ल्याइदिनुभएकोमा धन्यवाद’

‘अब कुट्ने र कुटाइ खानेलाई सँगै राखेर अन्तर्वार्ता लिनुप-यो’

‘मिडियामा व्यापक खोजी भइरहेको थियो यो केस तर दिदीले मिडियामा ल्याएर सत्यतथ्य ल्याउनुभएकोमा खुशी लाग्यो’

यस्ता कमेन्ट गर्दै पत्रकारिताको गलत अभ्यासलाई प्रोत्साहन गरिरहेका छन् दर्शकले पनि ।

लाइक्स, भिउजको नाममा मानवीय संवेदनाको एक इन्च पनि ख्याल नगर्ने ‘युट्युबर’ भनौदाहरुले यो कुरा बुझुन् । मनन गरुन् । कि यतिवेला ती किशोरीहरुलाई सही मार्गदर्शन चाहिएको छ, सस्तो लोकप्रियता होइन ।

किशोरीहरु ‘आज’मा बाँचिरहेका छन् । उनीहरुको भोलि त छँदैछ । उनीहरुको ‘आज’ बिग्रियो भन्दैमा ‘भोलि’ नसुध्रिने हो र ? भविष्यमा यदि उनीहरुले सही मार्ग पक्रिए भनेपनि उनीहरुको अँध्यारो विगतले छोड्ला भन्ने के ग्यारेन्टी छ ? स्मरण रहोस्, खुङ्खार डाकु रत्नाकर सुध्रिएर विद्वान बाल्मिकी भएको कथा हाम्रै शास्त्रले बोल्छ ।

अबको केही वर्षपछि आफ्नै भिडियो हेरेर उनीहरु आत्मग्लानी महसुस गर्लान् । त्यसवेला, यही भिडियोका बारेमा अरुको मुखबाट सुन्नुप-यो भने के असर पर्छ उनीहरुको मनोविज्ञानमा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?