लोकपथ प्रतिनिधि
आज फागुन १ गते माओवादीले कथित ‘जनयुद्ध’ को घोषणा गरेको दिन– ०५२ फागुन १ । त्यसको ७ दिनअघि माघ २२ गते बाबुराम भट्टराई, पम्फा भूसाल लगायत ‘संयुक्त जनमोर्चा’ का नाममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४० बुँदे माग र ती माग पूरा गर्न १५ दिनको अल्टिमेटम दिएका थिए । १५ दिन पुग्न नपाई ७ दिनपछि नै उनीहरू ‘जनयुद्ध’ मा होमिए । नेपालले विध्वंश र नरसंहार भोग्नुपरेको २५ औँ वर्षमा पुगेछ ।
‘जनयुद्ध’ को घोषणा गरेपछि नेकपा (माओवादी) स्थायी समितिका नेताहरूले रगतको सहीछाप गरेर ७ वटा वाचा गरेका थिए । ती वाचाको तेस्रो बुँदामा भनिएको थियो, “…..हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानवजातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिईनेछैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्नपूँजीवादी, संकीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातिवादी विभ्रमहरूबाट सम्पूर्ण रुपले मुक्त रहनेछ”(नेकपा माओवादीको वेभसाईटबाट) ।
आज कहाँ छ त माओवादी ? विप्लब समुहमा वा वैद्यको सानो चुलोचौकोमा ? कि बाबुराम भट्टराईको अस्थिर गतिविधि र बोलीमा ? यो देशमा माओवादी भन्ने शक्ति पनि थियो भन्ने आततायी दन्त्यकथाचाहिँ इतिहासमा स्थापित नै छ ।
खुला राजनीतिमा आएपछिका जल्दोबल्दो बेलामा उनले तत्कालीन एमालेलाई दुत्कारेकै हुन् । तर पार्टी छिन्नभिन्न भयो । गिरिजाप्रसादको दौराको फेरो समातेर खुला राजनीतिमा आउन प्रधानमन्त्री निवासबाट प्रकट भएका प्रचण्ड केपी शर्मा ओलीको हात समातेर पूर्व एमालेभित्र पसेका छन् । प्रचण्डले अवसर नपाएर आज यो हविगतमा पुगेको भन्न कुनै तर्कले मिल्दैन । उनी दुईपटक प्रधानमन्त्री भइसके । आफ्ना प्रियपात्रहरूलाई छानीछानी कयौँ पटक सत्तामा इज्जत र आम्दानीका आकर्षक पदहरूमा पनि पु-याएकै हुन् । अहिले पनि उनी अनुकूल अवसरको सेरोफेरोमै छन् । राजनीतिको मूलप्रवाहका एक चर्चित पात्र नै छन् ।
उनलाई एमालेमा भित्राउन ओलीले अनेक तिकडम गरे । अहिले एउटा विवशता बोकेर नेकपाभित्र बस्नैपरेको छ । ने.क.पा. छोडेर हिँडौँ भने आफ्नो टेक्ने समाउने आधार पनि रहँदैन । त्यसमाथि मानवताविरोधी अपराधको खतरा त यसै कायम छ । असुरक्षावोध भएपछि मान्छे अरुलाई झम्टिन पुग्छ । भेनेजुएला भन्ने तीन–न–तेहको देशका लागि अमेरिका र उसका ५ भन्दा बढी मूलुकको एकमुष्ट विरोधलाई गत साल माघमा ‘साम्राज्यवादी कू को प्रयास’ भनी बाठो भएर वक्तब्य प्रकाशित गरेपछि उनी झन् अप्ठ्यारोमा परे । कुनै बेला उनले भारतलाई त्यस्तै शैलीमा विष बमन गर्ने गर्थे ।
उनलाई राजनेता बन्ने अवसर धेरैपटक आएको थियो । तर प्राप्त अवसरलाई सदुपयोग गर्न नजानेर दम्भ र अहंकार प्रर्दशन गर्ने हुँदा अवसरहरू टाढा हुँदै गए । जसलाई उनले २०६९ साउन २ गते काठमाडौँमा शुरू भएको पार्टीको सातौँ विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदनमा उल्लेख नै गरेका थिए ।
उनले स्वीकारेका गल्तीमा–
१) प्रधानमन्त्री भएका बेला प्रधानसेनापति कटवाललाई कारवाही गर्नु,
२) मधेश आन्दोलनलाई बुझ्न नसक्नु,
३) संविधान अनुसार ठूलो पार्टी भईसके पछि अन्य पार्टीलाई विश्वासमा लिन नसक्नु,
४) संविधान लेखनमा संघीयतालगायत प्रमुख मुद्दा बेलैमो टुङ्गो लगाउन नसक्नु वा संविधानसभाको प्रक्रियामा लान नसक्नु,
५) शान्ति प्रक्रियामा आएपछि कार्यकर्ताहरूलाई ठीक ढंगले परिशिक्षित गर्न नसक्नु,
६) पार्टी एकतापछि भीमकाय संगठन बनाउनु,
७) सेना समायोजनमा सहमति गर्दा लडाकुको उमेर र शिक्षामा बढी लचक हुनु,
८) पार्टीभित्र गुटबन्दी र अराजकतालाई कारवाही गर्न नसक्नु,
९) नेताहरूलाई ठीक जिम्मेवारी दिन नसक्नु,
१०) सडक, सरकार र सदनको कामलाई व्यवस्थित गर्न नसक्नु,
११) विदेश नीति अन्तर्गत जलस्रोत, आर्थिक नीति तय गर्न नसक्नु,
१२) महिला दलित लगायत पिछडिएको वर्गलाई विशेषाधिकार दिन नसक्नु ।
भृकुटीमण्डपमा भएको सातौँ प्लेनमको दोस्रो दिन २०६९ साउन ३ गते बुधबार कार्यकर्ताले प्रचण्ड र बाबुराम भट्टराईमाथि ‘पार्टीभित्र भ्रष्टाचार बढेको’ तथा ‘नेताहरूको विलाशी जीवनशैली एकदमै बढेर गयो’ भन्ने आक्रोशका साथ कुर्सी नै उठाएर प्रहार गरेका थिए ।
पूरा हुने नहुने जस्ता पनि आश्वासन दिँदै हिँड्ने, बोलीको ठेगान नभएको ‘आश्वासनका थोक ब्यापारीको रुपमा उनको चित्रण हुनेगर्छ । उनले प्रधानमन्त्री हुँदा भाषणमै घोषणा गरेका थिए— “अबको एक सातापछि दाइजो प्रथालाई पूर्णतः निषेध गरिने छ । दाइजो दिने र लिने दुबै कानुनतः दण्डका भागिदार हुनेछन् । छोरोसरह छोरीलाई अंश दिने कानुन कडाइका साथ तुरुन्तै कार्यान्वयन गरिने छ । विवाह वा अरु समारोहहरूलाई किफायती बनाउन यस्ता समारोहहरूमा निश्चित संख्याभन्दा बढी मानिस सहभागी हुन नपाउने कानून कडाइका साथ पालना गरिने छ । घरेलु हिंसालाई निषेध गर्दैजाने उद्देश्यले हरेक गाविसमा एक महिनाभित्र घरेलु हिंसा उजुरी केन्द्रहरू स्थापना गरिने छन् । छुवाछुतका अपराधलाई निर्मूल पार्न कानुनी व्यवस्था मिलाई हरेक अदालतमा छुवाछूत निवारण सेलको व्यवस्था गरिने छ । हरेक गाविसमा दलितको अनिवार्य सहभागितामा अधिकारसम्पन्न छुवाछूत अपराध निगरानी केन्द्र गठन गरिने छ ।”
नयाँ नेपाल बनाउने भन्दै शान्तिपूर्ण खुला राजनीतिमा आएका प्रचण्डले सत्तामा बसेपछि आफ्ना सहयोद्धा कमरेडको सम्पत्ती मोह देखे र थानकोटको एउटा भाषणमै भनिदिए, “आर्थिक अराजकता, फजुल खर्च, भ्रष्टाचार र सुविधाभोगी चिन्तन (हाम्रो पार्टीमा) झाङ्गिदै गइरहेको छ । एउटा हिस्साले पार्टीको शक्ति र प्रतिष्ठालाई निजी हितमा दुरुपयोग गर्ने, अर्को हिस्सा दैनिक समस्या टार्न नसकेर पलायन हुने अवस्था सिर्जना भएको छ । पार्टीभित्रै दुई भिन्न वर्गको अवस्था पैदा हुँदैछ । सर्वहारा मूल्य–मान्यता निकै स्खलित हुन पुगेको छ ।”
पछिल्लो चरणमा आएर उनलाई कम्युनिस्ट पार्टीप्रति नै मोहभंग हुन थालेको छ । त्यसो त सत्तारुढ ने.क.पा. को नेतृत्व त्यस्ता नेताहरूको हातमा छ, जसलाई कम्युनिज्म्माथि नै आस्था छैन । कम्युनिष्ट र अन्य पार्टीबारे प्रचण्डको यो निचोडजन्य भनाईले उनको मनोदशा प्रष्ट पार्छ, “….शुरूशुरूमा राजनीतिमा लाग्दा मैले कांग्रेस वा अन्य कम्युनिष्ट पार्टीहरूका बारेमा खासै विमति राख्ने गरेको थिईँन । मलाई त अहिले लाग्छ, नहरभन्दा तल घर भएको भए म पनि कांग्रेस पार्टीमा लाग्थेँ हूँला ।……. सुरू–सुरूमा कम्युनिष्ट बन्दा पार्टीमा सबै राम्रा मात्रै छन् जस्तो लाग्दथ्यो । तर पार्टीमा काम गर्दैजाँदा थाहा पाइयो, त्यहाँभित्र पनि भयङ्कर र अवसरवादी, फटाहा र सबै प्रवृत्ति हुँदा रहेछन् । त्यहाँ पनि भीषण संघर्ष हुँदोरहेछ । कहिलेकहीँ त बुर्जुवामा हुनेभन्दा पनि रद्दी खालको संघर्ष कम्युनिष्ट पार्टीभित्र हुँदोरहेछ” (पछिल्लो खण्ड नयाँ पत्रिका, ०६६ को अंकबाट) ।
प्रचण्डका धेरैवटा नाम छन् । उनलाई बा–आमाले दिएको नाम छविराम हो । सानो छँदा सांस्कृतिक रुपबाट यो नाम माक्र्सवादी हुनखोज्ने उनलाई कताकता नमिलेजस्तो लाग्यो र नाम फेर्ने कुरा भयो, स्कूलमा ‘पुष्पकमल’ लेखियो । पछि पार्टी (चौथो महाधिवेशन, एकता केन्द्र आदि) मा सक्रिय हुनथालेपछि ‘निर्माण’ भनियो । २०५१ सालमा पार्टीको नयाँ नामकरण नेकपा (माओवादी भएपछि) जनयुद्ध हाँक्ने बेलामा पार्टी नाम ‘प्रचण्ड’ भएको हो । उनको जन्म कास्कीको ढिकुरपोखरीमा भयो, तर २०१८ सालमा प्रचण्डको परिवार त्यहाँबाट बसाईँ आएर चितवनमा बस्नथाले । त्यो बेला उनी ७÷८ वर्षका थिए । अब उनको निर्वाचन क्षेत्र चितवन भएको छ, जसको लागि उनले काठमाडौँ–१ मा सांसद निर्वाचन लडेकी छोरी रेणुलाई हरतरहले मेयर बनाएका छन् ।
आतंकित मानसिकताले नै त होला, प्रचण्ड हिजोआज विदेश भ्रमणमा निस्कन छोडेका छन् । १० वर्षसम्म सारा नेपालीलाई आतंकित बनाएको शक्तिका नाइके भएर आएका पुष्पकमल दाहाल ऊर्फ प्रचण्ड हिजोआज आफैँ आत्तिएका देखिन्छन् । विगतका आफ्ना कर्तुत आज मानवताविरोधी अपराधका रुपमा जागृत हुनथालेपछि उनी अत्तालिएका हुन् । छोरा मरेको सन्ताप बेग्लै छ । छोरी क्यान्सर लागेर मरेको चिन्ता बेग्लै छ । पत्नी सीता दाहाल गम्भीर रोग लागेर थला परिन् । डाक्टर, वैद्य, विप्लब सबैले छोडेर आफ्नो बाटो लागे । भएकै साथीहरूले पनि साथ दिन छोडे । बोलेको कुरा पत्याउने कोही छैन । सबैतिरबाट असुरक्षावोध हुन थालेजस्तो छ, प्रचण्डलाई ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया