कारोना भाइरसको आधिकारिक नामाकरण : कोभीड–नाइन्टिन

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरसको आधिकारिक नामाकरण गरेको छ । सङ्गठनले कोरोना भाइरसलाई कोभीड–नाइनटिन (COVID-19) नाम दिएको हो ।

डब्लुएचओले यो भाइरसको संक्रमणलाई विश्वको लागि ठूलो चुनौति बताउँदै यसलाई रोक्ने सम्भावना अझै रहेको जिकिर गरेको छ ।

‘हामीले यस रोगलाई नाम दिएका छौँ – कोभीड–नाइन्टिन,’ मङ्गलबार जेनेभामा पत्रकारहरुसँग कुराकानी गर्दै डब्लुएचओका प्रमुख तेद्रोस अधानोम घेब्रेइससले भने ।

घेब्रेइससका अनुसार कोभीड–नाइनटिनमा ‘सीओ’ को अर्थ कोरोना, ‘भीआई’ को अर्थ ‘भाइरस’ र ‘डी’ को अर्थ डिजिज अर्थात् रोग हो । १९ को अर्थ चाहिँ रोग शुरुवात भएको वर्ष हो । भाइरसको संक्रमण सन् २०१९ को डिसेम्बर ३१ मा सबैभन्दा पहिले पत्ता लागेको थियो ।

यसअघि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले यसलाई नोभेल कोरोनाभाइरस निमोनिया (एनसीपी) नाम दिएको थियो ।

कोरोना भाइरसबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबारसम्म १ हजार १ सय १३ पुगेको छ । मंगलबार मात्र थप ९७ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?