पार्टीहरूको भ्रष्ट र आपराधिक रत्यौलीलाई नियाल्दा

बालुवाटार (ललितानिवास) स्थित सरकारी जग्गा हडपेको मामिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जना अभियुक्तमाथि चलाएको अदालती कारवाहीलाई लिएर कांग्रेसभित्र खैलाबैला मच्चिरहेको छ । कांग्रेसले बाँकी १७४ अभियुक्तको बारेमा कुनै चिन्ता नलिएर खाली एकैजना, पार्टी उपसभापति विजयकुमार गच्छदारलाई पनि कारवाहीमा मुछिएकोमा आपत्ती देखाएर आफ्नो बौद्धिक दिवालियापन प्रदर्शित गर्न पुग्यो ।

बौद्धिक दिवालियापन यसकारण कि संवैधानिक अंगले न्यायालयमा चलाएको कारवाहीलाई लिएर संसदले केही गर्न सक्दैन भन्ने जान्दाजान्दै पनि काँग्रेसले ‘विजय गच्छदारलाई किन कारवाही गरेको ?’ भन्ने सवालमा ३ दिन संसदको बैठक अबरुद्ध ग¥यो । विजय गच्छदार, आफताब आलम, चिरन्जीवी वाग्ले, खुमबहादुर खड्का, कृष्णप्रसाद सिटौला लगायत सबैजसो भ्रष्टहरूलाई जोगाउन सती जान खोज्नु, तर सुशीला कार्की जस्तो प्रधानन्यायाधीशका बिरुद्ध महाअभियोग लगाउने दुस्साहस गरेर कांग्रेसले कुनै यश वा प्रतिष्ठा बढाएको छैन, उल्टो साख र जनविश्वास गुमाएर कार्यकर्तालाई लज्जित भएर हिँड्नु परेको अवस्था सिर्जना गरेको छ ।

अख्तियारले उक्त जग्गासम्बन्धी मुद्दामा चरम पक्षपात गरेको एकदमै साँचो हो । उसले सत्तारुढ नेकपाका नेताहरू माधवकुमार नेपाल वा पार्टी महासचिव विष्णु पौडेललाई जोगाउने निर्लज्ज तर लज्जास्पद धृष्टता देखाएको छ । यस मुद्दालाई अदालतमा पु¥याउनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले प्रधानमन्त्रीसँग लामो कुराकानी गरेको, प्रधानमन्त्रीको आदेश र इशारामा काम गरेको र अख्तियारलाई प्रकारान्तरले सरकारको विभाग सरह बनाएको तीतो वास्तविकता पुष्टी हुन अब के बाँकी रह्यो र ? बालुवाटारको सरकारी जग्गा हड्प्ने वा लुटाउने मूख्य सूत्रधारको रुपमा सत्तारुढ नेकपाका पार्टी महासचिव विष्णुृ पौडेल भएको यथार्थलाई काँग्रेसले नाङ्गेझार पार्न सक्नुपथ्र्यो । कांग्रेसले यो विन्दुमा टेकेर आफ्नो विरोध र शक्ति प्रदर्शनद्वारा सरकार र अख्तियारमाथि गल्ती सच्याउन दबाब दिन सक्नुपथ्र्यो । तर भयो फगत विजय गच्छदारलाई जोगाउने मूर्खतापूर्ण प्रयास ।

हिजोको ‘गोली’ रक्तपात युद्धभन्दा आज ‘बोली’को ‘शीतयुद्ध’ कति घातक छ भन्ने वास्तबिकता देखिँदैछ, राज्यका सबै अंगहरू वाकयुद्धका साथै घृणा र नैतिकहिन होडबाजीले गर्दा थिलथिलो भएको रुपमा । मुलुक थिलथिलो भइसक्यो, तर यही थिलथिलोमाथि दलहरूको ‘गणतन्त्र’ मार्का मल्लयुद्ध चलिरहेको छ । यही सत्तामुखी राजनीति र भ्रष्टाचार, अपराध, तस्करी र माफियागिरिको सहयात्रा पराकाष्ठामा पुगेको छ । ठूला पार्टी र तिनका जातभाई जिम्मेवारीविहिन अविरल हर्कतका कारण मुलुकको राष्ट्रिय मर्यादा धूलिसात हुँदैछ ।

सफल राज्य घोषणा, राज्यविघटन र बर्वादीको लक्षण सतहमा पर्याप्त देखिइसकेका छन् । नेताहरूमा सद्बुद्धि नपलाएको रुप ‘तँ चरी डालडालै त म चरी पातपातै’ भन्ने उखानकोजस्तो निकृष्ट होडवाजीमा देखिँदै छ । ‘नयाँ नेपाल’ ले कुनै कुराको विकास ग¥यो भने त्यो सत्ता, शक्ति र त्यसको उन्मादजनक खेलको रुपमा आर्थिक र राजनीतिक अपराध नै हो । बालुवाटारको सरकारी जग्गा लुट्ने–लुटाउने र त्यसमा जोगाउने वा फसाउने गतिविधि सत्तावृत्तमा व्याप्त भ्रष्टाचारी खेलको एक संस्करण हो ।

मूलुकले कोल्टे फेरेको अनुभव हुने परिवर्तनका लागि राष्ट्रको नायकले नयाँ राष्ट्रिय धरातलमा टेकेको देखिनुपर्छ । देखेकोमा दृष्टिभ्रम पनि हुनसक्छ, त्यसले राष्ट्रिय जीवनमा प्रभाव उत्पादन गरेको हुनैपर्छ । २००७ सालको जनक्रान्ति होस् वा २०४६ र २०६२–६३ का जनआन्दोलनहरू हुन्, अनि २०३६ सालको जनमत संग्रह घोषणाको कदम किन नहोस्, ती सबै युगमा राजाका राष्ट्रिय कदमलाई टेक्ने धरातल नेपाली काँग्रेसले दिँदैआएको थियो । किनकि काँग्रेसको तत्कालीन नेतृत्वसँग सिङ्गो राष्ट्रका साथै बाह्यराष्ट्रको समर्थन, सद्भाव पनि थियो । तर गणतन्त्रका राष्ट्र–नायक मानिएका आलंकारिक राष्ट्रपतिले कार्यकारी हैसियत वा हर्कत देखाउने धृष्टता गरेपछि त्यसले ‘तन्त्र’ को सार्थकता र सफलता कहीँ रहेको छैन भन्ने प्रतिबिम्बित गर्दैछ ।

आजको कांग्रेसले किन वा कसका दोषले आफ्नो निर्णायक हैसियत र गरिमा गुमाएर ‘नेकपाले सत्ता चलाउन दिन्छ कि’ वा ‘झर्ला र खाउँला’ भन्नेखालको निरिह र दयनीय अवस्थामा पतन हुनुपरेको ? करिब दुईतिहाई बहुमतको सरकार भएर पनि मुलुक यति बेवारिश र अराजकताले ग्रसित भएर मरणासन्न अवस्थामा पुग्दा पनि काँग्रेस किन किंकर्तब्यविमूढ हुनपुगेको हो ? यो अरूको होइन, यसै पार्टीको चिन्ता वा चिन्तनको विषय हो ।

काँग्रेसको नेतृत्वमा परिवर्तन त सम्भव भयो, तर त्यही बिन्दुबाट काँग्रेसको दुर्दशा र असफलता किन प्रारम्भ भयो ? इतिहासमा कहिल्यै पनि रुक्ने, चुक्ने र झुक्ने कमजोरी नदेखाएको यस पार्टीले माओवादीको आगमन र राजतन्त्रको गमनसँगै यो दूरगामी कमजोरी देखाउनथाल्नु भित्रको रहस्य के हो ?

‘राजाको छोरो राजा हुनैपर्ने’ राजतन्त्रको सबभन्दा ठूलो विकृति भनी गणतन्त्रवादीहरू औँल्याउँछन् । एशियाली मुलुक, भारत होस् वा श्रीलंका, पाकिस्तान होस् वा बांग्लादेशका ‘गणतन्त्र’ हरू पनि प्रकारान्तरले ‘राजाको छोरा राजा हुने’ वंशवादी परिपाटीभन्दा उत्कृष्ट वा फरक देखिएका छैनन् । उत्तर कोरिया स्थापनाको ७५ वर्षको सम्पूर्ण अवधिमा किम इल सुङ्, उनका छोरा किम जोङ् इल हुँदै आज त्यहाँको सर्वोच्च बागडोर ३५ वर्षे नाती किम जोङ् ऊनको काँधमा आएको छ । मूलुकको नेतृत्वमा यस्ता अनुवंशिक परिपाटी राजतन्त्रात्मक चरित्रका द्योतक हुन् भने राजतन्त्रमाथि दोष लगाउने नैतिक आधार कहाँ छ ?

२०६२–६३ पछिको कालखण्ड र भुक्तमानले के प्रमाणित गरिसक्यो भने नेपाली काँग्रेस वा माओवादी मिश्रित एमालेको नयाँ अवतार नेकपा, वा अन्य जो भनौँ, सबैसँग फतफताउने कुरामात्र रहेछन्, तर समाधानका सूत्र रहेनछन् । नाराहरू रहेछन्, तर निष्ठा रहेनछ । मान्नुहोस्, नाराले निष्ठा प्रमाणित गर्दैन । कुरा गर्न सबैले जानेका छन् । किनकि भनेर सुनाउन त जो पनि खोज्छ, तर गरेर देखाउने क्षमता कसैसँग रहेनछ । नारायणहिटी राजदरबारको प्रभुत्व वा दबदबा समाप्त भएको उत्सब त मनाईयो, तर ‘दिल्ली दरबार’को हालिमुहाली बढेकोमा चिन्ताले छोएन ।

हो, यस अवधिमा सबैको नियत र क्रियाकलापको परिचय पाइयो । विदेशीलाई पनि देखियो, छिमेकी पनि चिनियो । ‘२४० वर्षदेखिको निरङ्कुस राजतन्त्र’ भनी गाली गरेको पनि सुनियो, ‘सदाचारी गणतन्त्र’ का अनुहारको पनि दर्शन गरियो । ‘नोबेल शान्ति पुरस्कारका उम्मेद्वार’ ले छोडेका ‘देन’ पनि भोगिँदैछ । द्वन्द्वका विशेषज्ञ, विकासका ठेकेदार, गणतन्त्रका वकिल, संघीयताका हर्ताकर्ता सबैको जनताले अग्निपरिक्षा लिइसके । तर यी सबै ‘सबैजसो विषयमा दाग लागेको विद्यार्थी’ झैँ नराम्रोसँग गुल्टिए ।

नेपालले भोगिरहेको यो असाधारण असफलता नेपालका दल र नेताकोमात्र विफलता होइन, सर्तले बाँधेका सहायता दिने, उपदेश र उपचार थोपर्ने ‘दाता’ हरूको पनि लज्जास्पद असफलता हो । नेपालको यो हविगतलाई लिएर छिमेकी भारतका नेताहरूका मुखाराविन्दबाट उच्च आदर्श, गान्धीवादी नैतिकता र मिठा वचनहरू सुन्नपाइन्छ । त्यहाँसम्म बिल्कुल ठीक लाग्छ । जब ती वचनको कार्यान्वयन गर्ने जिम्मा भारतीय भृत्यतन्त्र र खुफिया एजेन्सीका काँधमा पुग्छ, अनि यो मुलुकलाई कबाडीमा पु¥याउन खोजेका मूर्खतापूर्ण हर्कत देखापर्न थाल्छन्, नेपालीमात्रको सबभन्दा दुःख यसैमा छ ।

छिमेकीउपर पूर्वाग्रह वा दुराग्रह बोकेर मनका भँडास पोखेको होइन । प्रत्येक देशभक्त र विवेकशील नेपालीलाई थाहा छ, जान्यो भने नेपालका लागि भारतजति ठूलो मित्र अरू कुनै मुलुक हुनसक्दैन, तर जानेन भने भारतभन्दा ठूलो शत्रु खोज्न पनि अन्यत्र जानु पर्दैन ।

तर दिल्लीले पनि उसका भ्रम र गल्ती त्यही मौकामा सच्याउनु बुद्धिमानी हुनेछ । जे सोचेर बाह«बुँदे गराइएको थियो, त्यसको उल्टो भएको हुनाले दिल्लीका पण्डितहरूले यसको विष्णुसहस्रनाम नजप्नु उत्तम हो । नेपालीहरूले आफ्ना सहमति र मेलमिलापका सूत्रहरू आफैँ खोज्नुपर्छ । बीपी भन्नुहुन्थ्यो, “राष्ट्रियताको धुकधुकीअनुरुप राजनीति गरे अनन्त शक्ति प्राप्त हुन्छ ।” पार्टीहरूलाई यहाँ औँल्याएर भन्नुपर्ने एउटै कुरा छ, राजनीति त गर, तर पद्धति, विचार र आचरणको परिधिभित्र बसेर गर, छाडा, भ्रष्ट, अपराधीको मतियार र दण्डहिनताको संरक्षक भएर कदापि नगर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?