बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैंसधैं नेपाल लेख्न पाइयोस्

नेपाली श्रम र सीपको प्रभाव दिगान्त फैलियोस्
मलाई टेकी खुड्किलो यो देश माथि उक्लियोस्
नेपालको म सन्तती सगर्व भन्न पाइयोस्

मलाई छैन चाहना मरेर स्वर्गमा पुगौँ
छ कामना यही मेरो बरू म नर्कमा परूँ
जहाँ पुगेपनि तर नेपाली भन्न पाइयोस्

यो सूर्य चन्द्रको ध्वजा मेरै रगतले रंगियोस्
यहीँको जल अँजुलीभर निलेर मर्न पाइयोस्
स्वदेशको निम्ति यो शिर चढाउन पाइयोस्…

रामकृष्ण ढकालको स्वरमा गुञ्जिने यो गीतले नेपाली मन फुरुङ्ग बनाउँछ । हुन पनि नेपाली भूभाग साँच्चै प्रकृतिको बेजोड संगम हो । यहाँका हिमालदेखि तालतलैयाले जोकोहीलाई सजिलै मोहनी लगाउन सक्छ ।

हिमालकै कुरा गर्दा नेपाललाई विश्वमै चिनाउने सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी पनि हिमालसँगै छ । विश्वकै सर्वाधिक अग्ला १० हिमालमध्ये ८ वटा हिमाल नेपालमै छन् ।

हरेक वर्ष विश्वभरिबाट पवर्तारोहण गर्न पर्यटकहरु नेपाल आउँछन् । त्यस यात्रामा उनीहरुको सहयात्री बन्ने शेर्पाहरु पनि विश्वमा उत्तिकै प्रख्यात छन् । चाहे सर्वाधिक हिमाल आरोहण गरेर होस् या कम उमेरमा हिमाल आरोहण गरेर होस् शेर्पाहरुले विश्व कीर्तिमानी कायम गरेका छन् । कीर्तिमानी मार्फत् राष्ट्रको पहिचानलाई हिमालको चुचुरो जतिकै उचाइमा पु-याएका छन् । तिनै कीर्तिमानी आरोहीमध्ये विश्वमै सर्वाधिक पर्वतारोहण गर्ने कामीरिता शेर्पाको जीवनकथा लोकपथ डट कमले केही समयअघि यसरी शब्द र भिडियो दुवै माध्यमबाट पस्किएको थियो…

हिमाल चढ्नु कामी रिता शेर्पाका लागि आफ्नो बाल्यकालमा फर्किनु जस्तै हो । उनलाई पहिलो पटक स्पर्श गर्ने घामका किरण हिमालसँगै ठोक्किएर आएका थिए, उनले बोलेको पहिलो शब्दमा हिमाली सुगन्ध मिसिएको थियो, उनको पहिलो पाइलाको डोब हिमालको आँगनमा बनेको थियो ।

सोलुखुम्बुको थामेमा जन्मिएका कामी रिताका बालसखा थिए हिमाल । त्यसैले उनले जेजति जानेका छन् त्यो हिमालले सिकाएको हो । अहिले पनि उनको जीवन त्यही हिमालकै सेरोफेरोमा घुमिरहन्छ । सातवटा ट्रेकिङ कम्पनीमा सिनियर गाइडका रुपमा कार्यरत कामी रिताले सर्वाधिक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमानी समेत कायम गरेका छन् । त्यसैले आजकल यो नाम फगत नाम मात्र नभएर एउटा ब्राण्ड हो ।

संसारकै सर्वोच्च शिखरलाई २४ पटक टेकिसकेका उनका गोडाले सयौं पटक अन्य हिमाललाई टेकिसकेका छन् । पाकिस्तानमा रहेको विश्वकै खतरनाक हिमाल माउन्ट केटु होस् या नेपालकै ८ हजार मिटर उचाइभन्दा माथि भएका हिमालहरु, सबैले कामी रिताको पदचाप महसुस गरिसकेका छन् ।

हिमाल यदि साम्राज्य हुँदो हो त शेर्पाहरु त्यहाँका सम्राट हुन्थे होलान् । अहिले पनि भरियादेखि गाइडसम्म, हिमाली भेगमा खुद्रा व्यापार गर्नेदेखि ठूल्ठूला ट्रेकिङ कम्पनी, माउन्टेन बिज्नेस गर्ने सबै शेर्पाहरु नै छन् । यही संस्कारबाट टाढा छैनन् कामी रिता ।

उनी आफ्नो जीवनयात्रामा धेरैपटक मृत्युसँग जुधेका छन् । आफ्नो ज्यानको बाजी थापेर विदेशी आरोहीहरुको ज्यान जोगाएका छन् ।

हिमालतर्फ लम्किएका पाइला सकुशल फर्किन्छन् कि फर्किदैनन् भन्ने अन्यौलता लिएर विगत २५ वर्षदेखि सगरमाथा आरोहण गरिरहेका उनलाई सगरमाथा र शेर्पाहरुको गाथा अन्तर्राष्ट्रिय स्तरबाट गाइएको सुन्दा यी सबै चुनौतीहरु पार गरेकोमा गर्व लाग्छ । खुसी महसुस हुन्छ ।

हिमाल चढ्नु सुखको काम नभएको बताउने कामी रिताका लागि यही दुखले आर्जेको खुसी सबैभन्दा अमूल्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?