डा.किशोर प्रधान : चस्माको झण्झटबिना संसार हेर्न सक्ने बनाउने डाक्टर साहेब

चिरफारबिना आँखाको अप्रेसन गर्ने सर्जन, विदेशको अफर त्यागेर नेपालीको सेवामा

वर्षौंदेखि चस्मामार्फत् संसार हेरिरहेका आँखाहरु आशा बोकेर डा.किशोरराज प्रधानको अस्पतालमा आउँछन् । डा.किशोर उनीहरुको आँखामा ज्योति भरिदिन्छन् । ओंठसँगै वर्षौंपछि चस्माको तगारोविना रङ्गीन संसार देख्न पाएका उनीहरुका आँखा पनि मुस्कुराउँछन् । उनीहरु खुशी, डा. किशोर डबल खुशी !

हो, करिब डेढ दशकदेखि डा. किशोरराज प्रधानले लेजर प्रक्रियाबाट हजारौं आँखाहरुलाई चस्माको झन्झटबाट मुक्त गराइसकेका छन् । त्यो पनि चिरफार र टाँकाबिना । उनकै सक्रिय संलग्नतामा स्माइल लेजर आँखा शल्यक्रिया पद्दति विकास भएको छ । ‘सुचरलेस फर्मिक ट्रान्सप्लान्ट’ (धारिला उपकरण प्रयोग नगरी आँखाको नानी प्रत्यारोपण गर्ने एउटा पद्दति) गर्न सफल विश्वकै पहिलो चिकित्सक र लेजर प्रक्रियाबाट आँखाको शल्यक्रिया गर्ने नेपालका थोरै डाक्टरहरुमध्ये एक हुन् डा.किशोरराज प्रधान ।

आँखा अत्यन्त संवेदनशील अंग हो । यसलाई चिरफार गरेर, धारिलो उपकरणहरुको प्रयोग गरेर, टाँका लगाएर शल्यक्रिया गर्ने सोचबाटै त्रसित भइ वर्षौंदेखि चस्माको सहारामा बाँचेका आँखाहरुका लागि डा। प्रधानले विकास गरेको पद्दति अत्यन्तै सहज र फलदायी सावित भएको छ । पैसाको अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने डा। प्रधान आफूले कतिपयको निशुल्क शल्यक्रियासमेत गरिसकेको बताउँछन् ।

‘यदि मेरोमा उपचार गर्न आउने व्यक्तिले पूरा पैसा तिर्न सक्दैन भने मैले जति सक्नुहुन्छ त्यति दिनुस् भन्ने गरेको छु,’ डा।प्रधान अगाडि थप्छन्, ‘कहिलेकाहीँ निःशुल्क पनि गर्छु ।’

आँखाकै समस्याका कारण आर्मीमा भर्ती हुन नसकेको, चस्मा लाएकै कारण विवाह नभएकाहरु दुख बिसाउँदै आफ्नोमा आउने सुनाउँछन् उनी । यस्तो अवस्थामा बिना पैसा उनीहरुको उपचारसमेत गरिदिन्छन् डा.प्रधानले ।

पढाइ, काम तथा अनुसन्धानको सिलसिलामा विभिन्न देश घुमिसकेका डा.प्रधानको मेडिकल छवि नेपालको सीमामा सीमित छैन । अवसरले उनलाई अझै पनि देशबाहिर तानिरहन्छ । त्यसो त उनी आफैले पनि बेलायतमै जीवन बिताउने सपना देखेका थिए तर, आँखा शिविर सञ्चालन गर्ने क्रममा जाजरकोट पुगेपछि डा.प्रधानको जीवनले एकाएक ‘यू टर्न’ लियो । पढाइलेखाइ वा कामको सिलसिलामा शहर पसेका छोराछोरीको बाटो हेर्नलाई त्यहाँका वृद्धवृद्धाको आँखा स्वस्थ्य थिएन, उज्वल भविष्यको मार्गमा हिँड्नुपर्ने ससाना बालबालिकालाई चारैतिरबाट अन्धकारले घेरेको थियो ।

‘मैले त्यही वेला थाहा पाएँ नेपालमा स्वास्थ्य सेवा नपाएका कति धेरै मान्छेहरु रहेछन् भनेर,’ जाजरकोटको नाजुक अवस्था स्मरण गर्दै उनी भन्छन्, ‘उपचार त परै जाओस् खाना पनि धौधौ थियो त्यहाँका मान्छेलाई ।’

त्यही क्षण उनले निर्णय गरे, रिफ्राक्टिभ सर्जरीमा नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने । त्यही सपना साकार गर्न उनले आँखाको शल्यक्रिया गर्ने विभिन्न पद्दति विकास गरेका छन् । झोला बोकेर आँखाको उपचार गर्न विकट गाउँ पनि पुग्छन् उनी । शिविर सञ्चालन गर्छन् ।

तिलगंगा आँखा अस्पतालमा १२ वर्ष सेवा पु¥याएपछि अहिले डा.किशारले मेट्रिका आँखा अस्पताल नामक आफ्नै आँखा अस्पताल स्थापना गरेका छन् । अस्पताल सुविधासम्पन्न र परिवारमैत्री छ । मैतीदेवीस्थित उक्त अस्पतालमा एसियाका अन्य मुलुकमा नभएका आधुनिक उपकरणहरु भएको बताउँछन् डा।प्रधान । ‘सबै उपकरण जर्मनबाट ल्याइएको हो,’ उनी थप्छन् । सामान दिने कम्पनी र डा।प्रधान बीच ‘डिल’ भएको रहेछ, यदि उनी उक्त कम्पनीको ‘ब्राण्ड एम्बास्डर’ बन्ने हो भने कम्पनीले आफ्ना उपकरणहरु नेपाललाई दिने भनेर ।

‘त्यस कम्पनीको सामानहरु किन्न पैसा मात्रै भएर हुँदैन,’ मुस्कुराउँदै उनी भन्छन्, ‘मलाई आफ्नो ब्राण्ड एम्बास्डर बनाउने हो भने नेपालको लागि आफ्नो कम्पनीको सामान दिनुपर्छ भनेर डिल राखेपछि बल्ल मैले सामान पाएको हो ।’

‘त्यसैले मेरो उपचार व्यापारकेन्द्रित भन्दा पनि सेवा केन्द्रित हुनेछ,’ डा.प्रधान गर्विलो आवाजमा भन्छन्, ‘नेपालीहरुको आँखा ठिक गर्न भनेर नै मैले यी उपकरणहरु पाएको हुँ ।’

हुन पनि हेर्दा जति शालीन छ उनको व्यक्तित्व कुरा गर्दै जाँदा उत्तिकै फरासिलो पनि । डाक्टर साहेबको ‘डाउन टु अर्थ’ व्यक्तित्वका कारण उनको छवि झनै फराकिलो बन्दै गएको छ ।

उपचारका लागि आउने बिरामीसँग उनी यति मैत्रीपूर्ण शैलीमा व्यवहार गर्छन् कि उनीहरु डा.प्रधानसँग तस्वीर खिचाउँछन्, आफ्नाआफन्तलाई पनि त्यहीँ आउन सल्लाह दिने वाचा गर्छन् ।

उनीहरुको यस्तै ससाना क्रियाकलापमा डा.किशोर प्रधानले आफ्नो खुशी पाइरहेको बताउँछन् । पहिलो पटक चस्माविना संसार हेरिरहेका आँखालाई नियाल्दा, बुढो आमाबुबाले आशीर्वाद दिँदै गरेको ममतामयी स्पर्शमा, ससाना बालबालिकाको आशावादी मुस्कानमा अनि पेटभरि भात र गुन्द्रुक खाँदा जे अनुभूति हुन्छ त्यही हो डा.प्रधानको लागि खुशीको परिभाषा ।

डा.किशोर प्रधानको बारेमा थप जान्न चाहनुहुन्छ रु लोकपथले तयार पारेको भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?