विमलबहादुर विष्ट । डोटी । सुदूरपश्चिम प्रदेशमा अन्धविश्वास र कुरीतिका रुपमा रहेको छाउपडी प्रथालाई अन्त गर्न छाउगोठ भत्काउने अभियानले निरन्तरता पाएको छ । यहाँका धामीझाँक्रीसमेत छाउगोठ भत्काउनमा सक्रिए रहेका छन् । स्थानीय प्रशासनले छाउगोठ भत्काउनमा धामीझाँक्रीलाई सक्रिय रुपमा सहयोग गर्न आग्रह गरेपछि उनीहरु आफैँ अग्रसर भएर छाउगोठ भत्काउन थालेको पाइएको छ ।
डोटीमा एक दर्जन जति छाउगोठ धामीझाँक्रीकै सक्रियतामा भत्काइएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । गाउँघरमा छाउगोठ नराख्न धामीझाँक्रीले नै स्थानीयवासीलाई आग्रह गर्न थालेका छन् । यहाँका जिल्लामा दैनिक २० को सङ्ख्यामा छाउगोठ भत्काइन थालेको छ ।
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाबाहेक अन्य सबै जिल्लामा छाउगोठ भएको पाइएको छ जसमा सबैभन्दा बढी अछाम तथा दोस्रो स्थानमा डोटी जिल्लामा छाउगोठ रहेको पाइएको छ । यसै सिलसिलामा गएको पुस २६ गतेदेखि डोटीमा सञ्चालन गरिएको छाउगोठ भत्काउने अभियानअन्तर्गत अहिलेसम्म २३८ वटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिल्लामा छाउगोठ बनाउने तथा महिनावारीलाई छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय प्रशासनले कारवाही गर्ने जनाएपछि अहिले यहाँका स्थानीयवासीले डर र बाध्यताका कारण पनि छाउगोठ भत्काउने अभियानलाई साथ दिन थालेको प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । उनले भने, “छाउगोठ राख्ने र महिनावारीलाई गोठमा बस्न बाध्य पार्नेलाई कारवाही गरिने भनिएपछि अहिले स्थानीयवासीले हाम्रो अभियानलाई साथ दिएर छाउगोठ भत्काउन लागिपरेका छन्, यो सकारात्मक पक्ष हो ।”
पछिल्लो समय छाउगोठ भत्काउने अभियानमा यहाँका धामीझाँक्रीको पनि सहभागिता रहने गरेको स्थानीयवासी बताउँछन् । कतिपय गाउँमा त धामीझाँक्रीले नै छाउगोठ भत्काउन थालेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “महिनावारी भए घरैमा सुते देवीदेउता रिसाउने डरले स्थानीय महिला छाउगोठमा बस्न बाध्य थिए, अहिले धामीझाँक्री नै छाउगोठ भत्काउन अग्रसर भएकाले छाउपडी प्रथा अन्त गर्न सजिलो भएको छ ।”
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक देउवाले दिएको जानकारीअनुसार बिहीबारसम्म जिल्लाको बडीकेदार गाउँपालिकाका विभिन्न वडामा १०२, जोरायल गाउँपालिका–५ मा तीन, पूर्वीचौकी गाउँपालिका–५ काडामाडाँैमा १४, वडा नं ७ मा १८ तथा बोगटान फुड्सिल गाउँपालिकामा १०१ गरी कूल २३८ वटा छाउगोठ भत्काइएको छ । जिल्लामा गएको पुस २६ गतेबाट सञ्चालन भएको उक्त छाउगोठ भत्काउने अभियानअन्तर्गत अहिलेसम्म यति ठूलो सङ्ख्यामा छाउगोठ भत्काइएका हुन् ।
जिल्लाका नौवटै स्थानीय तहमा प्रहरी, स्थानीयवासी र धामीझाँक्रीको सक्रियतामा छाउपडी गोठ भत्काउने क्रम जारी रहेको छ । डोटी जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रजिअ पौडेलले जानकारी दिए । जिल्लालाई छाउपडी प्रथा उन्मूलनका लागि यहाँका नौवटै स्थानीय तहका जनप्रतिनिधिले छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
जिल्लामा छाउ भएकी महिलालाई घरमा राखे अनिष्ट हुन्छ र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका साथ महिनावारी अर्थात् छाउ भएकी महिलाका लागि बस्ने छुट्टै कटेरो बनाउने चलन रहेको थियो । जिल्लामा कम्तीमा पनि ४०० भन्दा बढीको हाराहारीमा छाउगोठ हुन सक्ने सो क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको अनुमान रहेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १६८ ९३० मा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको भए पनि सुदूरपश्चिममा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै रहेको छ । गृह मन्त्रालयले गएको पुस ९ गते यहाँका प्रजिअलाई छाउपडी कुरीति नियन्त्रण गर्न र छाउगोठ भत्काउन निर्देशन सहितको पत्र पठाएपछि अहिले डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया