मृत्युदण्डको कानुन ल्याउन माग

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीभित्र भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था हुने गरी कानुन बनाउनुपर्ने माग उठेको छ। जारी केन्द्रीय समितिको बैठकमा देशमा दिनप्रतिदिन भ्रष्टाचार मौलाउँदै गएकाले मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग उठेको हो।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरू पारदर्शी हुनुपर्ने आवाज उठाएका छन्। समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको बताउँदै भने– ‘अहिले मृत्युदण्डको कानुन नभएकाले सरकारले यस्तो कानुन बनाउनुपर्ने माग उठेको छ। भ्रष्टाचार संस्थागतरूपमा अगाडि बढेको छ।सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्छ। मृत्युदण्डको व्यवस्थाले मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ।’
उनीहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), यती होल्डिङ्स प्रालिको जग्गा भाडालगायतका विभिन्न विषयमा गम्भीर छानबिन गर्न आयोग गठन हुनुपर्नेसमेतका माग उठाएका छन्।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधनको प्रस्तावमाथि समूहगत धारणा राख्ने काम सम्पन्न भएको छ।शुक्रबार र शनिबारसम्म १५ समूहका नेताहरूले बैठकमा रिपोर्टिङ पेस गरेका छन्। नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?