टिप्परको ठक्करबाट महिलाको मृत्यु

तनहुँको व्यास नगरपालिका–४ बागभञ्ज्याङमा टिप्परको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ ।
दमौलीबाट लमजुङको भोर्लेटारतर्फ जाँदै गरेको ना३९प ५०० नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ग१ख ८६७८ नंको टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ गीतानगर बस्ने ४६ वर्षीया अनिता पाठक रहेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । घाइते पाठकको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्परको ठक्करबाट मोटरसाइकल चालक एवं मृतकका श्रीमान् ४९ वर्षीय कृष्ण पाठक घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । टिप्पर र चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?