महरा भेट्न जाँदैनन् नेताहरु, उनी पनि भेट्न चाहँदैनन्

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन्। कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ। उनलाई भेट्न आउनेहरू प्रायः जनमानसमा परिचित र शीर्षनेताहरू होलान् भन्ने धेरैलाई लाग्न सक्छ। तर उनलाई भेट्न सामान्य कार्यकर्ता र आफन्तबाहेक भिआइपी भने जाँदैनन्। ‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेताहरू आइरहेका हुन्छन्,’ कारागार प्रशासनका एक कर्मचारीले भने, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ।’

राज्यको पाँचौं वरीयताका व्यक्ति जबर्जस्ती करणीको मुद्दामा जेल चलान भएको यो नै पहिलो रेकर्ड हो। त्यसकारण पनि महराले अप्ठेरो महसुस गरेको जनाइएको छ। कारागार स्रोतका अनुसार महरा स्वयं पनि बाहिरी व्यक्तिसँग भेट्न रुचि राख्दैनन्। कारागारका कर्मचारीले ‘कस्तो छ ?’ भनेर सोध्दा उनी टाउको हल्लाएर ठीक रहेको संकेत गर्छन्। सञ्चारकर्मी वा कर्मचारीसँग त झन् उनी भेट्ने इच्छा नै राख्दैनन्। कारागार चलान भएलगत्तै उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेका थिए।

महरालाई कारागारको ‘क’ ब्लकको दुई नम्बर कोठामा राखिएको छ। चार भवन ९ब्लक० का आठ कोठा ९हल० मा २५र३० जनाका दरले कैदीहरू लस्करै सुत्छन्। उनको कोठामा अन्य २५ कैदी राखिएका छन्। स्रोतका अनुसार महरा दायाँबायाँका कैदीसँग खासै बोल्दैनन्। ‘कैदीको अवस्था बुझ्न भित्र छिर्छौं, भिआइपीहरूको अवस्था नियाल्छौं,’ कारागारका एक कर्मचारीले भने, ‘महराले निकै अप्ठेरो महसुस गरिरहनुभएको अनुभव हुन्छ, केही बोल्नुहुन्न।’ नागरिक दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?