नेपालको एकमात्र लोकबाजा संग्रहालयः गुरु दक्षिणाका रुपमा बनाएका थिए रामप्रसादले

६ सय ५५ वटा लोकबाजा कुरिरहेछन् आफ्नो धुन सुनाउन...

काठमाडौं । धेरैलाई थाहा नहोला काठमाडौंको, त्रिपुरेश्वरमा अवस्थित त्रिपुरेश्वर महादेव मन्दिरको परिसरमा नेपाली लोक बाजा संग्रहालय छ । संग्रहालयमा हजारौं वर्ष पुराना लोक बाजाहरु राखिएका छन् । साढे २ दशक समयावधिमा संग्रहालयले ६ सय ५५ वटा बाजाहरुको जगेर्ना गर्न सफल भएको छ । नेपालका विभिन्न ठाउँ घुमेर ती बाजालाई उनीहरुकै उद्गमस्थलबाट पहिचान गरी ल्याइएको हो । जसकारण हरेक बाजाका धुनमा कुनै न कुनै कथा गुञ्जिन्छ । यिनका बनावटमा समेत तत्कालीन समय र मानिसको सीप र जीवनशैली प्रतिबिम्बित छन् । त्यसैले त, लोक बाजा हाम्रो इतिहासको दस्तावेज हो । यस दस्तावेजलाई संरक्षण गर्ने जिम्मेवारी बहन गरिरहेका छन् छ रामप्रसाद कँडेलले ।

सन् १९९५ मा थाङ्का चित्रका व्यवसायी कँडेलले ‘गुरु दक्षिणा’का रुपमा स्थापना गरेका हुन् यो संग्रहालय ।

संगीतमा खासै रुचि नभएका रामप्रसादको लोक बाजाको संकलनमा लागेपछि नै देशका मौलिक बाजा र संगीतसँग साक्षात्कार भयो । यदि मातृभूमि आमा हुन् भने लोक बाजा उनका गहनाहरु हुन् भन्ने उनले त्यसपछि बाजा मात्र होइन तिनका धुनहरु पनि रेकर्ड गरेर संग्रहित गर्नुपर्छ भन्ने बुझेर नै पुराना भिडियो र अडियोहरु पनि संकलन गरे । त्यसरी संकलन गरिएको अडियो र भिजुअललाई जोडेर सुन्दर डकुमेन्ट्री निर्माण गरे । अहिले त्यसलाई संग्रहालयमा बजाइन्छ ।

तर बिडम्बना ती धुन कहिलेकाहीँ शैक्षिक भ्रमणका क्रममा आउने विद्यार्थी, संगीतमै अनुसन्धान गर्ने केही अनुसन्धानकर्ता र फाट्टफुट्ट पर्यटकबाहेक अरुको कानमा पुगेको छैन ।

संगीत फगत ध्वनिहरुको संगम मात्र होइन, मानव सभ्यताको द्योतक हो । यो जीवन्त हुन्छ । यसले सिंगो समाज, त्यहाँको परिवेश र पात्रलाई प्रतिबिम्बित गर्छ । संगीतले तत्कालीन युगको पहिचान बोकेको हु्न्छ । विभिन्न भूगोलको फरक कालखण्डमा बसोबास गर्ने मानिसका प्रकार, उनीहरुको जीवनशैली, सोचाइ, चालचलन लगायत विविध पक्षको लोभलाग्दो प्रतिबिम्ब हो संगीत । त्यसैले कुनै मुलुकको मौलिक संगीत र वाध्यवाजनलाई त्यहाँको धरोहर मानिन्छ । सार्वजनिक सम्पत्तिका रुपमा जगेर्ना गरिन्छ ।

तर, ६ सय ५५ वटा लोक बाजालाई जोगाएर राख्ने नेपाली लोक बाजा संग्रहालय भने एक्लो छ । भित्तामा मुस्कुराइरहेका हुन्छन् सारङ्गी र कर्नाल, हावामै लहरिन्छन् गिर्नार र झँगुलो तर, तिनका धुन सुन्न विरलै आउँछन् आगन्तुकहरु ।

यता गुठी संस्थान र काठमाडौं युनिभर्सिटीको सम्झौताको चेपमा परेर संग्रहालयको अस्तित्व धरापमा छ । संग्रहालय भएको जमिनमा काठमाडौं युनिभर्सिटीको संगीत विभाग सञ्चालन गर्ने सहमति युनिभर्सिटी र गुठी संस्थानबीच भइसकेको छ ।

यद्यपी,संगितलाई जोगाउनुपर्छ भनेर दिलोज्यान दिएका कँडेलले हार मानेका छैनन् । जसरी पनि लोक बाजाका लागि सुरक्षित छानो जुटाउने प्रयासमा लागिपरेका छन् । छानो नपाए खुला आकाशलाई छानो मान्ने बताउँछन् उनी ।

कँडेलका अनुसार अहिलेसम्म १३ हजारवटा लोकबाजा अस्तित्वमा रहेको भएपनि सबैको संकलन हुनसकेको छैन । उनी चाहन्छन् आधुनिक प्रविधिको सहायताले धेरै भन्दा धेरै लोक धुनहरु संकलन गरियोस् । धुन हराएर बाजाहरु आत्माविनाका शरीरजस्तो हुने दिन नआओस् । यस बारेमा सरकारले बेलैमा सोचिदेओस् ।

लोकपथले तयार पारेको लोकबाजा संग्रहालयको भिडियो हेर्न लिंकमा जानुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?