यो हो नेकपाको महाधिवेशनअघि टुंगिनुपर्ने काम

एकताका बाँकी काम : नेकपामा अझै एकीकरण प्रक्रियाको काम सकिएको छैन । केन्द्रीय सल्लाहकार कमिटी, अनुशासन, लेखा र निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, भारतबाहेकका प्रवास कमिटीहरू र केन्द्रीय विभागहरूले पूर्णता पाइसकेका छैनन् । ६ पुसमा सम्पन्न स्थायी समिति बैठकले १५ दिनभित्र ती काम सम्पन्न गर्ने निर्णय गरे पनि ढिलाइ हुँदै गएको छ ।

सदस्यता नवीकरण : पूर्वएमालेको पाँच लाख र पूर्वमाओवादीको तीन लाखसहित करिब आठ लाख संगठित सदस्य रहेको नेकपाको दाबी छ । नवीकरणसहित नेकपाको नयाँ सदस्यता वितरण भएपछि मात्र केन्द्रदेखि वडासम्मका अधिवेशन गर्ने आधार तयार हुनेछ । आगामी चैतभित्र सदस्यता नवीकरण गरेर अभिलेख राख्ने संगठन विभागको कार्ययोजना सचिवालयबाट पास भएको छ । केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले कार्यान्वयनमा जान बाँकी छ ।

भावनात्मक एकताको सन्देश : नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी समूहकै नाममा अहिले पनि भागबन्डा हुँदै आएको छ । त्यसबाहेक अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको मुख्य गुट मात्र होइन, अन्य नेताका उपगुट पनि सक्रिय छन् । भावनात्मक एकताको सन्देश दिने गरी बृहत् कार्यकर्ता भेला, आमसभाजस्ता कार्यक्रमहरू नेकपाले गर्न सकेको छैन । सबै प्रदेश र जिल्लाहरूमा भावनात्मक एकताको सन्देश दिन भेला र सभा गर्ने एक वर्षअघिदेखिको कार्ययोजना अधुरै छ ।

तल्ला कमिटी र जनसंगठनको अधिवेशन : ०७७ भित्र केन्द्रीय महाधिवेशन गर्न नेकपाले प्रदेश, जिल्ला, क्षेत्र, स्थानीय तह र वडाहरूको मात्र होइन, २२ जनवर्गीय संगठनहरूको पनि अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । सदस्यता नवीकरणसम्बन्धी काम सकिएपछि पनि यी काम सक्न धेरै चाँडो गरे पनि ६ महिना लाग्छ ।

कार्यदिशाको बहस : नेकपाले साबिक एमालेले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद, माओवादीको एक्काइसौँ शताब्दीको जनवाद र माओवाद महाधिवेशनसम्मका लागि स्थगित गरेर जनताको जनवादको कार्यदिशा अवलम्बन गरिरहेको छ । नयाँ कार्यदिशाबारे पार्टीपंक्ति प्रशिक्षित नभएकै अवस्थामा अन्तरिमकालको सिद्धान्त र कार्यदिशामा केन्द्रीय नेता नै सन्तुष्ट छैनन् । महाधिवेशनको मिति तय भइसकेपछि निश्चित समयसम्म सिद्धान्त र कार्यदिशाको प्रश्न बहसमार्फत टुंग्याउनुपर्ने हुन्छ । राजनीतिक, वैचारिक कार्यदिशामा सहमति नभए एकता महाधिवेशन सर्वसम्मत बनाउने पूर्वघोषणा कार्यान्वयन हुनेछैन ।

नेतृत्वको संरचना र आकार : पार्टी एकतापछि नेकपाले विधानबाटै केन्द्रीय कमिटीदेखि वडा तहसम्मका कमिटी ठूला आकारका बनाएको छ । ठूला कमिटीकै कारण नियमित बैठक भएका छैनन् । केन्द्रमा दुई अध्यक्षमा अधिकार केन्द्रीकरण गरिएको छ । एकल कि बहुपदीय संरचनाजस्ता नीतिगत प्रश्न मात्र होइन, सबै तहका कमिटीको आकार कत्रो हुनेजस्ता प्रश्नहरू महाधिवेशनअगावै टुंगो लगाउनुपर्नेछ । -नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?