कुन राशिमा मानिसलाई कस्तो रङ फाप्छ ? हेर्नुहोस्

काठमाडौं । ज्योतिषशास्त्रको आधारमा राशिअनुसार व्यक्तिको शरीर, स्वभाव, रुचि, गुण, दोष, शुभ, अशुभ आदिबारे व्याख्या गरिएको हुन्छ । राशिअनुसार व्यक्तिको रुचि र दैनिक जीवनमा प्रयोग गर्ने रङहरु फरक फरक हुने गर्दछ । मेष राशिलाई मन परेको रङ वृष राशिलाई मन नपर्न सक्छ अथवा राशिको अनुसार व्यक्तिको स्वभाव फरक हुन्छ । लालकिताव तथा अन्य ज्योतिषशास्त्रको किताबमा उल्लेख भए अनुसार व्यक्तिको स्वभाव र राशि अनुसार मन पर्ने रङ यहाँ प्रस्तुत गरिएको छ । साथै राशिसँगै न्वारानको नामको सुरुको अक्षर पनि दिइएको छ ।

मेष राशि (चू चे चो ला ली लू ले लो अ) – मेष राशि भएका मानिसहरु चञ्चल,धार्मिक प्रवृत्ति, आँटी, शाहसी तथा पराक्रमी, राज्यबाट सम्मानित, स्त्री साथिहरु धेरै भएका, दानी, पानीदेखि डराउँने स्वभावको हुन्छन् । यस राशिको व्यक्तिलाई मंगलबार शुभ र बुधबार अशुभ हुन्छ । प्राय रातो तथा कफि कलर मन पराउँने यिनीहरुलाई रातो कपडाको प्रयोग तथा धारणले सुहाउँने गर्दछ । त्यसैगरी मंगलको पूजापाठ र जप गर्नुका साथै मंगलबार गणेश एवम् हनुमानको पूजा गर्नु लाभदायक हुन्छ ।

वृष राशि (इ ऊ ए ओ वा वी वू वे वो) – वृष राशि भएका व्यक्तिहरु भोगी, दानी, पवित्र, कुशल, सत्वसम्पन्न, बलवान, धनवान, भोगविलासरत, तेजस्वी हुन्छन् । स्त्रीहरूको प्यारो, पक्का मित्रता राख्ने, मध्यावस्था र वृद्धावस्थामा विशेष सुख पाउँने हुन्छन् । यस राशिका लागि कला र सङ्गीत लाभदायक हुन्छ । यस राशिको व्यक्तिहरुले सेतो र खैरो रङको कपडा मन पराउँदछन् । खैरो,सेतो तथा लाईट रङको प्रयोग गर्नाले कन्फिडेन्ट पावरमा वृद्धि हुने, अरुलाई सजिलै प्रभावित पारी काम लिन सकिनेछ ।

मिथुन राशि (का की कू घ ङ छ के को ह) – मिथुुन राशि भएका व्यक्तिहरु मृदुभाषी, चञ्चल दृष्टि, दयालु, कामुक, सङ्गीतप्रेमी, कण्ठरोगी, यशस्वी, धनी, गुणवान गोरो वर्णको, कार्यकुशल, बोल्न सिपालु, कम बोल्ने, बुद्धिमान, दृढसङ्कल्प र न्यायप्रिय हुन्छन् । यस राशिवाला व्यक्तिका धेरै व्यवसाय हुने वा व्यवसायमा परिवर्तन भइरहने हुन्छ । यस राशिको मालिक बुध भएकोले हरियो रङका कपडा र हरियो रङको वस्तुहरु शरीरमा धारण गर्नाले समयमा कामहरु बन्ने, शरीरमा पोजेटिभ तरङगहरु प्रवाह हुने हुन्छ ।

कर्कट राशि (ही हू हे हो डा डी डू डे डो) – कर्कट राशिका व्यक्तिहरु जाँगरिलो, धनी, धार्मिक, शूरो, गुरुको प्रिय, शिरको रोगी, अति बुद्धिमान, दुर्बल शरीरवाला, सबै कामको ज्ञाता, प्रवासी, भयड्ढर क्रोधी, दुर्बल, दुःखी, असल मित्रवाला, घरमा रुचि नराख्ने र कुटिल हुन्छन् । सर्वसम्मत्तिले काम गर्नु राम्रो मान्दछन् । साहित्य, संगीत र कलामा रुचि राख्दछन् । तरल पदार्थको व्यापारबाट फाइदा गर्दछन् । यस राशिको मालिक चन्द्रमा भएकोले सेतो कलरको कपडा तथा सेतो रङका सामानहरु प्रयोग गर्दा यिनिहरुलाई फाइदा हुन्छ । आफु बस्ने घरमा सेतो तथा खैरो सामानहरु प्रयोग गरेर कोठा सजाउँदा लाभ मिल्दछ ।

सिंह राशि ९मा मी मू मे मो टा टी टू टे) ः सिंह राशिका व्यक्तिहरु क्षमाशील, काममा सक्षम, मद्य–मांसमा सदैव आशक्त, देशमा भ्रमण गर्ने, असल मित्र वाला, विनयशील, शीघ्र क्रोधित हुने, मातापिताको प्रेमी, व्यसनी र प्रसिद्ध हुन्छन् । सदैव उच्च पद प्राप्तिमा लालायित हुने, राजनीतिमा चासो राख्ने तथा घमण्डी स्वभावका हुन्छन् । यस राशिलाई आइतबार शुभ र मंगलबार अशुभ हुन्छ । यस राशिको मालिक सूर्य भएकोले शरिरमा रातो र कफि रङको कपडाहरु लगाउँदा सुहाउँने तथा रातो रङको पोजेटिभ तरङग प्रवाह गर्दछ ।

कन्या राशि (टो प पी पू ष ण ठ पे पो)ं – यस राशिका व्यक्तिहरु विलासी, सज्जनहरूलाई आनन्दित पार्ने, सुन्दर, धर्मले परिपूर्ण, दानी, निपुण, कवि, वैदिक मार्गको अनुगामी, सर्वप्रिय, गीत, संगीत र नृत्यको धूनमा आशक्त, प्रवासी र स्त्रीबाट दुःखी हुन्छन् । त्यसैगरी महिलाको जस्तो स्वभावको, सुखी, कोमल शरीर र मनवाला, शास्त्रज्ञ, धार्मिक, हुन्छन् । यस राशिको मालिक बुध भएकोले हरियो सामानको व्यापार व्यवसाय गर्नाले फाइदा हुने हुन्छ । शरीरमा प्रायजसो हरियो कपडा धारण गर्नाले र हरियो सामान बोकीराख्नाले राम्रो हुन्छ ।

तुला राशि (रा री रू रे रो ता ती तू ते) – तुला राशिका व्यक्तिहरु अकारण क्रोध गर्ने, दुःखी, मधुरभाषी, दयालु, चञ्चल नेत्रवाला, अस्थिर धनवाल, घरमै पराक्रम देखाउने, व्यापारमा चतुर, देवपूजक, मित्रहरूप्रति दयालु, मित्रहरूको प्रिय र परदेशवासी हुन्छन् । त्यस्तै धार्मिक, चतुर, बुद्धिमान, राजप्रिय, मिष्ठान्नप्रेमी, पितृसेवी, देवभक्त, गुरुभक्त, धनी, वाचाल, साहित्य र संगीतप्रेमी, युद्धप्रेमी, कृपालु र सङ्कठनप्रेमी हुन्छ । यस राशिको मालिक शुक्र भएकोले सेतो र खैरो रङको वस्तुको धारण वा प्रयोगले शरीरलाई राम्रो गर्दछ । सेतो रङको धारणले शरीरमा पोजेटिभ उर्जा सञ्चार हुने भएकोले प्रगति पनि चाडै हुन्छ ।

वृश्चिक राशि (तो ना नी नू ने नो या यी यु) – वृश्चिक राशिका व्यक्तिहरु प्रायः बाल्यावस्थामै परदेशवासी, क्रूर स्वभावको, शूरो, पहेँलो नेत्र भएको, परस्त्रीमा आशक्त, अभिमानी, आफ्नो भाइबन्धुहरूप्रति निर्दयी, आफ्नो साहसले धन प्राप्त गर्ने, आफ्नै आमाप्रति पनि दुष्ट बुद्धिवाला, धूर्तता र चोरीको अभ्यास गर्ने हुन्छन् । त्यसैगरी मंगलको पूजापाठ र जप गर्नुका साथै मंगलबार गणेश र हनुमानको पूजा गर्नु लाभदायक हुन्छ । रातो र कफि रङ मन पराउँदछन् । रातो र कफि रङ लगाएर बाहिर हिड्दा व्यक्तित्वमा निखारता आउँने तथा अरुले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ ।

धनु राशि (ये यो भा भी भू ध फा ढा भे) – धनु राशिका व्यक्तिहरु शूरो, सत्य बुद्धिले युक्त, सात्विक, मानिसको हृदयलाई आनन्दित पार्ने, शिल्पकला जान्ने, धनले युक्त, सुन्दर स्त्रीवाला, अभिमानी, चरित्रवान, आकर्षक बोलीवचनको, तेजस्वी र केही मोटो शरीरको हुन्छन् । बिहीवार क्रयविक्रय गर्नाले विशेष लाभ हुन्छ । यस राशिको मालिक वृहस्पति भएकोले पहेँलो र रातो रङको प्रयोग गर्नाले शरीरमा सकारात्मक उर्जाहरु प्रवाहित हुन्छ । कोठा तथा घरमा पनि पहेलो रङ लगाएको तथा पहेँलो रङले सामानहरु सजाउँदा राम्रो हुन्छ ।

मकर राशि (भो जा जी खी खू खे खो गा गी) – मकर राशिका व्यक्तिहरु आफ्नोे कुलमा कमजोर, स्त्रीहरूमा वशीभूत, विद्यामान, परनिन्दक, संगीत पे्रमी, सुन्दर स्त्रीहरूको प्रियपात्र, पुत्रयुक्त, माताको प्रिय, धनी, त्यागी, दयालु, भाइहरूले युक्त र सुखका लागि चिन्तनरत हुन्छन् । यस राशिको मालिक शनि भएकोले मकर राशिका व्यक्तिहरुलाई कालो र खैरो सामानको प्रयोग गर्दा राम्रो हुन्छ । आफूले प्रयोग गर्ने कपडा वा सामान कालो भयो भने सकारात्मक सोचाई आउँदछ ।

कुम्भ राशि (गू गे गो सा सी सू से सो दा) ः कुम्भ राशिका व्यक्तिहरु दानी, अल्छी, कृतज्ञ, धनी, वाहन एवम् अन्य भौतिक साधनले सम्पन्न, शुभ दृष्टि वा सधैँ कोमल स्वभावको, धन र विद्याका लागि प्रयत्नशील, पुत्रयुक्त, स्नेहयुक्त, यशस्वी, आफ्नै शक्तिले धनको उपयोग गर्ने, उदार र निर्भीक हुन्छन् । यस राशिको स्वामी पनि मकर राशिको जस्तै शनि भएकोले कालो तथा घुरमैलो सामानको व्यापार व्यवसायबाट मनग्ये धन आर्जन गर्दछन् । आफूले पनि कालो र खैरो कपडा धारण गर्नाले सकारात्मक सोचाई आई जीवनमा राम्रो प्रगती गर्दछन् ।

मीन राशि (दी दू थ झ ञ दे दो चा ची) – मीन राशिका व्यक्तिहरु गम्भीर चेष्टा गर्ने, शक्तिशाली, बोल्नमा चतुर, मानिसहरूमा श्रेष्ठ, क्रोधी, कृपण, ज्ञानसम्पन्न, श्रेष्ठ गुणहरूले युक्त, कुलमा प्रिय, नित्य सेवा भाव राख्ने, शीघ्रगामी, नृत्य–गीतादिमा कुशल, शुभ दर्शनवाला र भाइबन्धुहरूको प्रेमी हुन्छन् । त्यस्तै धनी, मान्य, नम्र, भोगी, प्रसन्न, मातापिता र देवार्चनमा तत्पर, उदार, सुगन्धित वस्तुको व्यवहार गर्ने, जितेन्द्रिय, गुणी, निर्मल बुद्धियुक्त, शस्त्रविद्याको ज्ञाता, शत्रुजयी, निष्कपटी, खरो स्वभावको, धर्मानुरागी, साहित्य र संगीतप्रेमी आदि लक्षणयुक्त हुन्छ । राशि स्वामी बृहस्पती भएकोले मीन राशि भएका व्यक्तिहरुले प्रायजसो सधैँ पहेलो वस्तुको प्रयोग गर्नाले सकारात्मक उर्जा शरीरमा प्रवाह भई जीवनमा राम्रो प्रगती गर्दछन् ।

ज्यो। दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?