सोझो र निष्ठावान शहीद र धुर्त मन्त्री !

माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह ।

वर्षको एकदिन माघ १६ गते ‘शहीद दिवस’ मनाउने नाममा धूलो लागेका शहीदका फोटा र शालिक पुछपाछ गरी माल्यार्पण गरिन्छ । एकदिन पूजा गरेर ३ सय ६४ दिन नै शहीदको आत्मालाई रूवाउने शासक र नेताको हालिमुहाली चलेको नेपालमा, मरेपछि कदर र सम्मान गर्ने चलन नै छ । त्यसो त वर्षमा एकदिन शहीद मात्र किन, कुकुरलाई पनि माला लगाइदिने चलन छ नेपालमा । त्यसैले शहिद दिवस पनि एउटा औपचारिकता र लोकाचार पु-याउने श्रद्धारहित ‘श्राद्ध’ का रूपमा आइरहन्छ ।

‘देशले रगत मागे मलाई बली चढाउ……..’ भन्ने आदर्शको काब्यात्मक मान्यतामा शहीदको भावना देखिन्थ्यो । आजकाल, ‘देशले माग्दैन, आफैँले दिनुपर्छ………’ भन्न थालिएको छ । दुईटै मान्यता सही लाग्दछ । कवि भूपी शेरचनले ‘मरेर शहीद हुने हो, बाँचेर त हेर जिउन झन् कति गाह्रो छ !…..भन्ने कविता लेखे । यो पनि सत्य लाग्दछ । यी सब सत्यका वीच अर्को महान् सत्य के हो भने आफ्ना सद्गुणहरूलाई शहिद बनाएर दुर्गुणहरूको जीवन बिताउनु सबभन्दा ठूलो अभिशाप हो ।

‘मृत्यु भएरमात्र होइन, दृढ आदर्शले शहीद बनाउँछ’ भन्ने यथार्थ हाम्रा महान शहीदहरूले आफ्नै बलिदानद्वारा सिद्ध गर्नुभएको छ । पं. शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त र गंगालाल सुपरिचित शहीद हुनुहुन्छ । तर नेपाल राष्ट्रले उहाँहरू जस्ता महान सपूत अरु पनि जन्माएको छ । ‘देशमा संसदीय व्यवस्था ल्याउने’ उद्देश्यबाट बि.सं. १९८८ मा ‘प्रचण्ड गोर्खा’ नामक संस्था स्थापना गर्ने खण्डमान सिंह, मैनाबहादुर खत्री, खड्गमान सिंह र रंगनाथ शर्मालाई आजीवन कारावास दिएपछि मैनाबहादुर र खण्डमानले कारागारमै दिएको शहादत, सेनाको जागीर छोडेर राणा विरोधी गतिविधिमा लागेका प्रथम शहीद लखन थापा मगरको बलिदान लगायत समाजसेवी कृष्णप्रसाद कोइरालाको जेलमै मृत्यु, प्रजापरिषदकै बलबहादुर पाँडेको कारावासमै सहादत, २००७ सालको जनक्रान्तिमा थीरबम मल्ल, भोगेन्द्रमान सिंह लगायतका सुदूर पश्चिममा किसान आन्दोलनका प्रणेता भीमदत्त पन्त, लगायत योगेन्द्रमान शेरचन, दिवानसिंह राई, सरोज कोइरालाजस्ता धेरै सपूतहरूले नवयुग र प्रजातन्त्रका लागि स्वयंलाई बलिदान दिएको इतिहास देखि २०६२–०६३ को जनआन्दोलनसम्मका शहादतका घटनाक्रमले यो राष्ट्र सजिएको छ ।

०७२ साल फागुन १९ मा सरकारले कांग्रेसको क्रान्तिका शहीदहरु भीमनारायण श्रेष्ठ, क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, शम्शेरबहादुर खत्री, ठगीनाथ दाहाल, खगेन्द्रराज दाहाल, राम उपाध्याय, लक्ष्मण उपाध्याय, हरि नेपाल, भीमदत्त पन्त, चन्द्रबहादुर पुरी, चन्द्र डाँगीसहित २२ जना सपुतहरूलाई विधिवत् शहीद घोषणा गर्यो ।

प्रजापरिषदका संस्थापक नेता, ‘जिउँदा शहीद’, पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य (बि.सं. १९६९–२०४९) ले भारतीय नेता जयप्रकाश नारायणलाई चिठी लेख्नुभएको रहेछ, मिति थाहा भएन । सो पत्रमा उहाँले व्यक्त गर्नुभएको थियो, “भूमि, शिक्षा र उत्पादनमा सबैको पहुँच बढाउनु कम्युनिस्टभन्दा अगाडि लाग्ने बाटो हो । अब चारतारे र लालझण्डाको विवाद हुनसक्छ । झन्डाहरूको विवाद छोडिदेऊ । कसैले प्रजा परिषदको झण्डा बोक्नु पर्दैन…..।” वास्तबमा शहीदको सपनाको प्रारम्भिक लाईन नै यही हो ।

शहीद राष्ट्रको ईश्वरीय रुप हो । शहीदको सपना नै लोकतान्त्रिक राष्ट्रको लक्ष्य र प्रतिबद्धता हुनुपर्ने हो । तर हामी देख्दैछौँ, सज्जन नेपाली शहीद हुन्छ, छट्टु नेपाली सत्ताधारी हुन्छ । शहीद घोषणाको प्रियतावादी सस्तो राजनीतिले गर्दा शहीदको महत्वकै अवमूल्यन गर्ने धृष्टता देखाइरहेको छ । माओवादीले ‘शहीदको खेतीको रुपमा लाशको राजनीति’ गरेर आखिर शहीदकै अवमूल्यन र अपमान ग-यो ।

देशका कान्ला–कान्लामा मानव हत्या गरेर ‘शहीद’ जन्माइए एकदशकका अवधि (२०५२–०६२) मा । त्यसअघिको नेपालका गाउँमा खसी काट्ने (मार हान्ने) मान्छे पाउन गाह्रो हुन्थ्यो । आज मान्छेले मान्छेको शिकार गर्न कुनै गाह्रो देखिन्न । यो ‘सजिलो’ माओवादीले ल्याइदिएको हो, ब्यक्तिहत्याको राजनीति चलाएर । ‘शहीद’ बनाउने यो राजनीतिक खेल अहिले पनि चलिरहेको छ । शान्ति सम्झौतादेखि झण्डै डेढदशक यता करिब चार हजार नागरिकको गैरन्यायिक हत्या भइसकेको छ । पार्टीका मान्छे जाँड खाएर पिसाब गर्न बस्दा डिलबाट खसेर मरेकोलाई पनि शहीद घोषणा गर्ने दुनियामै नभएको परिपाटी नेपालमा बसाइयो । त्यसैले नेपालमा लाशको राजनीति र शहिदको खेती गर्ने राजनीति चलिरहेको छ ।

सायद नेपाल नै यस्तो मुलुक होला जहाँ विश्वका सबभन्दा बढी शहीद होलान् । यहाँ सबैजसो पार्टीका बेग्लाबेग्लै शहीद छन् । शहीद भन्ने शब्द श्रद्धाले शिर निहुरिने आकृति नभएर राजनीतिको सस्तो उपाधि बन्नपुग्यो । अति भएपछि सरकारले आदर्श शहिद र सामान्य शहिद भनी वर्गीकरण ग-यो । ‘जिउँदो शहीद’, ‘राजनीति पीडित’ आदि शब्दावलीद्वारा शहिदका वर्ग खडा गर्ने काम भएको छ । त्यसैले यहाँ शहिद भनेर मात्र पुग्दैन, कुन वर्गको शहीद भन्ने प्रश्न स्वतः उत्पन्न हुन्छ । अघिअघि, शहिद भनी उच्चारण गर्दा त्यहाँ गरिमा, गौरब र श्रद्धाको जुन मानसिकता प्रकट हुनेगथ्र्यो, यस ‘गणतन्त्र’ मा त्यो मानसिकतालाई समेत शहीद बनाइसकेको छ । बाह्रबुँदे समझदारीपत्रदेखि आजसम्मका राजनीतिक सहमतिहरू पनि शहिद भएका छन् । यस्तै हो भने, के थाहा, मुलुक नै शहीद हुने अवस्था नआउने ग्यारेण्टी कोसँग छ र ! सीमाना सहिद भईरहेको छ । धुन्धुकारी राजनीतिको दबदबामा सबैलाई शहिद बनाउने खतराबाट शहिद हुनेले बच्नु पनि शहीद दिवसको होशियारी सन्देश बुझ्नु जरूरी भएको छ ।

नेपाल र नेपालीको परिवर्तन, मुक्ति, प्रजातन्त्र, समृद्धि एवं स्वाभिमानी जीवनका लागि प्राणको आहूति दिने महान शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली, तब मात्र पूर्ण र प्रमाणित हुन्छ, जब कृतघ्न राष्ट्रले उनीहरूका सपना सार्थक र साकार पार्ने कटिबद्धताका साथ ब्यवहारमा उतार्छ । यस्ता दुष्प्रवृत्तिको अन्त्य भई शहीदको सपनालाई मार्गदर्शक प्रतिबद्धता मानेर इमानदारीपूर्ण पालना गर्ने सद्बुद्धि खासगरी राजनीतिक नेतृत्वमा देखापर्न थालोस । नवयुग ल्याउने प्रतिबद्धताका साथ सत्यको शक्तिले सत्ताको शक्तिमाथि विजय हासिल गर्न ऊर्जा र प्रेरणा दिँदै प्राणको आहूति दिने महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली ।
चन्द्रमणि गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?