६५ जना असहायकी प्यारी ‘सुमी आमा’ : पत्रकारबाट समाजसेवामा यसरी होमिइन्

काठमाडौं । भक्तपुर निवासी सुमित्रा गुरागाईंको दिन ६५ जना शारीरिक रुपमा अशक्त असहायहरुको स्याहारसुसारबाट शुरु हुन्छ । उनीहरुलाई आहारविहारको व्यवस्था मिलाउनु, सफासुघ्र राख्नु, सुरक्षित राख्नु उनैको जिम्मेवारी हो । कोही आँखा देख्दैनन्, कोही भनेको बुझ्दैनन्, कसैका हातगोडा चल्दैनन्, कोही हिंस्रक छन्, सबैलाई उनीहरुकै सहजताका हिसाबले ख्याल राख्नुपर्ने हुन्छ । अनेकौं तानाबाना बुनेर उनीहरुको चित्त बुझाइदिनु पर्ने हुन्छ ।

सुमित्राले आफ्नो डेढ वर्ष यही काममा समर्पण गरिसकेकी छिन् । उनको ममतामयी व्यवहारले गर्दा नै त होला सबैले उनलाई ‘सुमी आमा’ भन्दै बोलाउँछन् ।

आफ्नै नेतृत्वमा सुमित्राले मानव कल्याण समाज सेवा घर नामक संस्था मार्फत् यस्ता दीनदुखी, असहायहरुको सेवा गरेको डेढ वर्ष भयो । यसअघि उनी पेशाले पत्रकार थिइन् । आफ्नो जन्मथलो हेटौंडामा ९ वर्ष पत्रकारिता गरिसकेपछि उनको सपनाको यात्रा काठमाडौंतर्फ मोडियो । आँखाभरि आशा बोकेर असल पत्रकार बन्न राजधानी आएकी उनले कहिले स्वास्थसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिन् त कहिले अस्पतालमा काउन्सिलरका रुपमा काम गरिन् ।

उनको जीवनको टर्निङ प्वाइन्ट भने मानवसेवा आश्रम बन्यो । जनता टिभीमा उनी आश्रमसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्थिन् । त्यही क्रममा उनले देशका विभिन्न जिल्लामा भएका असहाय, सडक मानवहरुलाई नजिकबाट नियाल्ने अवसर जुट्यो । रिपोर्टिङकै क्रममा भक्तपुर पुग्दा सडकमानवहरुको दुर्दशा देखेर सुमित्रालाई खपिनसक्नु भयो । र, उनले समाजसेवाको बाटो रोजिन् ।

हरेक साँझ सुमित्रा खानेकुराको डब्बा लिएर भक्तपुरको ५ तले दरबारको सेरोफेरो घुम्थिन् । उनले दिएको २ गाँस खानाले ती असहायहरुको मुहारमा दुई पाथी जति खुसी थपिदिन्थ्यो । अनि, सुमित्रा २ क्वीन्टल आनन्द महसुस गर्थिन् । यही क्रममा उनले संस्था नै स्थापना गरेर सेवा गर्ने योजना बुनिन् । र, त्यसलाई साकार गरिन् ।

त्यसो त, शुरुशुरुमा सुमित्राको समाजसेवादेखि उनका बुबाआमा पनि खासै सन्तुष्ट थिएनन् । तर, आमाबुबाको मन न हो पग्लिहाल्यो । अहिले पनि, आर्थिक समस्या, सुरक्षाको समस्या आदि चुनौती त छँदै छन् सुमित्राको बाटोमा तर, सबैभन्दा दुख त उनलाई त्यो वेला लाग्छ जब मानिसहरु महिला भएकैले गर्दा संस्थाको नेतृत्वकर्ता सुमित्रा हुन् भनेर पत्याउँदैनन् । तपाईंको ‘सर’सँग कुरा गर्नुछ भन्दै सुमित्रालाई सजिलै नजरअन्दाज गरिदिन्छन् ।

यद्यपी, यी सबै अप्ठ्याराहरुलाई सुमित्राले हाँसीहाँसी फाँसीसम्म पु-याउँदै आएकी छिन् । त्यसैले त, ६५ जना असहायका निमित्त उनको छत्रछायाँ नै ‘घर’ बनेको छ र उनी चाहिँ सबैकी प्यारी ‘सुमी आमा’ ।

उनको जीवनकथा हामीले यस भिडियोमा पस्केका छौं । नछुटाइ हेर्नुहोला :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?