असुरक्षित सडक : पैदल यात्रु यसरी मारिन्छन्, बढ्दैछ ‘हिट एण्ड रन’ का घटना

काठमाडौं । मङ्सिर २८ गते काठमाडौंको बुढानिलकण्ठमा बिहानै मन्दिरबाट फर्किदै गरेकी ४२ वर्षीय लीला देवकोटालाई चारजना सवार गाडीले ठक्कर दिएर फरार भयो । गाडीमा सवारमध्ये एकजना थिइन् मोडल परमिता आरएल राणा र चालक थिए २१ वर्षीय पृथ्वी मल्ल । लीलाको घटनास्थलमै मृत्यु भयो । रातभरि मदिरा सेवन गरेका पृथ्वीले त्यसैको ‘ह्याङ ओभर’मा अनियन्त्रित रुपमा गाडी चलाएका थिए । सडकपेटीमा हिँडिरहेकी देवकोटाको ज्यान मल्लको लापरवाहीकै कारण गएको थियो । उनी अहिले प्रहरी हिरासतमा छन् ।

त्यसकै केही समयअघि नयाँ बानेश्वर चोकमा मर्निङ वाकमा निस्किएका डा.पुष्प जोशीको पनि सवारीसाधनकै ठक्करबाट मृत्यु भएको थियो ।

त्यस्तै, २०७६ मङ्सिर ११ गते, टेकुमा राति २ बजेर ५२ मिनेटमा भ्यानको ठक्करबाट १८ वर्षीय जीवनबहादुर सिंहको घटनास्थलमै मृत्यु भयो । सवारी चालक कुमार श्रेष्ठलाई प्रहरीले ६ दिनपछि पक्राउ ग-यो ।

उपत्यकामा अहिले ‘हिट एण्ड रन’का घटनाहरु निकै बढेका छन् ।

सवारी चालकको चरम् लापरवाहीका कारण आजभोलि यस्ता घटना बढेको बताउँछन् महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता जीवनकुमार श्रेष्ठ । पुस मसान्तसम्मको तथ्याङ्क हेर्दा उपत्यकामा जम्मा ३ सय १८ वटा ‘हिट एण्ड रन’ घटनाका निवेदनहरु दर्ता भएका छन् । ‘जसमध्ये २ सय १४ वटा घटनामा संलग्न व्यक्तिलाई प्रहरीले कारवाहीको घेरामा ल्याइसकेको छ,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘१ सय ४ वटा घटनाका अभियुक्त भने अझै फरार छन् ।’

हिट एण्ड रन घटनाको कारण ?

उपत्यकामा भएका हिट एण्ड रन घटनाको अनुसन्धान अनुसार यस्ता घटनाको मुख्य कारण चालकको चरम लापरवाही नै रहेको देखिन्छ । प्राय सम्भ्रान्त परिवारका सदस्य राति अबेरसम्म क्लब, डिस्को वा पार्टीमा मदिरापान गर्ने र नसामा अनियन्त्रित भइ सवारी चलाउँदा अरुलाई ठक्कर दिने प्रवक्ता श्रेष्ठले खुलाए ।

‘त्यस सँगसँगै प्राय घटना सवेरै झिसमिसेमा हुनुले के पनि देखाएको छ भने सवारी चालकले मौसमका कारण वा अनिदोका कारण पनि प्रष्टसँग देख्दैनन् र दुर्घटना हुन पुग्छ,’ उनले लोकपथसँग कुराकानीका क्रममा भने ।

फेरि हिट एण्ड रन घटनामा प्राय पैदलयात्रुकै ज्यान जाने गरेको पनि उनले बताए ।

काठमाडौंमा मात्रै ६ हजार ४ सय ३६ वटा दुर्घटना

प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार पुस मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने यस आर्थिक वर्ष २०७६÷७७ मा ९ हजार २ सय ४३ वटा दुर्घटना भइसकेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६ हजार ४ सय ३६ वटा दुर्घटना भएको छ ।

जसमा ९१ जनाले ज्यान गुमाएका छन् भने १ सय ५६ जना गम्भीर घाइते भएको देखिन्छ ।

उपत्यकामा भएको दुर्घटनामा मृत्यु हुने ९१ जनामा ३८ जना पैदल यात्रु रहेका छन् ।

अघिल्लो वर्ष सवारीसाधनको ठक्करबाट ९३ जना पैदल यात्रुको मृत्यु भएको थियो उपत्यकामा ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता जीवनकुमार श्रेष्ठका अनुसार उपत्यकाका सडकहरु निकै साँघुरा र अव्यवस्थित भएकाले पनि यस्तो घटनामा वृद्धि भएको हो । पैदलयात्रुका लागि फुटपाथ, सडकपेटीहरु बनेकै छैनन् कतिपय सडकछेउमा । जोखिम मोलेरै सडकबाट हिँड्नुपर्ने बाध्यता छ ।

‘उपत्यकाको जनसङ्ख्या दिनानुदिन वृद्धि हुँदैछ तर, सडकहरु जस्ताको त्यस्तै अनि हिँड्नेलाई पनि सास्ती, कुदाउनेलाई पनि सास्ती,’ उनी भन्छन् ।

‘फेरि हाम्रो शहर योजना बनाएर विकास भएको होइन, शुरुमा विकास भयो अहिले बल्ल योजना बन्दैछ त््यसैले पनि सडक अव्यवस्थित छ,’ श्रेष्ठ अगाडि थप्छन्, ‘त्यसमाथि सबैभन्दा ठूलो समस्या भनेको चालकहरुको लापरवाही हो, आफ्नो मोजमस्तीका लागि टन्न रक्सी खान्छन्, रातभरि पार्टी गर्छन् अनि गाडी हुइँकाउँछन् किन नहोस् दुर्घटना ?’

कहिलेकाहीँ पैदलयात्रुकै गल्तीले पनि दुर्घटना हुने बताउँछन् उनी । ‘आकाशे पुलबाट नहिँड्ने, जेब्रा क्रसिङबाट बाटो नकाट्ने, जहिल्यै हतार हुने आदिजस्ता गलत प्रवृत्ति पैदल यात्रुले पनि हटाउनु जरुरी छ,’ प्रवक्ता श्रेष्ठ भन्छन् ।

त्यसैले, पैदलयात्रु, सवारी चालक, सहयोगी, विद्यार्थी आदि सबैजनामा सडक अनुशासन सम्बन्धि जनचेतना जगाउन महानगरीय ट्राफिक प्रहरीले ‘ट्राफिक उज्यालो अभियान’ पनि शुरु गरेको छ ।

त्यस सँगसँगै ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना चिट काट्ने नियम पनि चुस्त दुरुस्त रुपमा लागू गरिरहेको उनले सुनाए । चालु आवमा मात्रै ट्राफिक प्रहरीले काठमाडौंमा २ लाख ९५ हजार ६ सय ९७ वटा चिट काटेको तथ्याङ्क छ ।

यसअघि लोकपथको यो समाचार पढ्नुभएको थियो ?

दुईपांग्रे सवारीका १२ गल्ती : हेल्मेट छान्नै जान्दैनन् अधिकांश चालक

सावधान १ जाडोयाममा दुईपांग्रेमा हुँइकिदा गर्नुपर्छ १३ तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?