बेइजिङ – चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण २५ जनाको मृत्यु भइसकेको छ भने ६ सयभन्दा बढी प्रभावित भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार यो भाइरस सहजै व्यक्तिबाट व्यक्तिमा सरेको पाइएको छ। ‘हामीले दोस्रो र तेस्रो पिढिको फैलावटका बारेमा हेरिरहेका छौँ,’ डब्ल्युएचओको तथ्यांक संकलन समितका अध्यक्ष डा. डेभिड हेइमनले भने।
तेस्रो पिढि भनेर उनले वुहानमा जनावरबाट व्यक्तिमा सरेको भाइरस अर्काे व्यक्ति हुँदै तेस्रो व्यक्तिमा सरेको अवस्थालाई भनेका छन्। सुरुमा यो भाइरस निकै निकट सम्पर्कका व्यक्तिमा मात्र सरेको थियो। सुरुमा परिवारका सदस्य, अंकमाल, चुम्बन तथा सँगै खाना खाँदा मात्र सरेको पाइएको यो भाइरस हाल टाढाको सम्पर्कबाट पनि एक व्यक्तिबाट अर्काे व्यक्तिमा फैलिरहेको प्रमाण फेला परेको डा. हेइमनले बताएका छन्। कोरोना भाइरसबाट प्रभावित व्यक्तिले हाच्छ्यु गर्दा वा खोक्दासमेत नजिक रहेको व्यक्तिमा सहजै यो भाइरस फैलिरहेको पाइएको छ।
डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक देखिएको यो भाइरस यो साता चीनको मुख्य प्रशासनिक क्षेत्रमा फैलिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रोगको प्रकोप नियन्त्रणका लागि चिनियाँ अधिकारीहरूले रोगको मुख्य प्रकोप देखिएको वुहान सहरमा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएका छन्। वुहानमा सार्वजनिक बस, रेलसेवा तथा उडानसमेत रद्द गरिएको छ। वुहान सहरमा चलचित्र प्रदर्शनको समयसमेत पछि सारिएको छ।नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया