आर्यघाटमा शव जलाउने ‘घाटे बाजे’ को कथा – आखिर भोलि म पनि यसरी नै जल्नु छ

‘अकालमै मरेका बच्चाहरुको शव जलाउँदा मन दुख्छ’

काठमाडौं । काभ्रेका यज्ञप्रसाद अधिकारीले २६ वर्षदेखि राजधानीको आर्यघाटमा शव जलाउने काम गर्दै आएका छन् । आफन्तले लगाइदिएको यो काम उनले लहडैमा थालेका थिए । अहिले उनका लागि यही काम बाध्यता बनेको छ ।

एक जोर फित्ते चप्पल र एक जोर लुगामा आफन्त भेट्न काठमाडौं छिरेका यज्ञप्रसादको आधाभन्दा बढी जीवन आर्यघाटमै बितिसकेको छ ।

‘घरमा पनि दुखै छ केटा, अब यहीँ काम गर्,’ आफन्तले एकदिन आर्यघाट डुलाउँदै गर्दा यज्ञप्रसादलाई भनेका थिए ।

भर्खरै राजधानी छिरेका यज्ञप्रसादलाई यो काम खासै कठिन लागेन त्यतिबेला । त्यतिबेला उनीसँग अरु कुनै सीप पनि त थिएन । फेरि घरको आर्थिक अवस्था पनि उस्तै नाजुक थियो ।

सानैमा बुबा गुमाएका यज्ञप्रसादलाई अर्कोतर्फ परिवार पाल्ने जिम्मा पनि थपिएको थियो । उनले सोचे, ‘ठीकै छ, अहिले यही काम गरौँ न त, पछि बिस्तारै अरु काम खोजौंला, अलिअलि पैसा पनि आइहाल्छ ।’

यसो भन्दाभन्दै यज्ञप्रसादले शव पोल्ने काम गर्न थालेको पनि दुई दशकभन्दा बढी भइसकेछ । अहिले उनलाई मान्छेहरुले ‘घाटे बाजे’ भन्दै बोलाउने गर्छन् ।
‘शुरुशुरुमा नयाँ अनुभव हुन्छ गरौं न त भन्ने लागेर काम थालियो, पैसा कमाउँदै गएपछि यही काम बाध्यता बन्दै गयो,’ यज्ञप्रसाद भन्छन्, ‘यस्तो काम मान्छेले बाध्यताले नै त गर्छ नि !’

उनले आफ्नो जीवनको उर्जाशील समय यही आर्यघाटमै खर्चिएका छन् । कैयन् शव पोलेका छन् । जहाँ मान्छेको अस्तित्वको अन्त्य हुन्छ, त्यहीँबाट यज्ञप्रसादको काम शुरु हुन्छ ।

अहिले उनीजस्तै अरु २५ जना शव दहन गर्नेहरु छन् । कहिले दिनमा पालो आउँछ, कहिले रातिमा पालो पर्छ । ‘दिउँसो त बरु सजिलै हुन्छ, रातिमा चाहिँ अलि झण्झट हुन्छ,’ अधिकारी लोकपथसँगको कुराकानीमा भन्छन् ।

यज्ञप्रसादका अनुसार आर्यघाटमा २६ जना त शव जलाउन मात्रै हुन्छन् । सबैको पालो रोल क्रमअनुसार आउँछ । यसरी पालो बाँडिदा दिनमा २ वटा शव एकजनाले पोल्नुपर्ने हुन्छ । दिउँसोमा यो रोल क्रम भए पनि रातिका लागि भने छुट्टै नियम बनाइएको उनी सुनाउँछन् । उनका अनुसार रातिका लागि एउटा समूहमा ९ जना रहने गरी तीन वटा समूह बनाइएको हुन्छ । हरेक समूहको पालो दुई दिनपछि आउँछ । एक रात शव जलाएपछि दुई रात पर्दैन ।

आर्यघाटमा विद्युतीय चिताबाट पनि शव दहन गर्ने व्यवस्थापछि भने केही चाप घटेको अधिकारी बताउँछन् । ‘विद्युतीय शव गृह आएपछि केही सहज भएको छ, नत्र पहिले त दिनमा ६ वटासम्म शव दहन गर्नुपथ्र्यो,’ उनी भन्छन् ।

आफ्नो पालो आएको थाहा पाउनासाथ उनी धोती कमिज फेरेर आर्यघाट पुग्छन् । मृतकको परिवारले भने बमोजिम विधि पु-याएर शव दहन गर्छन् । काम सकेर नुहाइधुवाइ गर्छन् र फेरि आफ्नो सामान्य पोशाकमा फर्किन्छन् । आर्यघाटमा बिताउने २/४ घण्टा समय बाहेक अन्य समय उनी प्रायः फुर्सदिला नै हुन्छन् ।
खासमा यस कामलाई यतिका वर्षसम्म निरन्तरता दिनुको मुख्य कारण यही फुर्सद भएको यज्ञ बताउँछन् । ‘केही घण्टा चाहिँ मरेरै काम गर्नुपर्छ तर, त्यसपछिको समय आनन्दले बित्छ,’ उनी सुनाउँछन् ।

यद्यपि, शुरुशुरुका दिनहरु त्यति सजिला थिएनन् उनका लागि । काम थालेपछि पहिलो शव जलाएको दृश्य धुमिल छ । तर, अझै पनि उनको मस्तिष्कमा नाचिरहन्छ । २६ वर्षअघिको समय स्मरण गर्दै उनी सम्झिन्छन्, ‘शुरुमा त आगोले हात खुट्टा पोल्यो, फेरि राति शव जलाउनुपर्दा सातो उड्थ्योे ।’

पहिले आर्यघाटमा राति एउटा चितामा मात्रै शव जलाइन्थ्यो । मलामीहरु पनि खासै हुँदैनथे । रातको समय सुनसान नै हुने गथ्र्यो । काठमाडौंमा अहिलेजस्तो बाक्लो जनसङ्ख्या पनि त थिएन नि !

‘राति बाग्मती पारीको जङ्गलबाट स्याल पानी खान आउँछ रे !’

‘बच्चा डाँको छाडेर रुन्छन् तर, खोज्दै जाँदा कोही देखिँदैन रे !’

यज्ञप्रसादले यस्ता किस्सा सुन्दै आएका थिए । उनलाई शव दहन गर्नभन्दा डर त यस्तै किस्साले गर्दा लाग्थ्यो । कैयन् रातहरुमा त आफैले पनि यस्तो अनुभव बटुलेको उनी सुनाउँछन् । उनकै भाषामा भन्नुपर्दा, ‘छ्यास्स छर्रा हानेको, कालो छायाजस्तो चीजले पछ्याएको, बच्चा रोएको त कति देखियो कति !’

यस्तै कुराले हरेस खाएर बसिरहँदा पहिलेदेखि शव पोल्नेहरुले यज्ञप्रसादलाई भन्थे – ‘बिस्तारै सिकिन्छ ।’

नभन्दै समयले उनलाई भयसँग जुध्न सिकायो । यतिका वर्षको अनुभवले उनलाई सिकाएको छ, ‘डर भनेको आफ्नै मनको उपज रहेछ ।’

‘मान्छेको मनमा डर हुँदा ऊ दिउँसै पनि डराउँछ तर, मनमा डर नहुने हो भने राति मसानघाट मै सुत्न पनि डर नलाग्ने रहेछ,’ उनी अहिले भन्छन् ।

आजभोलि उनलाई शवसँग पनि डर लाग्दैन ।‘डाक्टरले बिरामीको उपचार गर्छ, शिक्षकले पढाउँछ, हाम्रो काम पनि त्यस्तै हो,’ उनी भन्छन् ।

समाजले भने शव दहनको काम गर्नेलाई अझै पनि सामान्य रुपमा लिन नसकेको यज्ञप्रसादको गुनासो छ । कति मान्छेहरु त आफूसँग डराउने र घिन मान्ने गरेको उनी बताउँछन् ।

‘हामीलाई खुलेर आफ्नो पेशाको बारेमा भन्न चाहिँ अझै पनि अप्ठेरो लाग्छ,’ यज्ञ अगाडि थप्छन्, ‘पशुपति विकास कोष अन्तर्गतको कर्मचारी हुँ भन्छु, तर के काम गर्छु खुलाउन मन लाग्दैन ।’

उनले बिहे गर्दा पनि आफू पशुपति विकास कोष अन्तर्गतका ‘कर्मचारी’ भएको भनेका थिए तर, कामका बारेमा स्पष्ट खुलाएका थिएनन् रे ! ‘बिहे गर्न मैले ढाँटेको थिइनँ, आधि कुरा मात्र भनेको थिएँ,’ उनी हाँस्दै विवाहको किस्सा सुनाउँछन् ।

अहिले उनका ६ वर्षका छोरा छन् । छोरालाई बोर्डिङ स्कूलमा पढाइरहेका छन् । यही काम गरेर उनले काठमाडौंमा घरजग्गा जोडेका छन् । परिवार खुशी छ । तर, उनलाई अझै पनिआफ्नो पेशासँग सानो गुनासो छ । ‘पशुपति विकास कोषअन्तर्गत काम गर्ने भएपछि कम्तीमा हामीले काम छोड्दा केही रकम उपादान पाउने हो भने बाँकी जीवन सहज हुन्थ्यो कि !,’ भोलिको समयलाई लिएर यज्ञ गुनासो गर्छन् ।

यज्ञप्रसादले अहिलेसम्म कतिवटा शव दहन गरिसके भन्ने कुनै लेखाजोखा छैन । आगोमा कसैको सिंगो शरीर जलिरहँदा, वरिपरि रोदन, चिच्याहट देख्दा उनी चुप हुन्छन् । यस्ता दृश्यसँग उनलाई बानी परिसकेको छ ।

कति मलामीले त भन्ने गर्छन्, ‘शव जलाउनेहरु निर्दयी हुन्छन्, मुटु नै हुँदैन ।’ तर, यज्ञप्रसाद भन्छन्, ‘हामी पनि मान्छे हो, हाम्रो पनि मन दुख्छ ।’

सबैभन्दा दुःख त्यतिबेला लाग्छ, जतिबेला उनले अकालमा ज्यान गुमाएका कलिला बच्चाको शवमा आगो झोंस्नुपर्ने अवस्था आउँछ । त्यतिबेला यज्ञप्रसाद नचाहेरै पनि रुनुपरेको सुनाउँछन् । यो कामले यज्ञप्रसादलाई सिकाएको सबैभन्दा ठूलो ज्ञान के हो भने, आखिर मरेर जानु त छँदैछ ।

कहिलेकाहीँ उनलाई लाग्छ, ‘भोलि म पनि त यसरी नै जल्नुपर्ने छ, मेरो शवमा कसले आगो लगाउने होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?